जुम्ली स्याउकाे ठूलाे बजार सुर्खेत, नेपालगन्ज हाे। पछिल्लो समय चितवन, काठमाडौंसम्म पनि जुम्ली स्याउले बजार पाउन थालेकाे छ। त्यसमाथि जुम्ली स्याउ अर्गानिक भएकाे भनी देशभर परिचित छ। तथापि विविध कारणले उचित मूल्य पाउन नसेकाे किसानहरुकाे गुनासाे अहिले देखिकाे हाेइन।
तीन वर्ष यता एउटै मूल्य
चन्दननाथ -१० का वरिष्ठ किसान शंकुबहादुर खत्रीले याे वर्ष आफ्नाे बगैंचाका दुई ट्याक्टर स्याउ ५० रुपियाँ किलाेमा बिक्री गरे। व्यापारी बगैंचामै पुगेपछि उनले अरु सबै झण्झट बेहाेर्नुभन्दा त्यति माेल (मुल्य) मै बेच्नु उचित ठाने।
'बगैंचामा भालु पस्न थालेपछि स्याउकाे ठूलाे नाेक्सान भयाे। स्टाेर गर्दा त्यहाँबाट आउने स्याउकाे बासनाले स्टाेर फाेडेर खाइदिने सम्भावना बढ्याे,' उनले भने, 'समयमै बिक्री गर्दा कम माेल भएपनि सुरक्षित हुने ठाने। तीन वर्षदेखि एउटै मूल्यमा बेचिरहेका छाैं।'
जुम्लाका अधिकाशं किसानहरुले बगैंचामै ५० रुपैयाँ केजीमा स्याउ बिक्री गरे। तातोपानी गाउँपालिका- ४ कि किसान जयकली सार्कीले पनि बगैंचामै ५० रुपियाँमा स्याउ बिक्री गरिन। 'हाम्रातिर सबैले उही मूल्यमा स्याउ बेच्याैं। दुई तीन वर्षदेखि एकै माेल छ,' उनले भनिन्, 'व्यापारीहरु हामीलाई फाइदा हुँदैन भन्छन्। बजारमा सबै सामानकाे माेल बढेकाे भएपनि स्याउकाे माेल बढेकाे छैन।'
चन्दननाथ- १० बाेहरागाउँकी गाैकली सार्कीले पनि बगैंचामै ५० रुपियाँकै दरमा स्याउ बेचिन्। उनले भनिन् 'हाम्रा स्याउ धेरै भएनन्। चार, पाँच क्वीन्टल स्याउ राख्ने गतिलाे स्टाेर पनि छैन। त्यसैले पाेहर, परारदेखि लागेकै भाउमा याे वर्ष पनि स्याउ बेच्याैं। स्टाेर गरि राख्न पाए त पछि बढी माेल पाइन्थ्यो।'
बाेहरागाउँकै किसान धर्मराज देवकाेटाले बगैंचामै स्याउ बेचे। अर्का किसान विर्ष महतले पनि लागेकै भाउमा बगैंचामै बेचे।
हतारमा टिपिन्छ स्याउ
कृषि विकास कार्यालय जुम्लाले भदौकाे दाेस्राे हप्ता मात्र स्याउ टिप्न भने पनि साउनकाे तेस्राे सातादेखि स्याउ टिप्न सुरु हुन्छ। यसमा व्यापारीहरुकाे स्वार्थ बढी जाेडिन्छ।
व्यापारीहरुमा अगाडि बजारमा स्याउ पुर्याउने हाेडबाजी चल्छ। यसमा बजारमा स्याउ अगाडि पर्याे भने बढी नाफा कमाउने स्वार्थ लुकेकाे छ। परिणाम जतिसक्दो अगाडि स्याउ बजारमा पुर्याउनकाे लागि स्याउ राम्ररी पाक्न नपाउँदै टिप्न थालिन्छ।
सुरुमा बजार लगेकाे स्याउकाे माेल बढी पाइने व्यापारी बिष्ने नेपालीले बताए। 'सुरुमा सुर्खेत, नेपालगन्ज लगेकाे स्याउ प्रतिकिलो ८० देखि ९० रुपियाँसम्ममा बिक्री भयाे,' उनले भने, 'पछि बिस्तारै माेल घट्न थाल्छ। ६०-६५ रुपियाँमा बेच्नु पर्छ।'
कम मूल्यमा बेच्नु पर्दा नाफा निकै कम हुने गरेकाे उनले बताए। 'काटुनकाे माेल, स्याउ खरिद र ढुवानी खर्च गरि प्रतिकिलो ६०-६२ रुपियाँ खर्च हुन्छ। ढिलाे गर्दा दुई तीन रुपियाँ मात्रै नाफा हुने हुनाले बजारमा अगाडि स्याउ पुगाउनुपर्ने बाध्यता छ,' उनले थपे।
अर्का व्यापारी सत्य बहादुर महतले पनि नेपालगन्ज सुर्खेतमा ६५ देखि ८० रुपियाँ किलाेमा स्याउ बिक्री गरेकाे बताए। उनले भने, 'याे वर्ष १२ गाडी स्याउ पठायाैं। अगाडिकाे स्याउले बढी माेल पायाे। पछाडि स्याउले कम माेल पायाे।'
काठमाडौंसम्म स्याउ लगेकाे व्यापारी धनबहादुर सार्कीले भने एक सय २० रुपियाँ किलाेमा स्याउ बेचेकाे बताए।
किसान र जुम्ली स्याउलाई सम्मान गर्न स्याकाे मूल्य १५१
राजधानीसम्म पुगाएर पनि मुस्किलले एक सय नाघेकाे जुम्ली स्याउकाे मूल्य यतिबेला जुम्लामै एक सय ५१ ताेकिएकाे छ। जुम्ला सिंजा गाउँपालिका-५ गाेराका बासिन्दा लेखक तथा किसान रामसिंह रावलले आफ्नाे बगैंचामा फलेकाे स्याउकाे मूल्य एक सय ५१ ताेकेका हुन।
उनले जुम्ली किसान र जुम्ली स्याउकाे सम्मानका लागि एक सय ५१ मूल्यमा ताेकेकाे बताएका छन्। उनले पछिल्लो समय इटालीबाट भित्रिएकाे फुजी स्याउकाे मूल्य जुम्ली स्याउकाे मूल्यभन्दा तीन गुणा बढी भएपछि स्याउ उस्तै हाे भनेर देखाउनकाे लागि एक रुपियाँ बढी मूल्य ताेकेर बेच्न थालेका हुन्।
'जुम्लामा इटालियन फुजी स्याउकाे खेती हुन थालेपछि जुम्ली स्याउलाई हेयकाे नजरबाट हेरिन्छ। बिषादी प्रयाेग बिना फलाउनै नसकिने स्याउकाे मूल्य निकै महँगाे हुने र लाेकल स्याउकाे मूल्य कम हुन थालेपछि यसकाे मूल्य ताेकेकाे हुँ,' उनले भने, 'स्याउ फरक हाे भने भन्नुपर्याे। त्यसबाट पाइने तत्त्वहरु फरक छन् भने अर्कै कुरा हाे। हाेइन भने लाेकल स्याउलाई किन यति धेरै हेयकाे भावनाले हेर्ने?'
कृषि विकास कार्यालयका जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार दुबै स्याउमा पाइने गुण एउटै हाे। 'फुजी स्याउकाे स्टाेरेज क्षमता बढी हुन्छ। स्याउ लगभग एउटै हाे,' उनले भने, 'दुबै जातका स्याउबाट पाइने तत्त्व पनि उही हाे। फुजी स्याउ कम बासनादार छ भने लाेकल स्याउ बसनादार छ।'
उनका अनुसार फुजी स्याउकाे स्टाेरेज क्षमता बढी हुनाले हुनाले मूल्य बढी पर्छ। तर, उनकाे मतलाई पनि रावलले खण्डन गरिरहेका छन्।
उनी भन्छन्,'चैत बैशाखमा बेच्न थालेकाे हाे भने त्यतिन्जेल स्याउ राख्नेले मूल्य आफ्नाे भनेजस्तो गर्न पायाे। तर, बजारमा लाेकल र फुजी स्याउ दुबै पाइने बेला मूल्यमा यति ठूलाे अन्तर किन? एक दुई कार्टुन स्याउ किनेर खाने उपभोक्ताले कति स्टाेर गर्छ र?'
फुजी स्याउभन्दा ७७ गुणा बढी क्षेत्रफलमा लाेकल स्याउ खेती
कृषि विकास कार्यालय जुम्लाकाे तथ्यांकअनुसार ३ हजार ८ सय ५० हेक्टरमा जमिनमा जुम्ली लाेकल स्याउकाे खेती हुन्छ भने इटालियन फुजी स्याउ जम्मा पचास हेक्टरमा जमिनमा खेती गरिएको छ।
याे तथ्यांकलाई आधार मान्दै रावल थप्छन्,'लाेकल स्याउ फल्दैन, उत्पादन राम्राे छैन, लगायत कुरा गरेर फुजी स्याउकाे बजारिकरण गर्न थालिएको छ। तर, के कारणले फलेन? उत्पादन किन घटिरहेको छ? खाेजी हुनुपर्छ। फुजी स्याउमा हालसम्म २०/२५ कराेड लगानी भएकाे हाेला। तर, लाेकल स्याउमा किसानकाे खरब बढी खर्च भइसकेको छ। के त्याे सबै लगानी खेर जान दिने?'
तथ्यांकअनुसार जुम्लामा १५ हजार बगैंचामा लाेकल स्याउ लगाइएकाे छ भने हालसम्म ८ देखि १० वटा बगैंचामा इटालीयन फुजी स्याउ लगाइएको छ।
साना किसालाई बचाउँ
किसान रावलका अनुसार जुम्लाका हरेक घर–घरमा एक एक बगैंचा छ। कम लगानी गर्नेले पनि वर्षमा पुग्ने आम्दानी लिइरहेका छन्। तर, फुजी स्याउ खेती गर्न ठूलाे लगानी चाहिन्छ। निम्न आय भएका किसानले खेती गर्न सक्दैनन्। साना किसानलाई बचाउन जरुरी छ।
'फुजी स्याउ खाँदा फुलेका कपाल काल हुन्छन् भने ठिक छ। बुढाे भएकाे मान्छे जवान हुन्छ भने अलग कुरा हाे,' उनले भने, 'हाेइन भने स्याउ एकै हाे। यस्ताे अवस्थामा जुम्ली स्याउलाई हेर्ने नजर उत्पादकदेखि उपभोक्ता सबैकाे फेरिन जरुरी छ।'
किन लाेकल स्याउकाे उत्पादन क्षमता घट्याे?
पछिल्लो समय जुम्ली स्याउका उत्पादन क्षमता घट्न थालेकाे कृषि विकास कार्यालयले जनाएकाे छ। हरेक वर्ष स्याउ खेतीकाे क्षेत्रफल बढे पनि अपेक्षाकृत उत्पादन हुन सकिरहेको छैन। त्यसमाथि पालाे गरेर फल्न थालेकाे छ।
यी विविध समस्याकाे विस्तृत अनुसन्धान जरुरी भएपनि केही देखिने कमजोरीका कारण उत्पादन घटेकाे देवकोटाले बताए।
'किसानमा चेतनाका अभाव, मल बीउ विजन, माैसम लगायतका कारणले उत्पादनमा ह्रास आइरहेको छ,' उनले भने, 'किसानले स्याउ बगैंचालाई माया नगर्दा यस्ता समस्या देखिएका छन्।'
किसानले स्याउकाे पात झरेपछि वास्ता गर्न छाेड्ने र पात पलाएपछि वास्ता गर्ने कारणले पनि केही समस्या आएकाे उनले थपे। 'धेरैजसो किसानलाई रेड डेलिसियस जातकाे स्याउ लगाएकाे बगैंचा कम्तिमा १० प्रतिशत बढी गाेल्डेन र जनाथन जातकाे भाले स्याउ लगाउन जरुरी छ भन्ने ज्ञान नै छैन,' उनले भने।
फल टिप्दा हाँगाहरू नभाचिने, जोडले हाँगा नझट्कार्ने, हात नपुग्ने ठाउँमा भर्याङको प्रयोग गरि टिप्नुपर्ने हुन्छ। जस्ले गर्दा अर्को वर्ष पनि सजिलै स्याउ फलाउन सकिन्छ। यस्ता धेरै विषयमा किसानले ध्यान पुगाउन जरुरी हुन्छ।
लाेकल स्याउ जुम्लाकाे पहिचान
पछिल्लो पाँच दशक यता जुम्ला स्याउका कारण परिचित छ। कुनै बेला गाउँ आयो 'गु' आयो भन्ने उखान थियाे भने आज गाउँ आयो स्याउ आयो भन्ने नारा घन्किरहेछ। यहाँका बुढापाकाका अनुसार २०२४ साल आसपास तिर जुम्लामा स्याउका विरुवाहरू भित्रिएका हुन।
याे पहिचान निर्माणमा लाेकल स्याउकाे भूमिका रहेकाे भेटेरेनरी डाक्टर नन्दलाल खत्रीले बताए। 'देशभर जुम्ली स्याउ भनेर बुझ्ने अहिले बजारमा पाइने स्याउ हाे,' उनले भने, 'पछिल्लो समय आयात गरिएकाे स्याउलाई जुम्ली स्याउ भनेर चिनिदैन।'