राज्यले गरेकाे अर्काे हत्या शृङ्खला: मुगु बस दुर्घटना

Breaknlinks
Breaknlinks

यतिबेला दिमागमा मुगु पिना गाउँकाे साहनी टाेलले डेरा बनाई बसेकाे छ। त्यहाँका बलराम साहनीसँगकाे संवाद ताजै छ। उनी साहनी टाेलकाे इतिहास हुन। नेकपा एमालेकाे जिल्ला कमिटी सदस्य भएर उनले इतिहास रचे।

तर, आफै इतिहास बन्दा समेत उनकाे लाग्दाे पुग्दाे केही छैन। गाउँकाे विकासका लागि नगरपालिकासँग भनेर बजेट ल्याउन सक्दैनन्। बाटाे, घाटाे, पाटी पाैवा बनाउन सक्दैनन्, न त आफ्नाे परम्परागत सीपलाई प्रवर्द्धन गर्ने कुनै कार्यक्रम सुनाउँदा स्थानीय सरकारले सनिदिन्छ।

मुगु डायरी लेख्ने क्रममा भेटिएका उनले घरमाथि हुँदै आएकाे साँघुराे राजमार्गकाे अवस्थाबारे भनेका थिए, 'राेड साँघुराे छ। माटाे गतिलाे नाई। कुन दिन बाटाे धप्केर गाउँ पुरिन्या हाे? झर्कै (चिन्ता) छ। केही गरी गाडी लाेट्या पुनि गाउँकै क्षति त हुन्या हाे।' उनले चिन्ता गरेजस्ताे भइहालेकाे त छैन। तर सिंगाे मुगुले असाेज २६ गते जुन दुर्घटना बेहाेर्‍याे, त्याे उनकाे चिन्ताभन्दा ठूलाे विपत हाे।

उनै बलराम साहनीले यतिबेला अमिलाे मन बनाउँदै भने,'गाडी पल्टियाकाे थाहा पाएपछि हामी गयाका छियाैं। आफन्तकाे रुवाबासीले मुटु छियाछिया भयाे। आँखा ओभाना कैखै छियानुन्। हामी मुगालीकाे भाग्यै रछ। पहिला बाटाे भयाेन र दु:ख पायाैं, अहिलाे गतिलाे बाटाे नबनी दु:ख पाउन्या भयाैं। ज्यात त खुकुरीकाे धाराैंदाे छ।'

मुगुका प्रमुख जिल्ला अधिकारी राेमबहादुर महतका अनुसार प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार नेपालगन्जबाट मुगुतर्फ जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस टायर पङ्चर भएर पड्किएपछि अनियन्त्रित भएर पल्टियाे। दुई सय मिटर तल खस्दासम्म बस टुक्राटुक्रा भइसकेको थियाे।

'बस दुर्घटना हुँदा १० महिलासहित ३२ जनाले ज्यान गुमाए। उनीहरुमध्ये २४ जनाको घटनास्थलमै र बाँकीको उद्धार र उपचारको क्रममा मृत्यु भयो। बेलैमा उद्धार गर्न सफल भयौं, नत्र अरुलाई पनि बचाउन कठिन थियो,'उनले भने,'मर्नेमध्ये ५ जनाको शव नेपालगन्ज पठायौँ। बाँकी सबै मुगुकै हुन्। धेरै जना युवा विद्यार्थीहरु नै थिए। दुर्घटनामा घाइते १३ जनाको उपचार भइरहेकाे छ।'

मुगु बस दुर्घटनापछि कर्णालीकाे निष्कर्ष छ, सिंगाे कर्णाली राजमार्ग मृत्यु मार्ग हाे। दुई वर्ष अगाडिकाे तथ्यांक हेर्ने हाे भने याे राजमार्ग संचालन यता दुई सय बढी सडक दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ। त्यसैकाे चाँङमा मुगुकाे भयानक दुर्घटना र थपिएकाे छ। ३२ जनाकाे एक चिहान हुँदासम्म राज्य नामकाे संयन्त्रले राहत बाहेक बढ्ता कदम चाल्न सकेन।

यो घटनासँगै दसैंका ७ दिनमा ४८५ सडक दुर्घटनामा परी ८९ जनाले ज्यान गुमाएका छन् भने ७५३ जना घाइते भएका छन्। प्रहरीकाअनुसार दुर्घटनाका ४ कारण–सडकको दुरावस्था, सवारी साधनको नियमित मर्मतसम्भार नहुनु, यात्रुको संख्या बढी हुनु र एक चालकले मात्रै सवारी चलाउनु हाे। 

२०६९ भदौ २८ मा कालिकोटको सेराबाडा नजिकै वित्तामोडमा भएको गाडी दुर्घटनामा २७ जनाको ज्यान गएकाे थियाे। त्यसपछि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले १८ महिनामा कालोपत्र गरी सक्ने वचन दिए। काम अगाडि बढ्यो। विश्व बैंकको अनुदानमा सुर्खेतदेखि खिड्किज्यूलासम्मको कालोपत्रे पहिल्यै भइसकेको थियो। पछि विश्व बैंकको ऋणमा खिड्किज्यूलादेखि जुम्ला खलंगासम्म कालोपत्रे गरियो।

तर, याे सबै थाहा पाएका यतिबेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले दुर्घटनामा मृतकका परिवारलाई राहत दिने र घाइतेलाई उपचार गर्ने बाहेक अरु घाेषणा गरेनन्। त्यस्तै पूर्वप्रधानमन्त्री प्रचण्डले गाेहीका आँशु बगाए। उसाे त सितल निवास, बालुवाटार, सिंहदरबारदेखि फाेटाेकपी सिंहदरबारबाट समेत गाेहीका आँशु बगेका बग्यै छन्। ती आँशुकाे भेलमा कर्णालीलाई बगाउन थालिएकाे आज हाेइन। युग–युग बिते। कहिले नुन चामलकाे नाममा, कहिले सडक र बाटाेघाटाेकाे नाममा।

यही पारा कर्णाली प्रदेशका मुख्यमन्त्री कमरेड महेन्द्रबहादुर शाही सरकारले पनि देखायाे। गृह जिल्लामा भाते खालाे रडेपछि हेलिकप्टरमा सयर गरेर मलम लाउन निस्कने उनले मुगु बस दुर्घटनालाई नजरअन्दाज गरेनन्। उसाे त उनकाे सरकारले मुगुलाई हेर्ने नजर प्रदेश स्थापना कालदेखि गतिलो छैन। कालिकाेट, हुम्ला, जुम्ला लगायत जिल्लामा हेलिकप्टरबाट महंगो खर्च गर्नमा साैखिन उनी मुगुप्रति उदासीन देखिए।


रारा जाने मार्ग: राज्यले थापेको 'धराप'


कारण उनकाे सत्ता बन्ने बेला मुगुका चन्द्रबहादुर शाहीकाे असन्तुष्टि हुन सक्छ। अर्का मुगाली सांसद दानसिंह परियार उनकाे सत्ता फाल्न तम्सिएर हुन सक्छ। यीनलाई छाेडेर उनकाे सत्ता बचाइराख्न क्रियासिल झाेवा विककाे मुख हेर्न सकिन्थ्यो। तर उनकाे पहुँच पुगेको मानेनन्। 'चाहिँदाकाे भाँडाे, नचाहिँदाकाे ठाँडाे' बनाउने बाहेक अरू केही हुन सकेन। 

त्यसैले प्रदेशका सांसद दानसिंह परियार शाही सरकारकाे नियतप्रति निकै रुखाे गरी प्रस्तुत हुन्छन्,'मुगुमा भएकाे बर्बरतापूर्ण दुर्घटना अनैतिक गठजाेडकाे महेन्द्रे सरकारकाे उपस्थिति देखिएन त? कतै एक घर जलेकाे बाहानामा हेलिकप्टरका नाटक त कतै सीमाना अनुगमन नाममा हेलिकप्टरकाे नाटक भएकै थियाे। मुगाली माथिकाे अपमान- मुर्दावाद ! पीडित परिवारलाई राहत र घाइतेलाई उपचारकाे व्यवस्था गर।'

क्रियासिल पार्टी, प्रदेशका सांसदले शाेक वक्तव्य निकालेर गरेकाे अभिनय हेर्न र धिक्कार्न लायक थियाे। केही समयअघि पंतिकारले कर्णाली प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीलाई उनकै कार्यकक्षमा गएर साेधेकाे थियाे, 'कर्णाली राजमार्ग कसले राम्राे बनाउने ?' भनेर। उनले जवाफ फर्काएकी थिइन,'याे संघीय सरकारकाे काम हाे।'

मन्त्री नेपालीकाे भनाई उनकै मुख्यमन्त्री शाहीसँग बाझिएको छ। मुख्यमन्त्री शाहीले डलर झार्नका लागि कर्णालीमा विकास नगरेको बताएका छन्। गएकाे मंगलबार वीरेन्द्रनगरमा दोभान मल्टिमिडिया प्रा.लिले आयोजना गरेको 'कर्णाली विकास, विविधता र पर्यटन' विषयक अन्तरक्रिया कार्यक्रममा उनले 'कर्णाली सरकारले प्रदेशको समग्र विकासमा निरन्तर काम अगाडि बढाउँदै गएको छ। सरकारले प्रदेश अन्तरर्गत कर्णाली राजमार्ग लगायतका प्रदेश भित्रका प्रमुख पर्यटकीय क्षेत्रहरु जोड्ने सडक बाटोको विकासमा तत्काल स्तरोन्नती नगर्नु डलर झार्नको लागि हो।'

उनले अगाडि भनेका छन्,'हामीले सडकको मर्मत नगर्नुको कारण एउटै छ। कुनै पर्यटक सरासर रारा पुग्नको लागि बाटोको निर्माण गरेपछि हाम्रो प्रदेशमा विदेशी डलर कम झर्छ। त्यसैले रारा जस्तै अन्य कर्णाली प्रदेशका प्रमुख पर्यटकीय स्थानहरूमा जानका लागि मोटरबाटो सहज भएपछि हामी कहाँ डलर झर्दैन। हाम्रो पर्यटकीय क्षेत्रमा पुग्ने बाटो बिग्रिएपछि पर्यटकहरु जहाँ सडक भत्किएको छ, त्यहीँ बस्छन्, त्यहीँ डलर खसाल्छन्।


‘डलर झार्नको लागि सडक निर्माण नगरेका हौं’


यस्तै साेचकै कारण मुगाली जनतालाई बस दुर्घटनालाई राज्यले गरेकाे हत्या भन्न बल पुगाइरहेकाे छ। हत्यारा राज्यप्रति रंगकर्मी हिराबिजुली यसरी आवेग पाेख्छन्, 'राज्य जनतालाई अल्मल्याउन एउटा सानो कच्ची बाटो बनाउँछ। बाबुराम जान्छन् र रिबन काटेर त्यो नाथे रोडको उद्घाटन गर्छन्। मुगु जिल्लामा गाडी पुगेको उद्घोषसँगै उनले आफ्नो भूमिका पूरा भएको सम्झिन्छन्। यता महेन्द्रबहादुरले चनाव जितेदेखि आजसम्म हेलिकप्टर चढेको रकम मात्रै ५ अर्ब पुग्यो रे। उता १ अर्बमा मात्रै कर्णाली राजमार्गको नाग्मा-गमगडी सडक खण्डको कालो पत्रे सकिन्थ्यो। तर, आज त्यही कच्ची बाटोमा दसैंको बेला ठेलमठेल मानिसहरु बोकेको गाडी भिरमा खस्यो। ३२ मुगाली विद्यार्थीका करोडौं सपनाहरु मरेका छन्।'

उनले यो सबै हत्यारा राज्य सत्ताको कारण भएको बताए,'यो हत्याको सारा दोष तीन तहमा रहेका भ्रष्ट नेताहरुलाई जान्छ। यसको सत्य तथ्य छानविन होस्। दोषी उपर कानुन बमोजिम कारवाही होस्। मृतकका आफन्तहरुका लागि राज्य नियोजित हत्या स्वरुप उचित क्षतिपुर्तिको व्यवस्था गरियोस्,' उनले चुनाैती दिँदै आवेग पाेखे, 'हाेइन भने आन्दोलनको आँदीबेहेरी ल्याउन सम्पूर्ण मुगालीहरु एक जुट हुनेछन्।'

मुगुबाट पत्रकारिता गरिरहेका नपेन्द्रबहादुर मल्लकाे आवेग पनि हिरा बिजुलीकाे भन्दा कम छैन। उनी भन्छन्,'मुगु बस दुर्घटनाको प्रमुख दाेषी राज्य हो र जिम्मा राज्यले लिनुपर्छ। दुर्गमका जनता जनता नै होइनन् ठान्छ, राज्य। राजधानी तथा प्रमुख शहरमा अबौं खर्चेर भ्युटावर बनाउने राज्यले दुर्गमका सडक सुधारमा कहिल्यै ध्यान दिँदैन। नेपालगन्जमा हप्तौ कुर्दा पनि जहाजकाे टिकट नपाएपछि बाध्य भएर बस चढेर दसैं मनाउन घर आउँदै गर्दा साँघुरो, भिरमा, सडक छेउमा सुरक्षा नहुनु र त्यसमा बर्खाको पानीले सडक विग्रेकाले बस नियन्त्रणमा लिन गाह्राे भई बस दुर्घटना भएको देखिन्छ।'

उनले विदेशबाट आएका, पढ्नका लागि जिल्ला बाहिर गएका, उपचार र रोजगारीका लागि बाहिर गएकाहरुले घर नजिक पुग्नै लाग्दा ज्यान गुमाउनु जतिकाे पीडा अरु हुन नसक्ने बताए। 'राज्यले सडककाे समयमै मर्मत सम्हार, जहाजमा सर्वसाधारणको पहुँच, जिल्ला मै स्वस्थ्य, शिक्षा जस्ता सुविधा गरिदिएकाे भए एकै पटक ३२ जनाले ज्यान गुमाउनु पर्ने थिएन,' उनले थपे।

तीन तहका सरकारलाई गिज्याइरहेकाे कर्णाली राजमार्ग

यतिबेला मुगाली आवेग चुलिँदाे छ। कतिले सिधै भनेका छन् भने कतिले घुमाउरो गरी राज्य नामकाे संयन्त्रलाई सवाल गरिरहेका छन्। त्यसैमध्येका एक हुन मुगुमा स्फ्टवेरकाे व्यापार गरी बसेका नरेश शाही। उनी घुमाउरो गरि व्यंग्य गर्दै प्रश्न गर्छन्, 'सीमा आरम्भ र समाप्तिको गेट बनाउन तल्लिन दिमागहरु, करोडौंका घर बनाउनेलाई राहतका पर्खाल बनाइदिनेहरु, सोझा निमुखासँग शक्तिको दम्ब देखाउनेहरु, दुखद सडक दुर्घटनाको जिम्मेवारी बोध कहिले गर्ने महोदय?'

पछिल्लो बस दुर्घटनाले राराकाे सुन्दरतामा लाेभिने हाेइन ज्यानको मायाले टाढिनुपर्ने स्थिति निम्तिएकाे छ। अब मुगुकाे विविधतायुक्त लाेभलाग्दाे हिमाली भूगाेल र राराकाे सुसेलीमा बयालु खेल्ने चाह हुनेकाे माेह भंग हुने स्थिति आएकाे छ। त्यसैले ट्वीटरमा मानवशास्त्री टासी टेवा लेख्छन्, 'उनीहरू मरेका होइनन् अर्थात् उनीहरूको मृत्युभएको होइन। राज्यले नागरिकमाथि राराछेउमा थापेको धरापमा परेका हुन्। जहाँ हामीहरु पनि मर्न सक्थ्यौं तर धन्न उम्क्यिौँ। भो अब यही हालतमा रारा पुग्ने रहर छैन।'

याे स्थितिकाे प्रमुख जिम्मेवारी राज्य हाे। प्रदेशका रजाैटाहरु हुन। त्यसैले मुख्यमन्त्री शाही लाज पचाएर सगाैरव डलर झार्नलाई सडक नबनाएकाे बयान दिँदै हिड्छन्।

प्रकाशित मिति: : 2021-10-16 09:31:00

प्रतिकृया दिनुहोस्