देउवा सरकारको मन्त्रिपरिषद् : २४ प्रतिशत महिला, २८ प्रतिशत जनजाति, २० प्रतिशत मधेसी, ४ प्रतिशत दलित

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। शुक्रबार मन्त्री र राज्यमन्त्रीसहित १८ जना थप भएपछि देउवा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। यसअघि ६ सदस्यीय मन्त्रिपरिषद् थियो।

देउवाले सरकारमा ६ महिलाले मन्त्री बन्ने अवसर पाएका छन्। जसमा पाँच मन्त्री र एक राज्यमन्त्री छन्। माओवादी केन्द्रले पम्फा भुसाल र शशी श्रेष्ठलाई मन्त्री तथा बोधमायाकुमारी यादवलाई राज्यमन्त्री बनाएको छ।

कांग्रेसबाट उमा रेग्मी, जसपाबाट रेणुकुमारी यादव र एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री मन्त्री भएका छन्। देउवा सरकारमा २४ प्रतिशत महिलाको सहभागिता रहेको छ।

यस्तै, सरकारमा जनजाति समुदायबाट मन्त्री बन्नेको संख्या २८ प्रतिशत छ। आदिवासी जनजातिबाट शशी श्रेष्ठ, उमेश श्रेष्ठ, रामकुमारी झाँक्री, प्रेम बहादुर आले, कृष्णकुमार श्रेष्ठ र भवानीप्रसाद खापुङ मन्त्री बनेका छन्।

यस्तै, मधेसी समुदायबाट उमाकान्त चौधरी, महिन्द्र राय यादव, रेणुकुमारी यादव, बोधमायाकुमारी यादव मन्त्री बनेका छन्। दलितबाट एकजना मात्र मन्त्री बनेका छन्। महेश्‍वरजंग गहतराज माओवादी केन्द्रबाट युवा तथा खेलकुद मन्त्री बनेका छन्।

प्रकाशित मिति: : 2021-10-08 16:53:00

प्रतिकृया दिनुहोस्