संसद् सचिवालयलाई झुक्याएर देउवाले 'थाेत्राे गाडी' बुझाएकाे खुलासा, यसरी गायब हुँदैछन् सरकारी गाडीहरू

Breaknlinks
Breaknlinks

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् सचिवालयलाई बुझाउनूपर्ने गाडी हेरफेर गरेर बुझाएपछि सरकारी गाडीहरुकाे चरम दुरुपयाेग भइरहेकाे रहस्य खुलासा भएकाे छ।

संसद् सचिवालयबाट सन् २०१३ मोडलको टोयोटा प्राडो गाडी लगेका देउवाले फिर्ता गर्दा भने २००७ मोडलको थाेत्राे गाडी बुझाएपछि  'लहरा तान्दा पहरा खस्याे' भनेझैँ सरकारी गाडीहरुकाे दुरुपयाेग भइरहेकाे खुलासा भएकाे हाे।

त्यसाे त, देउवाले एक महिनाअघि फिर्ता गरेकाे भनिएको पुरानो गाडी पनि संसद् सचिवालयबाट हराएकाे छ। वा भनाै गायब पारिएकाे छ।

२०७४ मंसिरको चुनावबाट कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेपछि देउवाले संसद्बाट बा २ झ ४४८ नम्बरको गाडी लिएका थिए। २ हजार ५ सय सीसीको यो गाडी खासमा निर्वाचन आयोगको नाममा दर्ता छ। २०७० माघ ९ मा यातायात कार्यालयमा दर्ता गाडी आयोगसँग मागेर संसद् सचिवालयले देउवालाई दिएको थियो । तर, देउवाले सेतो नम्बर प्लेटको सरकारी गाडीलाई २०७४ फागुन ३ मा निजी नम्बर प्लेटमा बदलेर बा १९ च ५५५ को रूपमा चढ्दै आएका थिए । मर्मत खर्च पनि संसद्ले व्यहोर्दै आएको छ।

प्रधानमन्त्री भएपछि देउवाले प्रतिपक्ष नेताको हैसियतमा प्रयोग गरेको गाडी फिर्ता गर्नुपर्थ्यो, दुई महिनापछि भदौ २५ मा गाडी फिर्ता पनि गरे। तर, आश्चर्य संसद्बाट लगेको गाडीको सट्टा उनले प्रधानमन्त्री कार्यालयमा रहेको १४ वर्ष पुरानो गाडी पठाए।

देउवालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले टोयोटाको नयाँ गाडी दिएको छ। अत्याधुनिक सुविधा सम्पन्न नयाँ गाडी मात्र होइन, प्रधानमन्त्री कार्यालयका विभिन्न गाडी देउवाका लागि तैनाथ छन्।

तर उनले संसद् सचिवालयबाट लिएको नयाँ गाडी राखेर पुरानो गाडी किन पठाए ? ‘उहाँ प्रधानमन्त्री भएपछि संसद्ले उपलब्ध गराएको गाडी फिर्ता गर्नुपर्ने थियो, तर संसद्बाट लिएको गाडी सहज लागेकाले प्रधानमन्त्रीले राख्नुभएको हो। त्यसको सट्टामा अर्को गाडी संसद् पठाएका हौं,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले कान्तिपुरसँग भनेका छन्। उनले प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको र पहिला प्रतिपक्षी नेताका रूपमा प्रयोग गर्दै आएको गाडी देउवाका लागि राखिएको र अहिले मर्मत भइरहेको बताए।

फिर्ता गरेको १४ वर्ष पुरानो बा २ झ ४२३६ नम्बरको टोयोटा प्राडो जिप संसद् सचिवालयमा पनि छैन, कहिले र कसले लग्यो भन्ने अधिकारीहरूलाई थाहा छैन, कतै अभिलेख पनि छैन। खासमा प्रधानमन्त्री कार्यालयले पठाएर फिर्ता गरेको भने पनि अभिलेखमा त्यस्तो देखिँदैन।

प्रकाशित मिति: : 2021-10-07 07:56:00

प्रतिकृया दिनुहोस्