प्रचण्ड भन्छन्- माओवादी एक नम्बर पार्टी भएन भने देश दुर्घटनामा पर्छ 

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी कमजोर भए देश दुर्घटनामा पर्ने बताएका छन्।

नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले संसद विघटन गरेर संविधान खारेज गर्ने ठूलो डिजाइन परास्त गरिएको भन्दै अहिले फेरि माओवादी कमजोर पार्ने षडयन्त्र भइरहेको बताए।

गरिब र मजदुरका निम्ति लडिरहेको प्रवृत्तिलाई अर्को प्रतिक्रान्तिकारी र प्रतिगामी प्रवृत्तिले सिध्याउन खोजिरहेको उनको भनाइ थियो।

'हामी एक नम्बर हुनुपर्छ। हुन्छौं। विरासत र एजेण्डाले हामी हुनुपर्छ। व्यक्तिगत स्वार्थका निम्ति होइन राष्ट्रका निम्ति हो भन्ने हामील देखाएका छौं,' उनले भने, 'अहिले लडाइँ ठूलो हुनेवाला छ। कम्युनिस्ट आन्दोलनभित्र संशोधनवाद, विसर्जनवादी प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरुले माओवादीलाई परास्त नगरि हुँदैन भन्ने छ। एमालेको कुम्भ मेला माओवादी र माओवादी नेतृत्व सिध्याउन हो।'

दाहालले माओवादी मार्क्सवाद र विज्ञानको पक्षमा उभिनुपर्ने बताए। 'यो पक्षमा उभिएर देश बचाउने, यसमा नउभिए देश दुर्घटनामा पार्ने हो। यो कालखण्डमा माओवादी जागरुक र एकताबद्ध भएर अघि बढ्दा देश बच्ने हो। नत्र देश दुर्घटनामा पर्छ। संविधान र संघीयता खारेज हुन्छ। देश सामन्तवाद र अराजकतातिर जान्छ,' उनले भने।

वैद्यको आलोचना

अध्यक्ष दाहालले नेकपा क्रान्तकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणको पनि आलोचना गरे। वैद्यले परिवर्तन भएर आए देशको स्वानिधता जोगाउन राजा ज्ञानेन्द्रसँग सहकार्य गर्न सकिने अभिव्यक्ति दिएपछि प्रचण्डले यो चानचुने कुरा नभएको टिप्पणी गरे।

'कोही हाम्रै साथीहरु समान्तवाद र साम्राज्यवाद आए हुन्थ्यो भन्दैछन्। यो सानो कुरा होइन। ठूलो कुरा छ। त्यसकारण देशलाई बचाउन र नयाँ चरणमा लैजान माओवादी बलियो हुनै पर्ने छ,' उनले भने, 'हामीहरु सचेत नहुने हो भने देशमा दुर्घटना हुने सम्भावना छ। हामी लड्ने हो भने जित्ने निश्चित छ।'

प्रचण्डले माओवादीका पक्षमा देशैभर जागरुकता र सल्बलाहट आइरहेको बताए। 'हिजो माओवादी के हो के हो भन्नेहरु पनि फर्केर आउँदैछन्। केपी ओली गएर के भो अरु कम्युनिस्टहरु एकताका लागि सम्पर्कमा छन्। गैरकम्युनिस्टसँग पनि एकता हुन्छ,' उनले भने।

प्रकाशित मिति: : 2021-10-04 16:26:00

प्रतिकृया दिनुहोस्