नेपाल ललितकला क्याम्पसमा पढ्दै गरेका आठ जना युवा कलाकारकाे वि.सं.२०५० मा एउटा समूह बन्यो। ‘काष्ठमण्डप आर्टिस् ग्रूप’ नाम दिइएको उक्त समूहको नेतृत्व गरेका थिए– प्रशान्त श्रेष्ठले।
त्यो समूहका विद्यार्थी एकै स्थानमा बसेर पेन्टिङ्को काम गर्थे। यसरी पेन्टिङ्को काम गर्दागर्दै उक्त समूह केही महिनामै एकाएक भूमिगत बन्यो। क्याम्पसमा अध्ययन गरेका धेरै विद्यार्थी आ–आफ्नै पेशामा लागे। तर, ती आठ जना कलाकार कहाँ गएर के गर्दैछन् भन्ने कसैलाई थाहा थिएन।
उनीहरु भूमिगत भएको दुई वर्षपछि विस्तारै बाहिरी दुनियाँमा आए। उनीहरु खुल्ला संसारमा आउँदा पहिलेजस्तो थिएनन्। त्यसबेला त्यो समूहका सबै जना पेन्टिङमा अब्बल भईसकेका थिए। सबैमा पेन्टिङ् गरेरै जीवन चलाउन सकिन्छ भन्ने आँट आएको थियो। सबैको अनुहार जोश, जाँगर र उत्साहले भरिएका थिए।
हुन पनि, उनीहरु दुई–दुई वर्षसम्म यसरी लुकेर काम गर्नुको उद्देश्य थियो, पेन्टिङ्को क्षेत्रमा केही नयाँ गरेर देखाउने। पेन्टिङ्मा केही चमत्कार गरेर देखाउने संकल्प लिइएका उनीहरु ध्यान अन्यत्रै नमोडियोस् भनेर भूमिगत भएका थिए। यसरी उद्देश्य प्राप्तिको लागि दुई वर्षसम्म भूमिगत बनेको यो समूहका सदस्यले २५ वर्षसम्म सँगै रहेर काम गरे।
उक्त ग्रूपका सदस्यमध्येका दुई आर्टिस् (कलाकार) हुन्, आश डङ्गोल र एरिना ताम्राकार। उनीहरु दुईबीच यही ग्रूपमा काम गर्दै गर्दा प्रेम सम्बन्ध गाँसियो। र अन्ततः प्रेम सम्बन्ध विवाहमा परिणत भयो।
एउटै सपनाको बाटो पछ्याइरहेका उनीहरु एकअर्काको जीवनमा नयाँ हिस्सा बने। उनीहरुबीच सोच, भावना, विचारको मेलमिलाप त थियो नै, जीवनको अन्तिम गन्तव्यसम्म सँगै यात्रा गर्ने निर्णय गरे। यसर्थमा, उनीहरु एकाअर्कालाई भाग्यमानी पनि ठान्छन्।
एरिना सानोमा चञ्चल स्वभावकी थिइन्। तर, समाजमा हुुने सामान्य घटनालाई पनि बडो गम्भीर रुपमा लिन्थिन्। श्रीमान/श्रीमतीबीच मन, विचार, सोच, रुचि, इच्छा र चाहाना नमिल्दा धेरै महिलाले बन्दकको जीवन व्यतित गर्न बाध्य भएको देख्दा उनको मनमा लाग्थ्यो, एउटै उद्धेश्य र पेशा भएकोसँग बिहे गर्न पाइयोस्।
उनको यो सोचले आफ्नै जीवनलाई पूर्णता दिइन्।
‘मैले धेरै साथीहरु देखेकी थिएँ, उनीहरु बिहे अगाडि कुनै कुरामा धेरै क्षमतावान भए पनि बिहेपछि घरमै बस्न बाध्य थिए’, एरिनाले भनिन्, ‘त्यसैले पनि मलाई एउटै काम गर्ने जीवन साथी पाए हुन्थ्यो भन्ने लागेको थियो, जुन पूरा भयो।’
आशा र एरिना वैवाहिक सम्बन्धमा गाँसिएको करिब १९ वर्ष पुगेको छ। तर, उनीहरु बीच पेन्टिङ्मा सहकार्य भएको २८ वर्ष पुग्यो। पहिल्यैदेखि एउटै पेशा गर्दै आएकोमा अहिले कामसँगै जीवन निक्कै रमाइलो र सहज भएको उनीहरुको अनुभूति छ।
‘जतिबेला हामीले सामान्य चित्र कोर्न सँगै संघर्ष गर्नु परेको थियो, अहिले चित्रसँगै जीवनको कथा पनि सँगै कोरिरहेका छौँ, यो भन्दा आनन्द अरु के हुन सक्छ ?’ आशाले भने।
धेरै पेन्टिङ्हरुलाई उनीहरुले सँगै मिलेर पूरा गरेका छन्। पेन्टिङमा दुई मस्तिष्कको ज्ञान र कला प्रयोग हुँदा पेन्टिङ झनै सुन्दर र जीवन्त बन्ने उनीहरुको अनुभव छ।
यसरी क्यान्भासबाट सुरु भएको सम्बन्ध आजसम्म आइपुग्दा उनीहरुले विभिन्न आरोह र अवरोह पार गरे। जीवनको पर्दामा कहीँ रंगीन बनेर आफै पोतिए त कही साधा बनेर।
कहीँ आफै कुची बनेर भिजे त कहीँ आफै पात्र बनेर। यो लामो यात्रामा उनीहरुले जीवनका विभिन्न रँगहरु बाँचे। उनीहरुले बिएल नेपाली सेवासँग आफ्ना सुन्दर अनुभवहरु यसरी साटेका छन्ः
- आर्काभ