अस्थिर नीतिले खाडीमा महिला कामदारको तस्करी

घरेलु कामदारका लागि जाने महिला असुरक्षित भएको भन्दै २० चैत ०७३ बाट नेपाल सरकारले रोक लगाएपछि खाडी मुलुकमा महिला कामदारको तस्करी हुन थालको छ।

सरकारको अस्थिर नीतिको फाइदा उठाउँदै दलालहरूले महिला कामदारको तस्करी गर्दै विदेश लैजाने गरेका हुन्। गैरकानुनी रुपमा विदेश जानुपर्दा बाटोदेखि गन्तव्य मुलुक पुगेर स्वदेश फर्किंदासम्म विभिन्न खालका हिंसाको सामना गर्न महिला कामदार बाध्य छन्।

सरकारले रोक लगाए पनि एक लाखभन्दा बढी घरेलु कामदार खाडीका विभिन्न मुलुकमा रहेको अनुमान छ। कुवेतमा १९ हजार सात सय ८७, कतारमा चार हजार ९९, मलेसियामा ५९, बहराइनमा एक हजार, युएईमा ५० हजार घरेलु कामदार रहेको सम्बन्धित मुलुकका नेपाली दूतावासहरूको अनुमान छ।

त्यस्तै, जोर्डनमा पाँच हजार, लेबनानमा तीन हजार, साउदीमा सात हजार, कुर्दिस्तानमा तीन हजार, माल्दिभ्समा दुई हजार घरेलु कामदार रहेको अनुमान घरेलु कामदार सरोकार समाजको छ। पछिल्लो १० वर्षमा झन्डै सवा दुई लाख महिलाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छन्। देशमा अवसरको कमी र कामको सम्मान नहुँदा नेपाली महिलाहरू रोजगारीका लागि खाडी र अन्य मुलुकहरूमा जाने गरेका हुन्।

 

 

प्रकाशित मिति: : 2021-09-28 09:32:00

प्रतिकृया दिनुहोस्