उर्लाबारी कांग्रेसः जुवाडेदेखि गैरकांग्रेससम्म हावी, निष्ठावान कांग्रेस पाखा

उबेला एमालेको दबदबा भएको पूर्वोत्तर मोरङमा नेपाली कांग्रेसबाट निर्वाचित पहिलो जनप्रतिनिधि हुन्, प्रकाश थापा। ०४९ को स्थानीय चुनावमा साविकको उर्लाबारी गाविस–७ बाट वडाध्यक्ष जितेका थापा कांग्रेसको पटक–पटक महाधिवेशन प्रतिनिधि भइसकेका व्यक्ति हुन्।

कांग्रेसका ‘अविचलित योद्दा’ उनै थापा उर्लाबारी नगरको आफ्नै वडाबाट क्षेत्रीय प्रतिनिधिमा हारेपछि उर्लाबारीका कांग्रेसीजनमा चर्को असन्तुष्टि छाएको छ।

असोज ६ गते भएको वडाअधिवेशनमा थापाको हारसंगै उनको वडा उर्लाबारी–३ को परिणाममा नयाँ ट्वीस्ट थपियो। पूर्वकै ‘नामुद जुवाडे’ अर्जुन तुम्रोकले सर्वाधिक मत ल्याएर क्षेत्रीय प्रतिनिधिमा जित हात पारे। जुवाजन्य खेलकै कारण पटके अभियुक्तसमेत बनेका तुम्रोकको जितले कांग्रेसमा योगदान गरेका संघर्षशील व्यक्तिहरु पाखा लाग्ने र सामाजिक हैसियत नभएकाहरु पदासिन हुने तथ्यहरुले देखाएको छ।

उर्लाबारी–३ मंगलबारेका तुम्रोकले विजय गच्छदारको फोरम लोकतान्त्रिकबाट समायोजनका नाममा कांग्रेसको क्रियाशिल सदस्यता प्राप्त गरेका हुन्। त्यसो त संगती नमिलेको दृश्यहरु अरुपनि छन्।

जस्तो, माओवादी द्वन्द्वकालमा  सिंगो वडामै कांग्रेस भनेर औलामा गनिने उर्लाबारी–४ का सुवास र सन्तोष भण्डारी दाजुभाईले पराजय भोगे तर राप्रपाको राजनीति गरेका सोहि वडाका गोपाल कटुवाल कांग्रेसका क्षेत्रीय प्रतिनिधि बने। राप्रपाकै राजनीति गर्ने उर्लाबारी–८ का रामजी थापाले सहजै प्रतिनिधि जिते भने नेविसंघ मोरङका पुर्व अध्यक्ष मुक्तिप्रकाश न्यौपाने एक भोटको अन्तरले हार व्यहोर्न बाध्य बने।

कटुवाल र थापा राजतन्त्रका कट्टर पक्षपाती भएको जनाउँदै कांग्रेसका एक कार्यकर्ताले भने, ‘उनीहरु कहिले कांग्रेस बने, कहिले क्रियाशिल भए? कसैलाई थाहा छैन।’ न्यौपाने भने उर्लाबारी नगर सभापतिका दाबेदारसमेत थिए। मण्डलेहरुलाई जिताउन क्रित्रिम विवाद झिकेर अधिवेशनकै बेला न्यौपानेलाई प्रहरी हिरासतमा थुनिएको स्थानीय पोषण आचार्यले जनाए।

यस्तै, पार्टीको नितान्त आन्तरिक चुनावमा बाहुबलीको भरमा इमान्दार कार्यकर्तालाई पाखा लगाइएको भन्दै उर्लाबारीका कांग्रेस कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत दिनहुँ रोष प्रकट गर्ने गरेका छन्। पार्टीको क्षेत्रीय प्रतिनिधिमा पराजय भोगेपछि कांग्रेसका सक्रिय कार्यकर्ता भीम थापाले पार्टीका क्षेत्रीय सभापतिसमेत रहेका उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आफुलाई हराउन भुमिका खेलेको भन्दै फेसबुकमा टिप्पणी लेखेका छन्।

पूर्वी मोरङको उर्लाबारी, जहाँको वडा समिति र क्षेत्रीय प्रतिनिधिमा फागो इतरका कांग्रेस कार्यकर्ता नगन्य संख्यामा मात्र विजयी भए। क्रियाशिल कार्यकर्ताको नामावली नै हेराफेरि गरिएको भन्दै तरुण दल मोरङका सचिवसमेत रहेका उर्लाबारीका प्रभावशाली युवा सचिन शाक्यले त अधिवेशनको पूर्वसन्ध्यामा चुनाव नै बहिस्कार गरे।

नेपाली कांग्रेसका लागि जिन्दगीका उर्जावान समय व्यतीत गरेका मुक्तिप्रकाश न्यौपाने, प्रकाश थापा, भानुभक्त शर्मा पराजुली, भीम लामिछाने, रुद्र रिजाल, सुरबीर कार्की, नारायण सिटौला, सुवास भण्डारी, सन्तोष भण्डारी, भीम थापालगायत दर्जनौ व्यक्तिहरुलाई ‘जसरीपनि हराउन’ क्षेत्रीय सभापति फागोले क्रियाशिल कार्यकर्ताको मतदाता नामावलीमै किर्ते गरेको पराजित पक्षले आरोप लगाएको छ।

पाका कांग्रेस कार्यकर्ता सुरेन्द्र निरौलादेखि नयाँपुस्ताका प्रतिभावान युवा विक्रान्त योञ्जन र सुब्रत अधिकारीसम्मलाई हराउन मतदातालाई त्रास देखाइ छानी–छानी हराइएको एकपक्षको आरोप छ। तर, क्षेत्रीय सभापति फागो पक्षले भने उर्लाबारी उद्योग वाणिज्य संघको चुनावमा कांग्रेसका उम्मेद्वारलाई अन्तरघात गर्नेहरुलाई मतदाताले हराएको दाबी गर्दै आएका छन्।

दुई साताअघि भएको बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका कांग्रेसतर्फका उम्मेद्वार तारामान सिरेङले लज्जास्पद हार व्यहोरेपछि उर्लाबारी कांग्रेसमा एकअर्काबीच आरोप–प्रत्यारोप चल्ने शिलशिला जारी छ। अधिवेशन बहिस्कार गरेका तरुण दल मोरङका सचिव सचिन शाक्य भन्छन्– ‘क्रियाशील सदस्यलाई कुनैपनि अपिल नगरिकन, पार्टीलाई कुनै जानकारी र समन्वय नगरी अधिवेशन अगाडि बढाइयो।

जुन तहको अधिवेशन गर्ने हो, त्यो तहको सभापति नेतृत्वको कार्यसमितिसँग परामर्श गरेर मात्र अधिवेशन गर्ने भन्ने नेपाली काँग्रेसको निर्वाचन निर्देशिकामै लेखिएको छ। त्यो व्यवस्थालाई उल्लङ्घन गरेर क्रियाशील सदस्यको नाम तल–माथि पारेर अधिवेशन गरिएको छ। यहाँ खटिएका निर्वाचन अधिकृतले एउटा मात्र समूहको सल्लाह अनुसार गर्ने निर्वाचन कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ।’

लोकतन्त्रका मूल्य मान्यता र दलको आन्तरिक राजनीतिमा गरिएको हस्तक्षेप र निरंकुशतावादी शैली दुनियाँमा अनौठो भएको भन्दै उर्लाबारीका कांग्रेसजनले चर्को असन्तुष्टि जनाएका छन्।

प्रकाशित मिति: : 2021-09-26 17:51:00

प्रतिकृया दिनुहोस्