आफू कुनै परिचित वा अपरिचित ठाउँमा गएर कोही मान्छेलार्ई भेट्नुपर्दाको बखतमा हाम्रो मुखबाट अनायास निस्किहाल्छ– नमस्कार ! नमस्ते ! प्रणाम ! पाउलागी ! आदि। बाटोमा हिँडिरहँदा वा घरमा आएका अतिथिलार्ई अभिवादन गर्दा पनि यसै भन्ने गरिन्छ।
औपचारिक अभिवादनका यी पूर्वीय शब्दहरु हुन्। पश्चिमी सभ्यतानुसार यसको लागि– हाइ ! हेलो ! जस्ता शब्दहरु पाइन्छन्। जसमा वास्तवमा भन्ने हो भने वजन हुँदैन। फगत औपचारिकता निर्वाहनको साधारण अभिव्यक्तिजस्तो मात्र हुन्छ।
आजको ‘इलेक्ट्रोनिक’ युगमा मान्छेको कार्यव्यस्तता बढदो छ। अपरिचित मान्छेको त कुरै छाडिदिऊँ, परिचित वा आफन्त पनि भेंट भएको बेलामा रोकिएर औपचारिक अभिवादन, अभिनन्दन तथा कुशल क्षेम आदानप्रदान गर्ने फुर्सद् पनि अभाव रहेको देखिन्छ।
के हो अभिवादन ? यो किन गर्न जरुरी छ त ? हाम्रो पूर्वीय दर्शनअनुसार प्रकृतिको कण–कणमा ईश्वरको वास रहन्छ। अभिवादन हामीले परिचित वा अपरिचित मान्छेलार्ई मात्र नगरेर त्यस मान्छेभित्र रहेको ईश्वरीय शक्तिलार्ई नमन वा अर्चनको प्रतीकको रुपमा गरिन्छ।
प्रकृतितात्मक प्रत्येक भूतमा ईश्वरको उपस्थिति रहन्छ भन्ने कुराको पुष्टि श्रीमद् भागवत महापुराणको निम्नलिखित श्लोकले गरेको पाइन्छ–तेजः श्रीः कीर्तिरैश्वर्यं र्यहीस्त्यागः सौभगं भगः। वीर्य तितिक्षा विज्ञानं यत्र यत्र स मेंऽशकः।। (श्रीमद् भा. म. पु., स्क. ११, श्लो.४०) अर्थात् जसमा तेज, श्री, कीर्ति, ऐश्वर्य, लज्जा, त्याग, सौन्दर्य, सौभाग्य, पराक्रम, तितिक्षा तथा विज्ञान आदि श्रेष्ठ गुणहरु छन्, त्यो जम्मै मेरो अंश हो।
यस विषयलाई थप पुष्टि गर्दै गीतामा भगवान कृष्ण अर्जुनलाई भन्नुहुन्छ– बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम्। बुद्धिर्बुद्धिमतामस्मि तेजस्तेजस्विनामहम्।। (गीता, अ. ७, श्लो.१०) अर्थात् हे अर्जुन, प्रकृतिका सम्पूर्ण भूतको सनातन बीज मै हुं। म बुद्धिमानहरुको बुद्धि तथा तेजस्वीहरुको तेज हुँ।
फेरि नवम् अध्याय गीतामा कृष्णजीले भन्नुहुन्छ– गतिर्भर्ता प्रभुः साक्षी निवासः शरणंसुह्त्। प्रभवः प्रलयः स्थानं निधानं बीजमव्ययम्।।(गीता, अ.९, श्लो.१८) अर्थात् प्राप्त हुन योग्य परम धाम, भरणपोषण कर्ता,सबैका स्वामी, शुभाशुभको निरीक्षणकर्ता, प्रत्युपकार न लिएर हित गर्ने, सबैको उत्पति, प्रलयहेतु, स्थितिको आधार, निदान र अविनाशी कारण (बीज) पनि म नै हुँ।
यस उक्तिलाई अझ सशक्त रुपमा स्पष्ट पार्दै दशौँ अध्यायमा भगवान कृष्ण भन्नुहुन्छ–यद्यद्विभूतिमत्सŒवं श्रतीमदूर्जितमेव वा। तत्तदेवावगच्छ त्वं मम तेजोंऽशसंभवम्।। (गीता, अ.१०, श्लो.४१) अर्थात्, ऐश्वर्ययुक्त, कान्तियुक्त तथा शक्तियुक्त जति पनि पदार्थहरु प्रकृतिमा छन्, ती जम्मै मेरो तेजको नै अंश हुन्।
भगवान स्वयम्ले यस्ता वचनहरु भनेपछि हाम्रो दर्शनले कण कणमा ईश्वरको उपस्थितिलाई स्वीकार गरेको पाइन्छ। त्यसै कारणले गर्दा प्रत्येक जन, जानवर तथा ज·म हाम्रो जीवन दर्शनअनुसार वन्दनीय र अभिनन्दनीय रहेका छन्।
श्रीमद् भागवतको एक कथा अनुसार दैत्य हिरण्यकशिपुले कण कणमा भगवानको उपस्थितिका बारेमा आफ्नो छोरा प्रल्हादसित शंका गरेका थिए–यस्त्वया मन्दभाग्योक्तो मदन्यो जगदीश्वरः। कवा्सौ यदि स सर्वत्र कस्मात् स्तम्भे न दृश्यते।। श्री मद् भा.म.पु., सप्तम स्कन्ध, श्लो.१३) अर्थात् मबाहेक तिमीले चारैतिर भगवान छ भन्छौ भने तेरो भगवान यस खम्बामा किन देखिँदैन ?
यति भनेर हिरण्यकशिपुले खम्बालाई एक मुक्का के हानेको थियो कि–अदृश्यतात्यदभूतरुपमुद्वहन सतम्भे सभायां न मृगं न मानुषम्।।(श्रीमद् भा. म. पु., स्क. ७, श्लो.१८) अर्थात् आफ्नो व्यापकता संसारलाई देखाउनका निम्ति सभामा त्यस खम्भाबाट विचित्र रुप धारण गरेर भगवान प्रकट भए।
त्यो रुप न मानवको थियो न सिंहको थियो। अतः हामी जस्ता साधारण मानिसले ईश्वरको सर्वव्यापकता मान्नु पर्ने हुन्छ तथा मानिसमा त्यसै पकिल्पना बमोजिम ईश्वरको उपस्थिति मानेर अभिवादन गर्नु पर्ने हुन्छ।
अभिवादन गर्नाले पुरुषको चारवटा कुराको निरन्तर वृद्धि भइ रहन्छ–अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः। चत्वारी तस्य वद्र्धन्ते आयुर्विद्या यशो बलम् (म.स्मृ., ख.२, श्लो.१२१)। अतः हामी परिचित, अपरिचित, जेठो, कान्छो तथा सम्पूर्ण भूतप्रति अभिवादनशील हुनुपर्दछ।
मान्छे अभिवादनशील भएपछि विश्व बन्धुत्व, सौहाद्र्र तथा यशको वृद्धि भइरहन्छ जसका कारणले श्रूतिउक्त आर्ष वाक्यको यथेष्ट सम्पोषण हुन्छ – बसुधैव कुटुम्बकं।
अझै सम्भव भए मान्छेले एकअर्काको सुख दुख तथा कुशल क्षेमको समाचारको आदान प्रदान गरि दिंदा आत्मियता झन चुलिएर आउदछ जसले मान्छेलाई परम सुख तथा सन्तोष प्रदान गर्नमा सहायक हुन्छ। यसो गर्दा आफ्नो जाने केही होइन, मान्छे मान्छेसितको मायाप्रीति बढ्दछ नै ! अस्तु...!