संसद बैठकअघि सभामुखले एमालेसँग संवाद गर्ने, संवादमा नआए कार्यसूचीअनुसार चल्ने 

फाइल तस्वीर
फाइल तस्वीर

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष दल अनुपस्थित भए पनि संवादको क्रम भने जारी राख्ने भएका छन्। प्रतिनिधिसभा बैठकअघि सभामुख सापकोटाले प्रतिपक्षी दल एमालेसँग संवादको प्रयत्न गर्ने प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

‘प्रतिपक्ष दल एमालेको समस्या हल गर्नका लागि हिजो सर्वदलीय बैठक सभामुखले आह्वान गर्नु भएको थियो। तर, उहाँहरू उपस्थित हुनु भएन्,’ न्यौपानेले भने, ‘अझै पनि सभामुख प्रतिपक्ष दलसँग संवादका लागि प्रयत्नरत हुनुहुन्छ, संसदलाई प्रभावकारी रुपमा चलाउनका लागि सबै दलसँग उहाँले संवाद गरिरहनुभएको छ।’

उनका अनुसार सभामुख सापकोटाले बैठकमा धारणा राख्न प्रतिपक्ष दल एमाले नआएकोमा असन्तुष्ट रहेको न्यौपानेको भनाइ छ। ‘जसका लागि बैठक बोलाइएको थियो, उहाँ (एमाले)हरू नै आउनु भएन, तर दलहरूको सुझावअनुसार सभामुखले एमालेसँग संवाद गर्न भने प्रयत्न गर्दै हुनुहुन्छ।’ उनका अनुसार आज (मंगलबार) १ बजे संसद बैठकअघि पनि सभामुख सापकोटाले एमाले नेताहरूसँग कुराकानी गर्नेछन्।

अवरोधकाबीचमा नै संसद चलाइरहेका सापकोटा र एमालेबीच विवाद थप बढिरहेको छ।

यसैबीच, सभामुख सापकोटाले सोमवार सर्वदलीय बैठक डाकेर विवाद हल गर्ने प्रयत्न गरे पनि एमालेको अनुपस्थितिका कारण सम्भव भएन। एमाले संवादमा नआए पनि कार्यसूचीअनुसार संसद बैठक बढाउने योजनामा सभामुख सापकोटा रहेको न्यौपानले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-09-14 12:32:00

प्रतिकृया दिनुहोस्