प्रदेश १ः नेकपा (एस) संसदीय दलको नेतामा राई चयन

नेकपा (एकीकृत समाजवादी)को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्।

सोमबार बसेको संसदीय दलको बैठकले राईलाई नेता चयन गरेको हो। बैठकले भीमप्रसाद आचार्य नेतृत्वको प्रदेश सरकारलाई समर्थन नरहेको निर्णयको जानकारी आजै प्रदेशसभा सचिवालयलाई दिने तयारी गरेको पनि जनाएको छ।

बैठकबाट हामीले राजेन्द्रजीलाई दलको नेता चयन गरेका छौं, समाजवादीका सांसद उपेन्द्र घिमिरेले भने,आज प्रदेशसभामा त्यसको र सरकारलाई समर्थन नरहेको जानकारीसहितको पत्र पठाउने छौं  प्रदेश १ मा एकीकृत समाजवादीको पक्षमा १० जना सासदले सनाखत गरेका थिए।

उनीहरूले गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो। राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ। बहुमतप्राप्त दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा परिसकेकोले अब असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्छ।

प्रदेशसभामा हाल कायम रहेका ९२ सदस्यमध्ये सभामुखसहित नेकपा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन्।

प्रकाशित मिति: : 2021-09-13 12:07:00

प्रतिकृया दिनुहोस्