सत्तारुढ दलको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारकाे कामलाई टुङ्गाउन बैठक बाेलाएका हुन्।
सत्तारूढ गठबन्धन दलहरू सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा रहेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रिपरिषद् विस्तारका लागि बिहिबारदेखि नै छलफल चलाएका छन्। मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा बिहिबार सत्तारुढ गठबन्धन दुई भिन्नाभिन्न बैठकमा बसेका थिए।
मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढका शीर्ष नेता बैठकमा सहभागी भएका थिए। जसपाका अध्यक्ष उपेन्द्र यादवको निवासमा यादवसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो।
त्यसपछि अपराह्न पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित प्रचण्ड, नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको थियो। उक्त बैठकमा भने जसपाका अध्यक्ष यादव अनुपस्थित थिए।
छलफलमा चाँडै नै सरकारलाई पूर्णता दिने विषयमा सहमति भएको नेकपा (एस)का नेता मेटमणि चौधरीले जानकारी दिए। ‘सायद शुक्रबार नै मन्त्रिपरिषद् विस्तार हुन्छ। अबेरसम्म भए पनि विस्तार हुन्छ, बरू सपथ भने शनिबार हुन सक्छ। नभए २८ भदौमा सर्वोच्च अदालतको निर्णय आएपछि सरकार पूर्ण हुनेछ’, चौधरीले भने।
एमालेले तत्कालीन एमालेका १४ जना सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ। उक्त रिटको सुनुवाइ २८ भदौमा तोकिएको छ।
कांग्रेस सभापति देउवा गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए। उनको मन्त्रिपरिषद्मा अहिले कांग्रेसबाट दुई मन्त्रीसहित एक राज्यमन्त्री र माओवादीबाट दुई जना मन्त्री छन्।
एकीकृत समाजवादी पार्टीमा एमालेका जनप्रतिनिधिले सनाखत गरिसकेका हुनाले अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुने गठबन्धनबीच सहमति भएको छ।
गठबन्धन भित्रको भागवण्डाले माधव नेपालकाे पार्टीले उपसभामुखसहित कम्तीमा पाँच मन्त्रालय पाउने पक्का भएको छ। जसमा मन्त्रीहरुको लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री र प्रेम आलेलगायतका नेताहरुको नाम अगाडि आएको छ।
प्रचण्डले पनि माओवादीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई देउवालाई बुझाइसकेको बताइएको छ। जसमा नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, देव गुरुङ लगायतका नेताहरुको नाम छ। कांग्रेसबाट पनि गगन थापा, मिनेन्द्र रिजाललगायतका नेताहरू पनि मन्त्री नियुक्त हुने सम्भावना छ।
गठबन्धनका अन्य दलका शीर्ष नेताहरुले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पक्का गरिसकेका बताइएको छ।