माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ।
आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य संख्या १३ पुगेको छ।
प्रदेशमा माओवादी केन्द्रका पनि १३ जना प्रदेशसभा सदस्य छन्। माओवादी केन्द्रको भन्दा ठूलो पार्टी बनाएर सत्ताको दाबी गर्ने भन्दै थप एक सांसद जुटाउने अभियानमा सो पार्टीका नेताहरु लागिपरेका छन्।
प्रदेशसभा सदस्य बलदेव रेग्मीलाई आफ्नो पक्षमा ल्याएर बहुमत सदस्य जुटाउने अभियान जारी रहेको प्रदेशसभा सदस्य दीर्घ सोडारीको दाबी छ।
प्रदेशसभा सदस्यहरु दीर्घ सोडारी र तारा लामा तामाङसँगै विगतमा ओली पक्षमा खुल्दै आएका पूर्वराज्यमन्त्री प्रकाश रावलले आज निर्वाचन कार्यालय पुगेर नेकपा (एस)को पक्षमा सनाखत गरेका छन्।
योसँगै कांग्रेस र एमालेसँग १२/१२ जना प्रदेशसभा सदस्य हुनेछन् भने जनता समाजवादी पार्टीका दुईजना प्रदेशसभा सदस्य छन्।