फाेटाे खिचाउँदा नेताहरूलाई धकेल्दै ओलीकाे छेउमा पुगे रावल र ज्ञवाली, यस्ता छन् निर्णयहरू (पूर्ण पाठसहित)

नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ।

बैठकमा बेग्लै पार्टी गठन गरेका माधव नेपाल र स्थायी कमिटी सदस्य द्वय मुकुन्द न्यौपाने र वेदुराम भुषालबाहेक अन्य सबै नेताहरु सहभागी थिए।त्यस्तै बैठकमा पूर्व माओवादी नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापासमेत उपस्थित थिए।

बैठक सकेर बाहिर निस्कादा सबैको अनुहारमा एकता र खुशीको भाव झल्किएको थियो। बैठकपछि एकताको सन्देश दिन सामूहिक फोटोसेसनसमेत गरिएको थियो।

फोटोसेसन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दायाँ र बायाँ उपाध्यक्षद्वय भीम रावल र युवराज ज्ञवाली उभिएका थिए। अन्य केही नेताहरुले पनि ओलीको छेउमा उभिने दाउ हेरिरहेका थिए। तर उनीहरु धकेल्दै ज्ञवाली र रावल ओलीकाे छेउमा पुगेका थिए। 

बैठकले एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना गर्ने निर्णय गरेको छ।

माधव नेपाललाई छाडेर फर्किएका स्थायी कमिटी सदस्यसहितको बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो। भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन पनि सरेको छ। विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुने भएको छ।

स्थानीय तहका अधिवशेनको मिति पनि सारिएको छ।


यस्तो छ पूर्ण पाठः

१.पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वयन कमिटी जिल्ला कमिटी लगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई २०७५ साल जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने। १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटी तथा पार्टी सदस्य समक्ष प्रेसित गर्ने। 

२. १० बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न कार्यदल बनाइएको छ। उक्त कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल,  घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्।

३.२०७५ साल जेठ २ गते सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नविकरण अगाडि बढाइने। नविकरणको क्रममा एकीकरणको क्रममा आवद्ध भएका सदस्यहरूको पनि नविकरण गरिने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यहरूको पनि नविकरण असोज मसान्तसम्म गर्ने निर्णय भएको छ।

४. पार्टीको विधान महाधिवेशन यही असोज ४,५ र ६ गते काठमाडौंमा गर्ने र पार्टीको १० औं महाधिवेशन २०७८ मंसिर १०, ११ र १२ मा गर्ने निर्णय। विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ स्थायी कमिटी र २७ गते केन्द्रीय कमिटी बैठक  आयोजना।

५.पार्टीका स्थानीय कमिटीलाई व्यवस्थित गर्नको लागि देशैभर २०७८ साल कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका वा सो सरहका कमिटीको अधिवेशन गर्ने।

६.पार्टीको पछिल्लो निर्णय सम्प्रेषण गर्नको लागि २०७८ साल भदौ १६ देखि २० सम्म केन्द्रीय प्रशिक्षकहरूको उपस्थितिमा सबै जिल्लामा जिल्ला कार्यकर्ता भेला  र जनसंगठनको केन्द्रीय कार्यकर्ताको भेला आयोजना गरिनेछ।

७.पार्टी केन्द्रीय कमिटीको बैठक भदौ १० गते काठमाडौंमा आयोजना हुनेछ।

८. यसलगायत अन्य निर्णय र यसको दूरगामी परिणाम र समसामयिक राजनीतिक प्रभाव र राजनीतिक स्थितिबारे प्रष्ट पार्न भोलि पार्टी अध्यक्षलगायत नेताको उपस्थितिमा ११ बजे पत्रकार सम्मेलन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: : 2021-08-24 18:34:00

प्रतिकृया दिनुहोस्