एमाले विभाजन गर्नेको सूचीमा माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु बेदुराम भुसाल र मुकुन्द न्यौपानेबाहेक कसैले पनि हस्ताक्षर नगरेको खुल्न आएको छ।
नेपाल पक्षले निर्वाचन आयोग पठाएको सूचीमा स्थायी कमिटी सदस्य दुई जनाको नाम रहेको स्रोतले जनाएको छ।
नेपाल समूहको उच्च स्रोतका अनुसार, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री हुने भएकी छिन्। उनले एमाले एकताको पक्षमा लाग्ने प्रतिबद्धता जनाएको स्रोतको दाबी छ।
उपाध्यक्ष भीम रावल, सचिवत्रय भीम आचार्य, गोकर्ण बिष्ट र योगेश भट्टराईले नेपाल समूहमा नलाग्ने जवाफ पठाइसकेका छन् भने उपमहासचिव घनश्याम भुसाल पनि पार्टी फुट्न नदिने अभियानको नेतृत्व गरिरहेका छन्। अर्का स्थायी कमिटी सदस्य रघुजी पन्त बिरामी परेकाले घरमै आराम गरिरहेका छन्।