नेपालमा ठगी गरी युराेप छिरेका काभ्रेको भुम्लु गाउँपालिका– १ का ४३ वर्षीय केदार ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीको इन्टरपोल शाखाले पोर्चुगलबाट पक्राउ गरी नेपाल ल्याएकाे हाे।
देवः विकास बैंककाे २ कराेड र विभिन्न मानिसहरूसँग लाखाैं रूपैया ठगेर पाेर्चुगल पुगेका ढुङ्गानालाई प्रहरीले शनिबार विहान काठमाडाैं ल्याएकाे नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिएका छन।
देवः विकास बैंकसँगै अन्य धेरै व्यक्तिहरूले ढुङ्गानाले ठगेकाे भन्दै प्रहरीमा उजुरी गरेका थिए। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइवी) को टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।
उनीसहित १२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालत, ललितपुर जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा रहेकाे छ।
उनीविरुद्ध २०७५ मंसिर २१ गते बैंकिङ कसूरमा जाहेरी परेके थियो। २०७७ पुस २० गते ललितपुर जिल्ला अदालतबाट १० वटा मुद्दा फैसला भइसकेको छ। अदातलते ढुङ्गाना समेतका अन्य मानिसलाई प्रत्येक मुद्दामा १ वर्ष कैद र ७० हजार जरिवाना गर्ने फैसला सुनाएको थियो। काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा दर्ता भएका अन्य दर्जनभन्दा बढी मुद्दा अहिले पनि विचाराधीन रहेका छन्।
२०७७ जेठ १६ गते ढुङ्गानाले पोर्चुगलमा रेसिडेन्ट परमिटका लागि आवेदन दिएको सूचना प्रहरीले पाएकाे थियाे। त्यसपछि इन्टरपोल प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याउन प्रकिया अगाडि बढाइएको थियो। उनीविरुद्ध प्रहरीले गत वैशाख ३१ गते ‘रेड कर्नर नोटिस’ समेत जारी गरेको थियो।