खोप केन्द्रसम्म जान नसक्ने नागरिकलाई घर-घरमै गएर कोरोनाको खोप लगाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने नागरिकहरुलाई घर-घरमै गएर कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश दिएको छ।

अधिवक्ता प्रवेश केसीले दायर गरेकाे रिटमाथि सुनुवाई गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो।

खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकहरुलाई घर-घरमा गएर कोरोनाको खोप दिनुपर्ने माग गर्दै अधिवक्ता केसीले रिट दायर गरेका थिए।

न्यायाधीश ढुंगानाको इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नारिकहरुको घरघरमा पुगेर खोप लगाउन अन्तरिम आदेश दिएको हो।

सर्वोच्चको आदेशमा भनिएको छ–‘खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दिर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि राज्यले वडास्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर–घरमा पुगि कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय र तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी कार्यक्रम सञ्चालन गर्नु गराउनु।’

प्रकाशित मिति: : 2021-08-13 16:04:00

प्रतिकृया दिनुहोस्