लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पदबाट राजीनामा दिएका छन्।
मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन्।
‘लुम्बिनी प्रदेश सरकारले संविधान र कानुनलाई सर्वोपरी ठानी कुशलतापूर्वक सरकार सञ्चालन गर्दै आएकोमा अहिलेको परिस्थिति भिन्न भएको र संसदमा अनुकूल परिस्थिति नरहेकोले मेरो गम्भीर ध्यानाकर्षण भएको छ, ’उनले भनेका छन्।
राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले बताए।
जनता समाजवादीले उनीसहित तीन सांसदलाई पार्टी ह्विप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो।
‘प्रदेश सरकारले संविधान एवम् कानुनलाई सर्वाेपरी ठानी कुशलता पूर्वक सरकार सञ्चालन गर्दै आएकोमा अहिले परिस्थिति भिन्न भई मेरो गम्भीर ध्यानाकर्षण भएको हुँदा सिद्धान्तको राजीनि गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा उक्त सरकारबाट फिर्ता हुनु नै उपयुक्त ठानी जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश सभा संसदीय दलको २०७८ साउन २६ गतेको निर्णय अनुार लुम्बिनी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने गरी निर्णय भएको हुँदा सोही बमोजिम आजको मितिदेखि नै लागू हुने गरी राजीनामा गरेको छु’ उनले राजीनामा पत्रमा भनेका छन्।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले साउन १९ गते तेस्रपल्ट दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्नुअघि नै पाण्डेयले राजीनामा दिएका हुन्।
उनी जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहका नेता हुन्।