मुख्य योजनाकार बजगाई भ्रष्टाचार ढाकछोप गर्न सक्रिय 

सोल्टी खोलाको पूल निर्माणका क्रममा खोलाको दुई तर्फका पिल्लर मात्र बनाएको हिसाव फरफारक नगर्ने उपभोक्ता समितिका सचिब शङ्कर बजगाई यतिबेला कागजात मिलाएर पन्छिने तयारीमा जुटेका छन्। 

८८ लाख रुपैयाँ सकिँदा पनि पूल नबनेपछि स्थानीयबासी बजगाई प्रति आक्रोसित भएका छन्। बजगाई भने हिसाव–किताव मिलाउन कहिले गाउँपालिका पुगिरहेका छन्,त कहिले मिडियामा आफूले भ्रष्टाचार नगरेको समाचार लेखाउन पत्रकार सम्मेलन गराइरहेका छन्।

मोरङको मिक्लाजुङ–५ को सोल्टी खोलाको पुल निर्माण गर्ने उपभोक्ता समितिमा बजगाई सचिव थिए। उनकै अगुवाईमा गाउँपालिका र स्थानीय तीनवटा सामूदायिक वनको साझेदारीमा आरसीसी पुल बन्ने योजना बनेको थियो। सचिव बजगाईले अध्यक्ष बुद्धिमान श्रेष्ठ लगायतका पदाधिकारीलाई खाली कागजमा हस्ताक्षर गराएर पैसा आफूले बुझ्ने गरेको समेत खुलासा भएको छ। उपभोक्ता समितिका एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने– डोर हाजिर गराएर सय बढी कामदारको पैसा  सचिव आफैले बुझेको देखिन्छ। तर, स्थानीय भुक्तभोगीहरू भन्छन्–पुल निर्माणमा डोर हाजिरमा एक जना मजदुर पनि लगाइएको छैन्। 

पहिले नेकपा एमाओवादीबाट वडाध्यक्षको उम्मेद्वार बनेका बजगाई आर्थिक घोटालाबाट बच्न यतिबेला नेकपा एमालेमा प्रवेश गरेका छन्। सुरुका दिनमा सोल्टी पुलका विषयमा पटक पटक अनुगमन गरेको गाउँपालिकाले बजगाईको एमाले प्रवेशसँगै सोल्टी पूल प्रकरणलाई छायाँमा पारेको छ। मिक्लाजुङ गाउँपालिकाको वडा नं। ५ नेपाली कांग्रेसको बर्चस्व भएको वडा मानिन्छ। उनको पार्टी प्रवेशले एमालेले आगामी निर्वाचन जित्ने लोभले बजगाई प्रति नेकपा एमाले ‘लोयल’ बनिदिएको स्थानीयले बताएका छन्। 

बजगाईले भ्रष्टाचारको घटना ढाकछोप गर्न पत्रकार सम्मेलन समेत गरिसकेका छन्। उनले आफू बिरुद्ध लागेको आरोप पखाल्ने उदेश्य राखी प्रदेश राजधानी विराटनगरबाट पत्रकार ‘हायर’ गरेर मिक्लाजुङ –५ धानखेती बोलाएका थिए। तर, पत्रकार सम्मेलनमा सहभागी भएका सञ्चारकर्मीले पनि बजगाईलाई लागेको भ्रष्टाचारको कालो धब्बा पखालिने गरी समाचार लेखिदिएनन्। त्यसपछि उनले सुरुमा समाचार लेख्ने मिडिया हाउसका प्रतिनिधि प्रति आगो ओकले। तर, समाचारको सत्यता प्रति पत्रकार र मिडिया हाउसका प्रतिनिधि नडगमगाए पछि उनी बिभिन्न ब्यक्तिलाई प्रयोग गरेर आर्थिक  प्रलोभनमा पार्ने प्रपञ्च रचिरहेका छन्। एक विश्वस्त समाचार स्रोतका अनुसार उनले पत्रकार सम्मेलनमा मात्र ४० हजार रुपैयाँ खर्च गरेका थिए। अहिले पनि आफ्नो पक्षमा समाचार लेखेर चोख्याउन सक्ने पत्रकारलाई राम्रो स्किमको आशा देखाइरहेका छन्। 

उत्तर–पूर्वी मोरङको मिक्लाजुङ–५ को धानखेतीसँग गुप्ती र खोलीटारलाई जोड्ने सोल्टी खोलामा पुल नबन्दा त्यस क्षेत्रका मानिस वर्षौं देखि सास्ती खेप्न बाध्यछन्।

किन बनेन पूल

मिक्लाजुङ–५ को मेरुदण्ड मानिने सोल्टी खोलामा पुल नबन्नुको मूख्य दोषी पनि बजगाई नै भएको स्थानीयको दाबी छ।

गाउँपालिका र सामूदायिक वनले उपलब्ध गराएको रकमले नै पुल बन्ने थियो। त्यतिबेला स्थानीयलाई उनै बजगाईले महत्वाकांक्षी बनाइदिए। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बोलाएर शिलान्यास गराउने पनि उनै बजगाई हुन्।

संघीय सरकारले मदन भण्डारी लोकमार्ग अन्तरगत मोरङका विभिन्न खोलामा बन्ने पूलको लिष्टमा सोल्टी खोलाको पूल पनि प¥यो। यो पूल संघीय सरकारले नै बनाउने भनेर घोषणा भएपछि उपभोक्ता समितिका सचिव शंकर बजगाईले योजना तुहाएको स्थानीयको दाबी छ। जानकारहरू भन्छन् – पूल संघीय सरकारले बनाउने भयो। हामीले किन मरिहत्ते गर्ने भन्दै उनी हिसाव फरफारक तिर लागेका हुन्।



पैसा जति झ्वाम, सालको रुख ढालेर बन्यो सोल्टी खोलामा पुल

भ्रष्टाचारको मुख्य योजनाकार उपभोक्ता समितिका सचिव बजगाई !

 

प्रकाशित मिति: : 2021-08-08 19:45:00

प्रतिकृया दिनुहोस्