पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि सफाइ पाएका छन्।
उच्च अदालत पाटनका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दाकाे सुनवाइ गर्दै काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको अदालतकी प्रवक्ता अमृता शर्माले जानकारी दिइन् ।
महराविरूद्ध सभामुख रहेका बेला संसद् सचिवालयकी कर्मचारीलाई जबर्जस्ती करणी गरेकाे भन्दै मुद्दा दायर भएकाे थियाे। उक्त आरोप लागेपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए। ५ महिना पूर्पक्षका लागि कारागारमा बिताएका उनलाई २०७६ फागुन ५ गते काठमाडाैं जिल्ला अदालतले सफाइ दिएकाे थियाे।
महाराले सफाइ पाएसँगै सरकारका जाने आकांक्षा राखेको उनीनिकट एक नेताले जानकारी दिए।‘उहाँले आजबाट पूर्ण रूपमा सफाइ पाउनुभएकाे छ, उहाँ आफैँले केही दिनदेखि सरकारमा सहभागी हुने संकेत गर्नुभएकाे थियाे। प्रधानमन्त्री शेरबहादुर देउवाले अझै मन्त्रिमण्डल पनि विस्तार गर्नुभएकाे छैन। हेराैं के हुन्छ,’ ती नेताले बिएल नेपाली सेवासँगकाे कुराकानीमा भने।
महरा सभामुख हुनुअघि नै उपप्रधानमन्त्री एवम् गृहमन्त्री, अर्थमन्त्री, सञ्चारमन्त्री भइसकेका नेता हुन् । उनी मन्त्री बन्ने भएमा उपप्रधानमन्त्रीसहित मन्त्री बनाउनुपर्ने छ।