नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा वरिष्ठ नेता माधवकुमार नेपालले सांसद नारदमुनि रानामाथि दुर्व्यवहार गरेको भन्दै विरोध जनाएकी छन्।
साउन १० गते समितिको बैठकमा नेता नेपालले सांसद रानालाई प्रतिगमनको मतियार, बाहिर जानुस् भनेका थिए।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले समान हैसियतको सांसदलाई बाहिर जाऊ भनेर माधव नेपालले नारदमुनि रानामाथि अधिनायकवादी चरित्र प्रदर्शन गरेकाे आरोप लगाएकी हुन्।
सांसद चौधरीले उक्त घटना समस्त थारु समुदायको अपमान भएको बताइन्।
‘समान हैसियतको सांसदलाई बाहिर जानुस् भनेर संसदीय समितिमा अधिनायकवादी चरित्र प्रदर्शन भएको छ, थारु समुदायको अपमान भएको छ। साउन १० गते जुन दृश्य समितिभित्र देखियो, त्यो सदियौंदेखि शासकले थारुमाथि शोषण गरेको झझल्को दिलाउँछ’, उनले भनिन्।