भनिन्छ जन्मदिने आमा र जन्मेको ठाउँ स्वर्गभन्दा पनि प्यारो हुन्छ। काठमाडौं बस्दा त्यही प्रिय माटो अनि ममातामयी आमाको झल्को लागिरहन्छ अमरबहादुर शाहीलाई। उनको भित्री मन रमाउने ठाउँ त्यही मुडेगाउँ हो। त्यतै–कतै छन् बाल्यकालीन यादका लयहरू। अविष्मरणीय घटनाका पराकम्पनहरू। कार्तिकमा सिरौला चपाए जस्तो दुःखको फाको चपाउन सिकेको त्यतै हो।
असौजे बिहानीमा आइपुग्ने सूर्यका किरणजस्ता हर्ष र उन्मादका भुकभुकी लगाउने पलहरु व्यतित गरेको ठाउँ त्यही हो। साँझ बिहान बाडुली लगाइरहने बृद्ध बाआमा पनि त त्यतै छन्। काम विशेषले काठमाडौंले तानिरहे पनि पुगेकै हुन्छ मन त्यही मुडेगाउँमा। त्यसैले त पछिल्ला दिनमा मुडेगाउँमै बस्ने सोचका साथ बनाइरहेका छन् मुडेगाउँ रिसोर्ट।
आकाशमा टिल्पिलाइरहेका तारा बारीमा टल्किरहेका आँपका दाना। विभिन्न जातका आँपहरु लटरम्म फलेर निहुराइरहेका थिए शिर। समाजमा कर्मशील बनेका अमर शाहीहरु थोरै छन्। जो पोस्ट खोज्दैनन्। झुटो बोल्न जान्दैनन्। लोभलालच केही छैन। एकोहोरो लागिरहन्छन् आफ्नो कर्ममा। लामो समयदेखि पर्यटन प्रवर्धनमा लारिरहेका शाही एक अपवाद हुन् समाजका लागि। देशका लागि।
किसानलाई प्रोत्साहित गर्ने उनको उद्देश्य, समाज रुपान्तरणमा सक्दो भुमिका निर्वाह गर्ने सोच। एक दशक अगाडीदेखि नै परिचित छु शाही र उनका सिर्जनशील कार्यसँग। भित्रैबाट श्रद्धा उत्पन्न भैदिन्छ त्यस्ता व्यक्तिको बारेमा चर्चा गर्न खोज्दा।
अमर शाही जो संघर्षको घडा बोकेर निस्कन्छन् यात्रामा। दिलको कुनामा भरिरहन्छन् आशाका धर्साहरु। अनि आफू मात्र सिकिरहेका हुँदैनन् सुन्दर र ऊर्जाशील जिन्दगी जिउन। कयौंलाई सिकाइरहेका पनि हुन्छन् जीवनको असली कला। जो मान्छे ठट्टा गर्न जान्दछ उसको जीवन कलात्मक हुन्छ। स्वाभमिानको च्यादर ओढेर बाटोभरि संघर्षका डोब बनाएर यात्रारत परिहासमा निकै नै रमाउने शाहीकोे जिन्दगीले सिकाइरहेको हुन्छ धेरै कुरा।
साउने संक्रान्तिको बिहानै मुडेगाउँस्थित उनको घरमा बढीसकेको थियो चहलपहल। चहलपहल बढाउन अघिल्लो दिन नै आश्चर्यप्रदान गर्ने गरी सुटुक्क आइपुगेका थिए काठमाडौंदेखि गेरख विष्ट, लक्ष्मण भट्टराई र राकेश शाहीको टीम। माथि गाउँदेखि आएका थिए संस्कृतिक अध्येता पदमराज जोशी भारद्वाज अनि दिपायलदेखि आइपुगेका थिए पत्रकारमहासंघ डोटीका अध्यक्ष मोहन शाही।
चर्चित फोटोग्राफर बिष्ट तल्लिन थिए क्यामेराको बटन थिच्न। पहिलो पटक सुदूरपश्चिको भूगोलमा पाइला टेकेका लक्ष्मण भट्टराई र राकेश शाहीको मुहारमा देखिन्थ्यो छुट्टै उत्सुकता।
साउने संक्रान्तिको बिहानै मुडेगाउँस्थित शाहीको आँगनबाट देखिन्थ्यो रमणीय दृश्य। पूजाकोठामा छोरोको जन्मदिनमा टीका लगाई आशीष दिइरहेकी आमा खेलाउँदै थिइन् परेलीभित्रै हर्षका आँसु। साउने संक्रान्तिलाई सुदूर पश्चिममा हरेलो हाल्ने दिन भनिन्छ। खेतमा लटरम्म फलेको मेलको हाँगा गाडेर कामना गर्दै भन्ने गरिन्छ– गाडिएको हाँगामा जति दाना छन् त्यति नै भारी धान फलोस् भनेर। साउने संक्रान्तिकै दिन जन्मेका थिए अमरबहादुुर शाही।
जन्मदिनकै दिन मुडेगाउँका किसानका आँपले गुणस्तर अनुसारको मूल्य पाउन सकून् बढीभन्दा बढी फलफूलखेतीमा आकर्षित हुन सकून् भनेर कामना गरिरहेका थिए उनी। साउनको हरियाली जस्तै सबैको जिन्दगीमा हरियाली छाउन सकोस् भन्ने सोच बोकेका शाही विगत लामो समयदेखि समाजमा हरेलो हालिरहेका छन् परिवर्तनको, मायाप्रेम र सद्भावको अनि कर्मठ , स्वाभिमानी र परोपकारीपनको।
विगतमा आँपका बोट किनेर किसानलाई सित्तैमा बाड्दै हिँडे उनी। अनि आफूले पनि रोपे आँपका बिरुवा। तिनै आँपको प्रदर्शनी थियो कालागाडमा। स्थानीय तह, प्रमुख जिल्ला कार्यालय, सेना, प्रहरी, कृषि कार्यालयका प्रमुख विभिन्न दलका नेताहरुलगायत अन्य गन्यमान्ने व्यक्तिहरुको उपस्थितिमा करिव एक घन्टासम्म चलेको औपचारिक कार्यक्रममा आफ्ना भनाइ राख्दै थिए उनी। कार्यक्रममा भन्दै थिए उनी– शुद्ध अर्गानिक आँप बजारमा ल्याउन खोजेका हौं।
काठमाडौं पुर्याउन महङ्गो भाडा तिर्नु पर्ने हुन्छ। धनगढीसम्म पनि हामीले कम्तिमा साठी प्रतिशत आँप निर्यात गर्न सक्यौ भने यहाँका किसानलाई निकै नै राहत हुन जान्छ।
मस्त मौलानाजस्ता देखिने शाही निकै भावुक छन् उदार छन्। झण्डै चार सयको हाराहारीमा रोपेका छन् उनले फलपूmलका बिरुवा। वरिपरि बगैंचा बीचमा घर। त्यतैबाट देखिन्छ फाल हाल्दै उर्लिरहेकी सेती र त्यही सेती किनारमा धजा फर्फराइरहेका भागेश्वर सालमुनीका मन्दिर पनि।
केआईसिंह गाउँपालिकादेखिका थुप्रै मान्छेहरु देखिन्थे प्रदर्शनीस्थलमा। सबैभन्दा बढी मूल्यका आँप उनकै बारीमा फलेका छन्। ८० रुपैयादेखि ५०० रुपैया केजी सम्मका आँप फलाएका छन् उनले। संख्यात्मक रुपले हेर्दा करिव तीनसयको हाराहारीमा आएका थिए प्रदर्शनी हेर्नलाई। निकै नै उल्लास र उमङ्ग छाएको थियो मुडेगाउँ निवासी किसानको मुहारमा।
समाजमा सधै प्रसंसाका प्रात्र बनिरहे शाही। एक्लै एक्लै यात्रारत उद्यमी उनै शाहीले दश वर्ष अघि सुरु गरेका हुन गाउँमा आँपका बिरुवा बाँड्न। आज उनले बाँडेका ती आँप मुडेगाउँका ब्राण्ड बनिसकेका छन्। अनको आफ्नो व्यक्तिगत सम्पर्कका हिसावले काठमाडौंदेखि पनि केही मात्रामा अर्डर आइरहेको छ।
कुनै बेला टेबुलटेनिसका राष्ट्रिय खेलाडी समेत रहेका उनले सुदूरपश्चिमका विभिन्न ठाउँमा एक लाख बिरुवा रोपे। कहिले हेलिकप्टर बुक गरेर स्रष्टाहरुलाई रारा पुर्याए त कहिले मध्य तथा सुदूरको कला, संस्कृति र पर्यटन प्रवर्धनका लागि काठमाडौंमा मध्य तथा सुदूरपश्चिम महोत्सव मनाए।
जिन्दगीको पहिलो कमाइ गाउँकै विद्यालयमा चन्दा स्वरुप हस्तान्तरण गरेका उनले खप्तड अपि शाही शुक्लाफाँटा बर्दिया आरक्षण केन्द्रलगयत थुप्रै ठाउँमा दर्जनौ साहित्यिक, सांस्कृतिक र प्रकृतिप्रेमी मनहरुलाई भ्रमण गर्न निम्तो दिए। जे जति गरे आफ्नै कमाइले गरे। एक्लैले गरे।
मध्य तथा सुदूरपश्चिमको पर्यटन क्षेत्रमा अग्रपंक्तिमा देखापर्छन् उनी। कसैको चाकडि चाप्लुसी केही जान्दैनन्। मनैले छुट्याउछन असल र खरावहरुलाई। आफ्नो स्वभिमानमा आँच आउन नदिने एक कर्तब्यनिष्ठ, सफा दिल भएका स्वाभिमानी ब्यक्ति हुन् उनी। बिभिन्न पार्टीहरुको पृष्ठपोषणमा हुर्किरहेका विज्ञहरुको मुलुकमा कहिल्यै कुनै पार्टीको झण्डा बोकेनन् उनले।
मुडेगाउँ आँप प्रदर्शनी २०७८ डोटीका किसानका लागि नौलो हौसला प्रदान गर्ने एक प्रेरणादायी कर्म हो। कृषि क्षेत्रमा बाटो देखाउने इमानदार अगुवा पाएको दिन पनि हो।
जिल्लामा सरकारीस्तरबाट पनि बेलाबखत आँप लगायत थुप्रै किसिमका फलफूलका बिरुवा वितरण गरिएका सूचना बेलाबखत नसुनिएका हैनन्। तर, ती कस्ता छन्, त्यसको कुनै लेखाजोखा छैन्। स्थानीय सरकार आएपछि सबै पदाधिकारीका ओठमा झुण्डिएका शब्द हुन् –हामी कृषि क्षेत्रमा जोड दिन्छौं। सबैले शब्दमै जोड दिए। भाषणमै जोड दिए। देखिएनन् उपलब्धीमूलक कार्य।
प्रदर्शनीमा बीस जना किसानले उत्पादन गरेका आापहरु राखिएका थिए। शाहीको एकल प्रयासबाट छ कुइन्टल आँप काठमाडौंको बजारमा पुगिसकेका छन्। एकदुई दिनमै एक हजार केजी आँप काठमाडौंको बजारमा पठाउने योजनामा रहेका छन् उनी।
पूर्वजले कृषि कर्ममै जिन्दगी बिताएको त्यही भूभाग हो, मन राख्ने ठाउँ पनि। त्यही भूभागमा फलेका छन्। भूभागले डोर्याएको हो अमर शाहीको मन पनि। जन्मभूमिकै लागि एकोहोरो लागिपरेका शाहीको अभियान प्रसंसनीय छ। उदाहरणीय छ।
शाहीले अतिथिहरुलाई कोसेलीको रुपमा आँप दिएर पठाइरहँदा म हेरिरहेको थिए कागजी घोडा चढाएर अनुदान खान पल्केका किसान भनाउदाहरुदेखि अनुदान दिएकोमा गर्व गर्ने कतिपय सम्राटहरुका मुहार।