राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले आफ्नो पार्टी विपक्षी गठबन्धनको सरकारमा नजाने बताएकी छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त गठबन्धनको सरकारमा सहभागी हुन पटकपटक आग्रह गर्दापनि उपाध्यक्ष पौडेलले मन्त्री बन्न अस्वीकार गरेकी हुन्।
‘राष्ट्रिय जनमोर्चा लोकतन्त्र र संविधान रक्षाका लागि सधै अग्रपंक्तिमा उभिएको हो। मन्त्री बन्ने ठूलाे कुरा हाेइन। हाम्रो पार्टीको तत्कालै सरकारमा सहभागी हुने कुनै सोच छैन,’ पौडेलले भनिन्, ‘संयुक्त सरकारमा जाने वा नजाने बारे पार्टीभित्र पनि कुनै संवाद भएको छैन। आजभोलि नै मन्त्री बन्ने, सपथ लिने जनमोर्चाको योजना छैन। ’
सोमबार साँझ कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवाकाे नेतृत्वमा मंगलबार नै सरकार बनाउने निर्णय गरेको छ।
सभापति देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी थालेका छन्। दिउँसो पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सर्वोच्च अदालतले आदेश दिएको थियो।
प्रतिनिधिसभा पुनःस्थापन गर्न राष्ट्रिय जनमोर्चाले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संयुक्त सरकारमा सहभागी हुन सभापति देउवा, अध्यक्ष दाहालले अपील गरेका छन्।