माओवादी केन्द्रले भन्यो: पार्टीसँग सरोकारै नराख्ने व्यक्तिले दल दर्ता खारेजीको माग गर्नु हास्यास्पद

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रले दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदनलाई हास्यास्पद भनेको छ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्तिले निर्वाचन आयोगमा निवेदन दिएको भन्दै त्यसलाई हास्यास्पद भनेको हुन्।

‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति व्यक्ति रहेको र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै कमलामाई नगरपालिका-१० सिन्धुली घर भई हाल कागेश्वरी मनहरा नगरपालिका-७ का सरोज बुढाथोकीले बिहीबार निर्वाचन आयोगमा निवेदन दिएका थिए।

अवसरवादी, स्वार्थी र लालची तथा अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गर्ने मनसाय राखेको  माओवादी केन्द्रले जनाएको छ।

‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनसायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2021-07-09 15:51:00

प्रतिकृया दिनुहोस्