रिक्सा चलाएर दीनदुःखीको सेवा गर्ने केदारको संघर्षपूर्ण कथा (भिडियाेसहित)

को धनी, को गरिब !

कोरोना महामारीका कारण भएको ‘लकडाउन’ र निषेधाज्ञाले हरेक व्यक्तिको आर्थिक अवस्थामा यसले नराम्रो असर परेको छ। हरेक व्यक्ति कुनै न कुनै हिसाबले प्रभावित भएका छन्।

दैनिक कमाएर गुजारा चलाउने श्रमिक–रिक्सा चालकहरुको अवस्था त झनै नाजुक बनेको छ। आधुनिकताका कारण मानिसहरु रिक्सा चढ्न कम गरेका छन्, त्यसमाथि लकडाउनले गर्दा परिवारको गुजारा गर्न नै गाह्राे भएको रिक्सा चालकहरुको दुखेसो छ।

तर, रौतहटको चन्द्रनिगाहापुर बजारका रिक्साचालक केदार तिमल्सिनाको कथा अलि फरक छ। आफैँ विपन्नताको मार सहिरहेका रिक्साचालक केदार त्यसरी कमाएको पैसा खर्च गरेर समाजसेवामा लागिपरेका छन्।

करिब २१ वर्षदेखि रौतहटको चन्द्रपुर नगरपालिका (चन्द्रनिगाहापुर बजार) को सडकमा रिक्सासंगै भौतारिरहेका केदार आफ्नो समस्या झेल्दै अरु गरीब असहायको मर्म बुझ्ने गरेका छन्। रिक्सामा ग्राहक र मनमा समाजसेवाको भाव बोकेर हिँड्ने ४५ वर्षीय केदार हरेक विपद्को समयमा दुःखीको साथमा भेटिन्छन्।



रोटरी क्लबले बनाउन थाल्यो कृत्रिम खुट्टा, अपाङ्गता भएकाहरुलाई नि:शुल्क दिइँदै 

बलात्कृत बालिकालाई न्याय दिलाउनभन्दा गाउँवासीलाई वडाअध्यक्षको इज्जत नै प्यारो !



रौतहटको मुसहरबस्तीदेखि मकवानपुरको चेपाङबस्तीसम्म उनी व्यक्तिगत र दाताबाट आएको खाद्यान्न र लत्ता–कपडाबाट सहयोग गर्दै आएका छन्। अधिकांश सहयोग उनी आफ्नो व्यक्तिगत कमाइबाटै गर्नेगरेको बताउँछन्।

यस वर्षको ‘लकडाउन’ मा उनले कोठाभाडामा बस्ने ५५ जना अपाङ्ग तथा असहायलाई सहयोग गरे। रिक्साचालक केदारले आफू कमाएको बाट ३९ हजार रुपैयाँ र शितलहरको बेलामा दाताले पठाएर बचेको ५ हजार रुपैयाँ एकमुष्ठ पारी ५५ जनालाई जनही एक बोरा चामल, तीन किलो दाल, १ लिटर तेल र एक किलो मस्यौरा सोयाबिन सहयोग गरेको बताए।

गत वर्षको लकडाउनमा पनि उनले २ सय ९५ जना प्रभावित व्यक्तिका लागि सहयोग जुटाएका थिए। अब हामी सबैको मनमा एउटै प्रश्न आउछ, यस्तो विपद्को समयमा एक रिक्साचालकले कसरी यति रकम सहयोग गर्न सकेका होलान् ? तर केदार भन्छन्, ‘मनमा सहयोगी भाव हुनुपर्छ, हामी आफ्नो कमाईबाट केही रकम दिनहुँ बचत गर्नसके धेरै दीनदुःखीलाई सहयोग गर्न सक्छौँ।’

मधेशमा एक उखान छ– ‘बूंद बूंद से तलाव भरेला’ अर्थात् थोरै थोरै जम्मा गर्न सके धेरै बचत हुन्छ।

रिक्सा चलाएको कमाइबाट अरुलाई सहयोग

रिक्साचालक केदारले पनि आफ्नो कमाइबाट यसरी नै सहयोगको रकम जम्मा गर्छन्। उनले भने, ‘लकडाउनभन्दा पहिला म दिनको दुई हजारदेखि तीन हजारसम्म कमाउने गर्थें। जसमध्ये एक हजार रुपैयाँ छोराछोरीको पढाइका लागि छुट्याउथेँ, हजार रुपैयाँ समाजसेवाको लागि। बाँकी रहेको पैसाले घरखर्च चलाउथेँ। यसरी जम्मा गरेको रुपैयाँ बाढीपहिरो, शीतलहर अग्निपीडित तथा विभिन्न विपद्को मारमा परेकाहरुलाई सहयोग गर्छु।” कोरोना संक्रमणपछि केदारको इ–रिक्साबाट दिनको कमाइ दुई सयदेखि तीन सय हुने गरेको छ तर केही महिनाअघि खुलेको समयमा उनले कमाएर जम्मा गरेको रुपैयाँले अहिले ‘निषेधाज्ञा’ मा सहयोग गरेको बताए।



उपमेयरको प्रश्न– मेयरले बजेट दिँदैनन्, विकासका काम कसरी गर्ने ?

जालमा माछा परे पनि बाराका ‘मालाह’हरूको खल्ती शुन्य



उनको जीवनमा अचम्मको कुरा के छ भने उनी आफैँ ऋणमा डुब्छन् तर पनि समाजसेवा छाड्दैनन्। उनी आफैँ फाटेको लुगा लगाए पनि दाताले अरु गरिब असहायका लागि पठाएको लुगा कहिल्यै नलगाएको बताउँछन्। राहतमा आएको चामल पनि घरखर्चको लागी राख्दैनन्।

एक कठ्ठा जग्गामा उब्जाएको २ बोरा धान र बारीमा फलाएको मकै उनको घरमा देखिन्छ। अहिले ६ वर्षदेखि उनी ब्याट्रीबाट चल्ने ई–रिक्सा चलाउँदै आएका छन्। आधुनिक रिक्सा उनले अढाई लाख ऋण लिएर खरिद गरेका थिए तर बिस्तारै कमाउदै कर्जा चुक्ता भयो।

अहिले भने उनले रिक्सामा चाहिने ५ वटा ब्याट्री सहकारीबाट डेढ लाख ऋण लिएर खरीद गरेका छन्।

केदारको संघर्षको कथा

२०४५ सालमा हजुरबुवासँगै काभ्रेबाट तराई झरेका थिए– केदार।

हाल बसाइ चन्द्रपुर नगरपालिकाको वडा नं ४, कप्तान टोलमा छ। काठ र माटोले बनेको २ तल्ले घरमा उनी दोस्री पत्नी र छोराछोरीसँग बस्छन्। पहिलो विवाह उनको सुखद् रहेन।

घरको आर्थिक अवस्था कमजोर भएकाले उनी २ कक्षा मात्र पढ्न पाए। आफ्नो गुजारा गर्नका निम्ति उनले २० वर्षको उमेरदेखि पाइडल भएको रिक्सा चलाउन सुरु गरे। उनको परिवारमा कमाउने उनी एक्ला अभिभावक हुन्।



वीरगन्ज महानगरको न्यायीक समिति नै भताभुङ्ग, संयोजक कार्की भन्छिन्-चाहिँदैन न्यायीक समिति

मधेसमा न्यायिक समिति: राष्ट्रकाे ढुकुटीमा जनप्रतिनिधि मस्त, काम कारवाही छरपस्ट !



आफूले भोगेको दुःख सम्झदै केदारले भने, ‘आफूजस्तै छोराछोरीले रिक्सा चलाएर खान नपरोस् भनेर दुःख गरेर भए पनि उनीहरुको पढाइमा कुनै कमी हुन दिन्न।’

रिक्साचालकसँगै समाजसेवामा प्रवेश गर्नुको श्रेय उनी सामाजिक सञ्जाललाई दिन्छन्। ‘फेसबुक’ बाट सहयोग जुटाएर उनी पहिलो पटक समाजसेवामा लागेका थिए।

करिब डेढ दशकदेखि तिमल्सिना समाजसेवामा छन्। उनले रिक्सा चलाएरै आफ्नो परिवार पाल्नुका साथै समाजसेवा पनि त्यही आम्दानीबाटै खर्च गर्दै आएका छन्।

सञ्चारकर्मीको साथ

२०६४ साल पुस तिरेको कुरा उनी सुनाउँछन्। रौतहटमा सामुदायिक ‘रेडियो नुनथर’ नयाँ सञ्चालनमा आएको थियो जसका नियमित श्रोता थिए– केदार। रेडियोका कर्मचारी रिक्सामा बोकेर स्टेसनसम्म पुर्‍याउने उनको जिम्मेवारी थियो।

सोही क्रममा कार्यक्रममा सहभागिता जनाउन प्रस्तोताहरुले नै उनको ‘फेसबुक आईडी’ खोलिदिए। त्यस बेला तराईमा कोही सहयोगी नभएको उनले बताए, ‘एक दिन मैले मुसहरबस्तीमा रातभरि पराल बालेर बसेको एक परिवारलाई देखेँ। पराल बालेर शीतलहरमा शरीरलाई न्यानो बनाउँदै गरेको फोटो मैले आफूसँग भएको सानो क्यामेरावाला मोबाइलमा खिचेँ र अपलोड गरेँ।’

फोटो अपलोड गरेको तीन दिनपछि काठमाडौंका विष्णुप्रसाद गौतमले हेरेछन्। उनले केदारसँग सम्पर्क गरे। गौतमले काठमाडौंबाट तराईमा शीतलहरका लागि ‘न्यानो सहयोग अभियान’ का लागि २८ सय थान कम्बल पठाइदिए। त्यसपछि तिमल्सेनाले आफ्नो रिक्सामा राखेर ती कम्बलहरु पराल बालेर रात काट्ने बस्तीमा बाँडे।

पहिलो राहत मुसहर बस्तीलाई

केदार भोलिपल्ट फेरि गए– मुसहर बस्तीमा तर कसैले पनि पराल बालेको देखेनन्।

उनले भने, ‘सबै जनालाई मज्जाले कम्बल ओढेर सुतेको देख्दा आनन्द आयो। सबले भन्न थाले– ओहो ! पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको क्षेत्रमा एक रिक्साचालकले गज्जबको समाजसेवा गर्दैछन्।’

यसलाई सञ्चारमाध्यमले प्राथमिकता दिए। फेसबुकमा पनि उनको एक दिनमै १ हजार जना नयाँ साथी बने। यसरी एक रिक्साचालक भएर पनि गरीब दुःखीको सहयोगमा जुटेको समाचारले उनलाई समाजसेवीको रुपमा चर्चित बनायो।

आफ्नो सिको गर्दै अहिले धेरै समाजसेवी जन्मेको उनले खुशी हुँदै सुनाए। उनले बाँडेका ज्याकेट लगाएर विदेश पुगेका युवाले अहिले आफ्नो कमाइबाट केही हिस्सा समाजसेवाका लागि पठाउने गरेको पनि उनले सुनाए।

नेताको सहयोग कार्यकर्तामा !

केदारको प्रयासलाई बिस्तारै सबैले साथ दिन थाले। सहयोगको पनि ताँती लाग्न थाल्यो। स्कुले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई चाहिने न्यानो कपडा अन्य जिल्लाबाट सहयोगीहरुले पठाउन थाले।

उनलाई एक्लै सामान बाँड्न हम्मे–हम्मे पर्‍यो। अनी आफ्नै रिक्सामा २/४ बोरा कपडा राखेर स्थानीय संचारकर्मीको रोहबरमा बाँड्न सुरु गरे। पछि समचारकै आधारमा एक ट्रक कपडा राहतका लागि आएको उनले जानकारी दिए।

उनले त्यसपछि लगातार तीन वर्षसम्म वडा नं ५ को सुन्दरबस्तीमा रहेका गरीब परिवारमा न्यानो कपडा बाँडे। सन्तपुरलगायत अन्य मुसहर बस्तीमा पनि दाताहरुले पठाइदिएको कपडा बाँडेका छन्।

उनलाई अचम्म लागेको एक घटना दुखित् हुँदै सुनाए, ‘त्यही ठाउँमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जम्मा ५० वटा कम्बल लिएर गए र त्यो पनि आफ्ना कार्यकर्तालाई मात्र बाँडे।’

रिक्साचालक केदारले तराईमा मात्र हैन, विपद्को समयमा पहाडमा समेत सहयोग गर्दै आएका छन्। कतिपय ठाउँमा सरकारले दिने राहतमा नागरिकता माग्ने गरेकाले नागरिकताबिहीन मान्छेलाई आफूले सहयोग दिने गरेको उनले बताए।



 

खुल्ला आकाशलाई छाना बनाएका बालकको फेरिएकाे जीवन

चरित्रहिन र बोक्सीको आरोपमा कपाल काटी कालोमोसो दलेर एकल महिलालाई पेटिकोटमा पुरै गाउँ घुमाइयो 



उनले भने, ‘मैलै सरकारलाई सघाएको हो, यहाँ गरीबलाई एक बोरा चामल दिँदा ५० जना मान्छे जम्मा गरिने चलन छ तर मैले देखावटी प्रचारका लागि काम गरिनँ।’

केदारको सुत्ने कोठामा धेरै संघ–संस्थाले सम्मानित गरेका तस्बिरहरु छन्। धेरै कलाकारले मायाको चिनोसमेत प्रदान गरेका छन्। 

प्रकाशित मिति: : 2021-07-07 14:16:00

प्रतिकृया दिनुहोस्