बाराका ‘मालाह’हरूको कथाः
‘माछा मार्नु नै हाम्रो मुख्य पेशा हो, लकडाउनले गर्दा सोचे जस्तो माछाको बिक्रि छैन, एक किलो माछा १ सयदेखि २ सयसम्म गाउँघरकै ग्राहकहरुसँग बेच्छौ, मिहिनेत गरे अनुसार पैसा आउदैन।’
यो भनाइ हो– बाराको भुताहा खोला किनारमा माछाको पर्खाइमा बसेका वृद्ध मालाह मनिप सहनीको। उनी यो पेशामा ४० वर्षदेखि सक्रिय छन्। विश्वव्यापी महामारी बनेको कोरोनाका कारण सबैको व्यापार–व्यवसाय चाैपट छ। यसमा सबैभन्दा ठूलो मार उनले नै खेपिरहेका छन्। यस वर्ष ‘लकडाउन’ का कारण उनले माछा अनुसारको दाम पाउन सकेका छैनन्। सहनी भन्छन्, ‘१६ वर्षको उमेरदेखि माछा मार्ने काम गर्दैआइरहेको छु। लकडाउनले गर्दा होला माछा अनुसारको दाम पाउन सकेका छैनौं।’
उनको परिवारमा १२ जना सदस्य छन तर कमाउने उनी एक्लै हुन्। अहिले कोरोनाको संकटका कारण कमाई राम्रो नहुँदा परिवार पाल्न गाह्रो परिरहेको छ।
बारा जिल्लाको सदरमुकाम कलैयादेखी पूर्व ८ किलोमिटरको दूरीमा भुताहा खोला पर्दछ। त्यहाँ यतिबेला मालाहहरूको ठूलो झुण्ड देखिन्छ। करिब ४० देखी ५० जनाको समूह हरेक दिन माछा मार्न व्यस्त हुने गर्छन। उनीहरूलाई न कोरोनाको डर छ, न कुनै समाजिक दुरीको पालना नै गरेका छन्। उनीहरुको ध्यान खोलामा फालेको जालो र त्यसमा परेको माछामा मात्र सिमित छ।
यहाँ जति धेरै मानिस खोलामा माछा मार्न व्यस्त देखिन्छन्, उनीहरूका नाबालक छोराछोरीहरू माछा समात्न पाउँदा रमाइलो मानिरहेका भेटिए।
साना केटाकेटीहरू पूर्खादेखि चलिआएको माछामार्ने कला आफ्ना अग्रजबाट सिकिरहेका थिए। परापूर्वकालदेखी पेसागत रुपमा लागेका मालाहहरू माछा मार्ने कलामा पारंगत हुन्छन्। आधुनिक कालमा पनि उनीहरूको माछामार्ने कला बदलिएको छैन। अहिले पनि ठूलो जालोमा उनीहरू माछा फसाउन दिमाग चलाइरहेका हुन्छन्।
तराई–मधेशमा केहि दिनदेखि अविरल पानी परेको छ। जसले गर्दा खोलामा पानीको बहाव बढेको छ। यो अवस्था कुनै पनि मालाहका लागि पैसा कमाउने राम्रो अवसर हो। खोलामा पानीको बहाव बढ्दा माछाहरू पनि माथि तैरिने गर्छन।
यो अवसरको फाइदा उठाउन बाराको बरियारपुर क्षेत्र आसपासका मालाहहरू एकाबिहान जालो र माछा समाउने भाडो लिएर भुताहा खोला नजिक आइपुगिसक्छन्। माछा मार्ने प्रकृया दिउँसोसम्म चल्छ।
सबै जनाले दिनमा ३ देखी ५ किलोसम्म माछा मारेर भाडामा थुपार्ने गरेका छन्। तर, ‘लकडाउन’ ले गर्दा माछाको बिक्रि बितरण राम्रोसँग हुन सकिरहेको छैन। यहाँ बाहिरबाट आउने ग्राहकको अवागमन ठप्प जस्तै छ। त्यसैले सोचे जस्तो आम्दानी नहुँदा सबै मालाह चिन्तित छन्।
गाउँका युवा पञ्चलाल सहनी भन्छन्, ‘खोलामा पटेया, नैनी , रोहुँ, बिग्रेड सिल्भर प्रजातिका ठूला साना सबै माछा पाइन्छ।’ उनी बुवासँगै माछा मार्ने कला सिकिरहेका छन्। उनका अनुसार किलो को ५०० भन्दा माथि बिक्ने माछा पनि अहिल सय रुपैयाँमा बेच्नु परेको छ। लकडाउनले मानिसहरु भने जस्तो दाम दिन नखोज्ने उनको गुनासो छ।
३० बर्षदेखि माछा मार्ने काम गर्दै आएका बन्सी सहनी खोला किनारमा बसेर हतारहतार माछा समात्ने जालो सिउँदै छन्। खोलोको माछा एक ठाउँमै नबस्ने भएकाले उनी यो अवसर गुमाउन चाहँदैनन् । उनी बरियारपुरदेखि नजिकै गाउँ पत्रहटिबाट माछा मार्न आएको सुनाउँछन्।
उनी भन्छन्– ‘परिवारमा ८ जना सदस्य छन्, मैले मारेको माछा बेचेर आएको पैसाले घर खर्च चल्छ। ग्राहक भेटाए दिनको ४ सय देखी ५ सय जति कमाउने गर्छु। नआए समातेको माछा घरमै पकाएर खान्छौ।’ खोलाबाट मारेको माछा बेच्नका लागी बन्सी कहिले कलैया बजार पुग्छन् त कहिले बरियारपुर बजार। यि बजार बारा जिल्लाका मुख्य बजार अन्तर्गत पर्छ।
कारोनोको महामारीको समयमा विश्व स्वास्थ्य संगठन तथा स्थानीय प्रशासनले मास्क लगाउन र सामाजिक दूरीको पालना गर्न निर्देशन जारी गरेको छ। तर समुहमा माछा मारिरहेका कुनै पनि मालाहले मुखमा मास्क लगाएका छैनन्। उनीहरूले सामाजिक दुरीको पालना पनि गरेका छैनन्।
महामारीको समयमा आफूलाई किन सुरक्षित नराखेको प्रश्नमा मनिप सहनी भन्छन्, ‘मास्क लगाएर खोला भित्र कसरी जाने? मास्क भिज्ने भएकाले लगाउँदैनौ। हामी गरिब मान्छे यति सोचे भने कसरी कमाएर खाने?’
माछा हामी सर्वसाधारणका लागि पोषिलो आहार हो। तर मालाहका लागि जिविकोपार्जनको प्रमुख आय श्रोत हो। बारा जिल्लालाई ‘माछा जोन’ को रुपमा चिनिन्छ। यहाँका अधिकाशं पोखरीमा माछा पालन भएको देखिन्छ। जसकारण यस जिल्लाका मालाहहरू आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन्। तर ६ महिनाको लकडाउन र निषेधाज्ञाले उनीहरुको व्यापारमा असर परेको छ।