‘बेटिबहिनको र गरिबको कुनै इज्जत छैन यस गाउँमा। बलात्कारको मुद्धा मिलाउन डेढलाख रुपैयाँ दिँदैछन्। लिन नमाने हामीलाई दिनहुँ आएर ज्यानमार्ने धम्कि दिन्छन्,’ बलात्कत बालिका आमा सुनैनादेवी (नाम परिवर्तन)को भनाइ हो यो।
बाराको सुवर्ण गाउँपालिका ५ मा यहि असोज १ गते राति ८ बजे औरैयाकी १२ वर्षीय बालिका (रेहना खातुन नाम परिवर्तन) बलात्कृत भइन्। उनलाई गाउँघरकै काका पर्ने शिवपुजन यादवले गरेका हुन् बलात्कार।
घटना भएको दिन बालिकालाई उनका बुवा (साजिद नाम परिवर्तन)ले भाइलाई खाना खान बोलाउन पठाएका थिए। त्यही बेला बाटैमा शिवपुजनले बालिकाको हात पछाडिबाट समाएर सलले मुख थुने।
रेहनाले प्रतिकार गर्न सकेनन् र नजिकै रहेको लालबाबु भन्ने आफन्तको घरमा लगे। शिवपुजनले बालिकामाथि बलात्कार गर्न थाले। कसोकसो रेहनाको मुखमा बाँधिएको सल फुस्कियो र उनी चिच्याइन्।
चिच्याएको सुनेर गाउँकै कृष्ण यादव भन्ने व्यक्ति पुगेका थिए घटनास्थलमा। उनले त्यहाँ पुगेपछि बालिकाको हात समाएर दोषीलाई भगाए। उद्धार गर्न पुगेका कृष्णले चिच्याएको भन्दै उल्टै पीडितमाथि हातपात समेत गरेको बलात्कृत रेहनाको भनाइ छ।
‘बलात्कार गर्ने गाउँका चाचा पर्छन, राति भाइलाई खाना खान बोलाउन जाँदा उहाँले सल मुखमा कोचेर बलत्कार गर्नुभयो,’ बिएल नेपाली सेवासँग भने,‘ म रोइकराइ गरे, तर मलाई छाडेनन् र उल्टै कुटपिट गरे।’
बलात्कारको घटना आफैँमा दर्दनाक हो। रेहना यो घटना सम्झिन पनि खाेज्दिनन्। जतिपटक सम्झिन खोज्छन् त्यतिखेर उनका आँखाबाट आँशुका थोपा खस्न थाल्छन्। उनी बाहिरको व्यक्ति देख्ने वितिकै तर्सिन्छिन्। उनको मानसिक आवस्थामा गहिरो चोट पुगेको छ।
बलात्कारको घटना आफैँमा दर्दनाक हुन्छ। यसलाई लुकाइछिपाइ राख्न मिल्दैन। तर, औरैया गाउँमा बलात्कार र महिलामाथि हुने यौन दुर्व्यवहारका काहालिलाग्दो घटना लुकाइछिपाइ राखिन्छ। गाउँघरका हुनेखाने र ठूलो जातिका डरले यस्ता घटना हतपत बाहिर आउँदैनन्। जति सकिन्छ पैसाको दम्भमा लुकाउने गरिन्छ।
तर, यसपटकको घटना परिवारले बाहिर ल्याउने कोशिस गरे। महिलामाथि हुने दुर्व्यवहार अतिनै बढेपछि बालिकाको परिवारले खुलेर न्यायको लागि आवाज उठाउदैछन्। उनीहरुको साथमा केही त छैनन् तर छोरीले न्याय पाउने कुरामा सुनैनादेवि ढुक्क थिइन्।
यसैक्रममा केही सहयोग मिल्ला कि भनेर उनी पुगिन् वडाअध्यक्ष रामएकवाल साह काहाँ। उनले घटनाको बेलिविस्तार लगाइन्। सबै घटना सुनेपछि उनले न्याय दिने वचन पनि दिए।
तर, त्यो वचन धेरैबेर टिक्न सकेन। वडाअध्यक्षको घरमा पुगेर आएको दिनदेखि नै पीडक पक्षको घरमा डर धम्कि दिन दिनहुँ हुल बाँधेर आउने गरेका छन् गाउँले।
बलात्कृत बालिकाकी आमाका अनुसार राति शिवपुजनका आफन्त तथा गाउँका केही व्यक्तिहरु आएर ज्यानमार्ने समेत धम्कि दिने गरेका छन्।
‘राति केही व्यक्ति घरमा आउछन्। जतिसकिन्छ मिलै भन्छन्। हामीले नमिल्ने भनेपछि मार्छौं समेत भने। गाउँघरका अगुवा तथा पञ्चहरुले डेढ लाख रुपैयाँ लिएर मिलापत्र गर्न दबाब दिरहेका पनि छन्। धम्कि दिन थालेपछि डरले रातिभर सुत्नपनि सकेका छैनौं,’ सुनैनादेवीले भने।
पीडित बालिकाको बुवा साजिदले टाङ्गा चलाउछन्। कोरोना महामारीको समय र लकडाउनका कारण खान नपाएर काखे बालक गुमाएको पीडा छ उनीमा। त्यसमाथि नाबालक छोरीको बलत्कारीलाई सजाय दिनुभन्दा घटनालाई सामसुम पार्न गाउँलेले रचेको नयाँ ‘प्रोपोगाण्डा।
टाङ्गा लिएर बाहिर कमाउन जाँदा परिवार र छोरी चिन्ताले सताउने गरेको साजिद सुनाउछन्।
‘कमाउन बाहिर जानुपर्ने बाध्यता छ। त्यही समयम कसैले परिवारमाथि केही गर्दिने पो हो की भनेर काममा मन लाग्दैन। कतिखेर घर फर्कियौं भन्ने लाग्छ। तर, पारिवारिक स्थिति हेरर रितो हात फर्किन पनि मनले मान्दैन,’ उनी भन्छन्।
हुन त छिमेकीलाई ‘पर्दाको जन्ति र मर्दाको मलामी’ भनिन्छ। पीडित परिवारको पीडामा न्यायको मल्हम लगाउने काम गाउँवासी हो। तर, औरइया गाउँमा यो उखान एक उखानमै सिमित छ।
उनीहरु गाउँकै पञ्च (वडा अध्यक्ष)को रोहबरमा बलात्कार जस्ताे जघंन्य अपराध सामान्य मेलमिलापकाे भरमा मिलाउन लागिपरेका छन्।
यस विषयमा सोधपुछ गर्दा स्थानीवासीले पीडित वर्गलाई अगाडि नै डरत्रास देखाएर घटनाको ढाकछोप गरिदिने गरेको स्थानीय युवक विनोद यादवले बिएल नेपाली सेवालाई बताए।
‘बलत्कार गरेको हो वा होइन प्रमाणित गर्ने त कानुनी प्रकृयाले होला। तर, आरोप नै लगाउदा अहिले गाउँका हुने खाने व्यक्तिहरुले वडाअध्यक्षको इज्जत गयो भन्दै पीडितलाई नै धम्काउन सुरु गरेका छन्,’ उनले भने।
घटनास्थलमा हामी पुग्दा वडाअध्यक्ष पक्षका व्यक्तिहरुले किन पीडितको घरमा गएर सोधपुछ गरेको भन्दै विरोध समेत गरे।
‘गाउँघरको इज्जत जान्छ’ भन्दै यस्तो खबर समाचार नबनाइदिन मलगायत मेरै अगाडी पीडित पक्षलाई थर्काउन थाले।
बालिका संवयमले न्यायको लागि गुहार लगाएर सञ्चारकर्मी पुग्दासमेत उनीहरुलाई डर छैन। गाउँले कसरी घटना ढाकछोप पर्ने भन्नेतर्फ लागिपरेका छन्।
यो सबै नजिकैबाट देखेकोले मलाई अझै जान्न मन लाग्यो। मैले सुनैनादेवीलाई नै यो घटनासँगै अर्को घटनाको बारेमा पनि सोधै। उनले भनिन्न,‘औरइया गाउँको यो पहिलो घटना पनि होइन। यहाँ यसअघि पनि यस्ता बलत्कारका घटना भएको थियो। ६ महिना अगाडि पनि बलत्कारको घटना घटाइएको हो। तर, गाउँको इज्जत जान्छ भनेर पैसाले ढाकछोप गरेर घटनालाई नै रफादफा गरियो। यसपटक पनि सोही नजिरलाई गाउँलेहरुले दोहर्याउन खोजेका छन्।
उनीहरुले पीडित पक्षलाई पैसाको दम्भ देखाएर बलत्कारको घटना ढाकछोप गर्न खोजेको कुरा मैले जिल्ला प्रहरी कार्यालय, बारामा बताएँ।
एक उच्च प्रहरी अधिकृतले बलात्कारविरुद्धको अभियोगमा मुद्दा दर्ता भइसकेको बताए।
यद्यपी सुस्त गतिमा प्रहरीले अनुसन्धान थालेको पीडित पक्षको गुनासो छ। दिनहुँ आफूलाई धाकधम्कि समेत आउन थालेको र दोषी भागेको कारण यथासिघ्र कारवाहीको दायरामा ल्याउनुपर्ने उनीहरुको माग छ। तर, प्रहरी अनुसन्धानबाट पन्छिन खोज्दा थप पीडा सहनु परेको बालिकाको बुवाको भनाइ छ।