हाँस्नु, रमाउनु, खेल्नु, अभिभावकको माया पाउनु, सुरक्षित हुनु र शिक्षकबाट ज्ञान पाउनु यी सबै बालबालिकाले पाउनुपर्ने जन्मसिद्ध अधिकार हुन्। तर सडकमा जीवन बिताउने बालकहरू यी सबै कुराबाट बञ्चित हुन्छन्।
कतिपय बालबालिकालाई विभिन्न संघ संस्थाबाट उद्दार गरिँदा उज्जवल भविश्य बनाएका छन्। कैयौं बालबालिका सडकमै जीवन बिताएर गलत बाटो तर्फ लाग्छन्।
‘भनिन्छ साना बालबालिका गिलो माटो जस्तै हुन्,’ उनीहरूलाई सही समयमा सानै उमेरदेखि जस्तो आकार दिन सकियो भविष्य पनि सोहि अनुरुप निर्माण हुन्छ। बाल दिवसको अवसरमा लेखिएको यस आलेखमा सडक जीवन बिताउने ३ ठूला शहरका केही बालकहरूको कथा र उनीहरुको जीवनमा आएको सकारात्मक परिवर्तलाई समेटेका छौं।
हामी वीरगञ्ज शहरभन्दा करिब ७ किलोमिटर उत्तर परवानीपुरस्थित एक बालगृहमा पुग्यौं। बाल बालिकाहरू खेल्दै र रमाउँदै थिए। ‘आवर संसार बालगृह’ जहाँ सडक बालबालिकाको सुन्दर भविष्य निर्माण भइरहेको देख्न सकिन्थ्यो। कुनै समय बटुवासँग मागेर अथवा चोरी गरेर एक छाक खाने कलिला हातहरू अहिले शिक्षाको सुनौलो अक्षरले आफ्नो सुन्दर भविष्य कोर्न थालेका छन्।
शहर बजारको दुर्गन्धित सडक किनारमा खुल्ला आकाशलाई छाना बनाएर जुनतारा हेरि एक्लोपनमा रात बिताउने उनीहरू अहिले सुन्दर भविष्यको कल्पना गर्दैछन्।
काेही शिक्षक बनेर समाजमा चेतना छर्न चाहन्छन् भने कोही खाना पकाउने सेफ बन्न चाहन्छ। कोइ समाजमा प्रतिष्ठित व्यक्ति बन्न चाहन्छन् भने एक १३ वर्षिय बालक सुशील मण्डल (परिवर्तित नाम) आर्मी बनेर नेपाल आमाको रक्षा गर्ने सपना देखेका छन्।
जन्मदिने आमाको मायाबाट बञ्चित रहेका सुशीललाई ‘तिमी देशको रक्षा किन गर्न चाहन्छौ’? भनि प्रश्न गर्दा उनी गर्वका साथ भन्छन्, ‘यो देश मेरो भगवान हो, म यहीँ देशमा जन्मेको छु। यो मेरो मतृभूमी हो र मैले यस देशको रक्षा दायित्व हो।’
ती कलिला बालक जो आमाबुवा र समाजबाट तिरस्कृत भए पनि आज उनको मुखबाट देश प्रतिको माया हेरेर मेरो मन भावविभोर भयो। उनलाई नेपाल आर्मीका जवानसँग भेट्ने ठूलो सपना छ। आर्मीसँग भेट्ने कुरा गर्दा उनी खुसीले दङ्ग पर्छन् र अतितका दुःख विर्सेर मिठो मुस्कान छोड्छन्।
सुशीलको जीवनको विगत पल
बाल गृहमा आउनु पूर्व उनको जिवन निकै कष्टकर रह्यो। विराटनगरको वरगाछी चोकमा जन्मिएका सुशील आफ्नै अभिभावकबाटै पीडित बालक हुन्।
४ वर्षअघि बालगृह पुगेका सुशील ८ वर्षको कलिलो उमेरमा साथीको संगतमा भारतको बिहार राज्यस्थित समस्तिपुर पुगेको बताउँछन्।
‘झाँगरटोलका २ जना साथीले घुम्न जाउँ भन्दै इन्डिया लगे। तर म उतै हराएँ। म रेलमा बसेको थिएँ साथीहरूले छोडेर कता गए थाहै पाइनँ’, उनले भने, ‘म एक्लो सडकमा भौतारिरहेपछि केही संस्थाका अंकलहरूले मलाई वीरगञ्ज लिएर आएँ।’
सुशीलका बुवाको मृत्यु भइसकेको छ। उनको बुवा प्रकाश तामाङ विराटनगरमा अटो चलाउँथे। बुवाको मृत्युपछि आमाले मण्डल थरका पुरूषसँग दोस्रो विवाह गरिन्।
भारतमा हराएपछि उनलाई त्यहीँको एक संस्थाले केही समय बालगृहमा राख्यो। वीरगञ्ज नाका बिहारका हरेक राज्यसँग जोडिने भएकाले ती संस्थाका व्यक्तिले उनलाई वीरगञ्जको आवर संसार बालगृहमा पुर्याए। केही समय सुशील बालगृह मै बसेपछि संस्थाले घरपरिवारको खोजि गरेर उनलाई विराटनगरमा अभिभावकको जिम्मा लगायो।
तर उनका सौतैनी बाबुले दिनहुँ रक्सी खाएर कुटपिट गर्नुका साथै गालीगलौज गर्न थाले। तर उनकी जन्मदिने आमाले उनको बचाउका लागि केही गर्न सक्दैन थिइन्। उनका अभिभावकले नै कुटपिट गर्दै सुशीललाई अरूको घरमा काम गर्न लगाएपछि उनी फेरि फर्केर एक्लै वीरगञ्ज आइपुगे।
बुबाले दिनहुँ पिटे पनि आमाले कहिल्यै छोरालाई किन कुटेको भनेर विरोध गर्न सकिनन्। यो कुरा उनको बालमनमा आज पनि खट्किन्छ। किनकि एक बालकको लागि उनको आमा नै सर्वश्व हुन्छिन्।
तर दोस्रो विहे गरेकी उनकी आमाले चाहेर पनि उनका लागि केही गर्न सक्ने अवस्था नरहेको संस्थाका प्रमुख मुकेश साहले बताए।
सुशीललाई आज अभिभावकको कमि महशुस भए पनि संस्थाले दिएको जीवनदेखि उनी दंग छन्। उनमा अब देशप्रति केही गर्ने चाह बढ्दै गएको छ।
अहिले उनी वीरगञ्जकै एउटा निजी विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन्। पढ्नमा मिहेनति र कक्षामा तेज विद्यार्थी भएकाले उनी प्रत्येक एक कक्षा पार गर्दै गएका छन्। गत वर्ष कक्षामा उनको रोल नं.३१ भए पनि यस वर्ष उनी टपटेनमा परे।
सुशील मज्जाले अंग्रेजी बोल्छन्। उनी एक साहसी बालक भए पनि आफू जस्तो दुःखी कोइ बालबालिका नहोस् भन्ने चाहन्छन्। सही समयमा उनलाई सही मार्ग निर्देशन भएकै कारण आज उनी शिक्षाको प्रकाशले आफ्नो उज्जवल भविष्य बनाउन लागिपरेका छन्।
सडकबाट संस्थामा आएका थुप्रै बालबालिका अतित विर्सेर वर्तमानमा रमाउँदैछन्। एकसाथ रमाइरहेका ती बालबालिका बगैंचाका फूल जस्तै देखिन्थे तर सबको हाँसो एक भए पनि विगतका दुःख पीडा फरक फरक छ। सुशील जस्तै यही संस्थाका शंकर साह (परिवर्तित नाम)को कथा पनि उस्तै छ।
शंकरको कथा
कुनै बेला एकछाक खान चोरी गर्ने शंकर अब समाजमा प्रतिष्ठित व्यक्ति बन्न चाहन्छन्।
वीरगञ्ज महानगरपालिका वडा नं. ३२ बेल्वाका १४ वर्षिय शंकर अहिले आफूले चोरी गरेको घटना सम्झेर लजाउँछन्। उनलाई अहिले थाहा भयो-चोरी गर्नु गलत हो भन्ने थाहा भयो। ‘भोक लागेको बेला कसैले खाने पैसा नदिएपछि चोरी गर्थेँ , उनले विगत सुनाए।
करिब ८ वर्षको हुदाँ हजुरबुवा बिते त्यसलगत्तै बुवाको पनि क्यान्सर रोगबाट मृत्यु भयो। घरको आर्थिक अवस्था कमजोर भएकोल आमासहित दुवै दाजु भाइ बेल्वा गाउँबाट वीरगञ्ज तर्फ लागे।
बाराको प्रसौनीमा उनको मामल हो।तर हजुरआमा र सानीआमा वीरगञ्जकै रानीघाटमा बस्थे। आमासँगै ती बालक हजुरआमाको घरमा बस्न थाले।
बुबा बिनाका दुई बालक आमाकै साहरामा बस्दै आएका थिए। तर एक दिन आमाले पनि दोस्रो बिहे गरेर गएपछि उनीहरु बिचल्लीमा परे।
हजुरआमा पनि बुढी भइसकेकी थिइन्। केही समयपछि उनको पनि मृत्यु भएकाले उनीहरू सडकमा आइपुगे। कुनै आफन्तले उनीहरूलाई साहरा दिएनन्।
अभिभावक बिहिन दुवै बालक पेट पाल्नका लागि कहिले सडकमा प्लाष्टिक टिप्थे भने कहिले दिनभरी वीरगञ्ज बजारमा मागेर खान्थे। रातपरेपछि घण्टाघरको पार्क भित्र लुकेर सुत्थे।
समय बित्दै गयो र एकदिन दाइ विजयले भाइलाई एक्लै छोडेर सिमा पारी भारततिर लागे। सानो भाइ शंकर वीरगञ्जको गल्लीमा कतिदिन दाजुलाई खोज्दै हिँडे। तर दाजु भेट्नुको साटो नराम्रो संगततिर लागे। चोरी गरेर पेट पाल्ने उपाय निकाले।
‘दुई तीन जना साथीहरू मिलेर रानीघाटमा रक्सी खाएर सुतेको मान्छेको पर्स चोरेपछि प्रहरीले थाहा पाएर हामीलाई थुनामा समेत राख्यो’ उनले विगत सम्झिए।
यसरी चोरीमा समातिएका शंकरलाई पर्सा प्रहरीले नै आवर संसार बाल गृहमा ल्याएर छोडेको हो।
चोरी आरोपमा पक्राउ परेर सडकबाट संस्थामा आएका शंकर अहिले कक्षा ७ मा पढ्दैछन्। पढाईमा मिहेनती उनी चलाख भएकाले कक्षा बढाएर पढिरहेको संस्थाका प्रमुख मुकेश साहले बताए।
साहका अनुसार शंकरमा छोटो समयमै अदभूत क्षमता र परिवर्तन देखिएको छ।
‘शंकरमा, पेन्टिङ गर्ने कला र नेतृत्व गर्ने गज्जबको क्षमता छ।हरेक वर्ष कक्षा पार गरे पनि उनी दोस्रो श्रेणीमै पास हुन्छन्,’ साहले भने।
संस्थाले उनको दाइ र आमालाई खोजेर अहिले दुवैको जन्मदर्ता बनाइदिएको छ। दाई विजय पहिले भारतको बैंलोर गए पनि अहिले वीरगञ्जमै सानोतिनो काम गरेर गुजारा चलाइरहेका छन्।
सुमितको कथा
सडक बालबालिका मध्ये अर्का एक बालक हुन् सुमित (नाम परिवर्तित) । उनी सडकबाट बालगृहमा बसेको ६ वर्ष भयो। लेखपढ गर्न नजान्ने सुमित अहिले अवसरको उचितसदुपयोग गर्दैछन्।
सडकमै आमासँग गुजारा गर्ने बालक अन्तिम समयमा आमाको मुख हेर्न नपाएको बताउँछन्। सुमितको जन्म काठमाडौंमा भयो उनका अभिभावक रत्पपार्क छेउमा बस्थे। बुवासँग दिनहुँको झगडाले उनकी आमा आजित भएर जेठी छोरीको घर हेटौडा आएर बस्न थालिन्।
तर छोरीको घरमा बस्नसक्ने अवस्था नभएपछि सुमित र उनकी आमा वीरगञ्ज आएका हुन्। उनीहरू दुबै मागेर भोक मेटाउँदै आएका थिए।
‘हामी वीरगञ्जका सडकमा दुई वर्षसम्म बस्यौं। खै आमाले कहाँबाट हो खानेकुरा मागेर ल्याउनु हुन्थ्यो र हामीले खान्थ्यौं केही थाहा छैन’, उनले भने।
संस्थाका प्रमुख साहका अनुसार उनकी आमाले ५० वर्षको उमेरसम्म ३ पटक विवाह गर्दा पनि वैवाहिक सुख पाउन सकिनन्। जिवनको भोगाइ र पीडाले उनी अधिक मदिरा सेवन गर्ने गर्थिन् जसकारण उनको शरीर रोगको सिकार भइसकेको थियो। मानसिक रुपमा पनि उनी अस्वस्थ्य थिइन्। शारीरिक रुपमा असक्त सुमितकि आमा एकठाउँमै थला परेपछि वीरगञ्ज पानमण्डिका स्थानीयले बालकको देखभालको लागि संस्थाको जिम्मा लगाएका थिए
सुमित बालगृहमा आएको एक महिना पछि उनको आमाको सडकमै मृत्यु भयो।
कुनै बेला सडकमा खान नपाएर भौतारिरहेका सुमित भविष्यमा ठूला होटेलमा खाना पकाउने सेफ बन्न चाहन्छन्। पढाइबाट बचेको समयमा उनी यूट्यूवमा विभिन्न खानाका रेसिपीहरू हेर्न छुटाउँदैनन्। सुमितलाई हस्तकलाको पनि राम्रो ज्ञान छ।
अभिभावकविहिन बालबालिकाको मनमा आमाबुवा साथ नपाएको पीडा उनीहरुले जति लुकाउने प्रयास गरे पनि ती रसिला आखाँले झल्किन्थ्यो। आखाँ पनि किन नरसाउनु आमाको न्यानो काख र बुवाको स्नेहबाट बञ्चित हुदाँको पीडा अतितका घाउ बनेर बेला बेलामा बल्झिन्छ होला। तर आवर संसार बालगृहमा आउनु पूर्व ती बालबालिकाले आफ्नो जीवनमा यति धेरै पीडादायी अवस्था पार गरेका छन् आज त्यो एकलोपनको सर्घषले उनीहरुको आत्मविश्वास अरू भन्दा अब्बल छ।
परिवार, अभिभावक र समाजको मायाँ नपाएका ती सडक बालबालिका अब जीवनमा त्यही समाजको लागि केही गरेर देखाउने चाह राख्छन्। यी बालकको जीवनबाट यति बुझ्न सकिन्छ -अवसर पाए हरेक बालकले आफ्नो प्रतिभालाई देखाउन सक्छन् यसप्रति अभिभावक, राज्य र सरोकारवाला निकायले भूमिका खेल्नुपर्छ।
बालदिवसको शुभकामना।