रूपा, बरु मर्न तयार हुनू, नझुक्नू

शिलापत्र

काठमाडौँ

खगेन्द्र संग्राैला

सरस्वती प्रधानलाई कोठा भाडामा लगाउनु थियो, रूपा सुनारलाई भाडामा बस्ने कोठा खोज्नु थियो । संयोगवश, खाली कोठाले अपरिचित सरस्वती र रूपाको भेट गरायो । रूपालाई कोठा मनपर्‍यो, सरस्वतीलाई रूपाको रूप र बोलीवचन मनपर्‍यो । यी दुई नारीमाझ राजीखुशीको भाडा बोलकबोल भयो । र, सबै कुरा ठीकठाक भयो । तर, हठात् सरस्वतीका मनको काई लागेको अन्धकार गुफामा ननिको केही चसक्क बिझायो । र, झस्किँदै उनले सोधिन्— ‘बहिनीको जात के हो ?’

‘म सुनार,’ आफ्नो जात कहिल्यै नलुकाउने र आफ्नो जात–समूहमा सदैव गर्व गर्ने रूपा सुनारले भनिन्, ‘म कामी ।’

सरस्वतीभित्र संस्कारको बिखालु गोमन सर्पले एकाएक मुन्टो उठायो । अहो ! म ठूलो जातकी, यो सानो जातकी ! म चोखी, यो बिटुली ! म छूत, यो अछूत ! कुसंस्कारग्रस्त सरस्वतीलाई त्यसैत्यसै दिगमिग लागेर आयो । ‘सुनार ?’ ‘कामी ?’ रूपा सुनारको एक पलअघिको त्यो स्वाभिमानयुक्त स्वर अहिले सरस्वतीका आतङ्कित कार्णपटमा चट्याङझैँ चड्क्यो । अलिबेर अघिसम्म सरस्वती प्रधानका दृष्टिमा रूपा सुनार आफूजस्तै मान्छे थिइन्, ती एकाएक अमान्छे भइन् । ती सुन्दरी थिइन्, ती एकाएक कुरूप भइन् । ती आफूसमान उच्च थिइन्, ती एकाएक नीच भइन् । ती आफूसरह छूत थिइन्, ती एकाएक अछूत भइन् । र, ऐठनकारी अत्यासमा परेकी सरस्वतीले भनिन्— ‘ए ए ! त्यसोभए मैले आमालाई सोध्नुपर्छ ।’

बर्बाद गर्‍यो ! संकीर्णमति सरस्वतीको विभेदकारी चित्तमा लुकिबसेको जातजन्य अहंकार र अमानवीय संस्कारले गर्नु बर्बाद गर्‍यो ! सरस्वतीले रूपालाई दिन्छु भनी कबोल गरेको डेरा दिन इन्कार गरिन् । र, अपमानको औडाहाले जल्दै रूपाले प्रहरीमा उजुरी दिइन्— श्रीमान्, मउपर विभेद र छुवाछूत गर्ने सरस्वतीमाथि कानूनबमोजिम कडा कार्बाइ गरिपाऊँ । सरस्वतीलाई जब प्रहरीले पक्राउ गर्‍यो तब सुरु भयो राजधानी शहरव्यापी खैलाबैला । यो खैलाबैला दुई पीडित नारीबीचको द्वन्द्वको झिल्कोबाट झ्याङ्गिदै फैलिएको थियो ।

प्रकाशित मिति: : 2021-06-26 16:34:00

प्रतिकृया दिनुहोस्