'नेपाली' भाषा नबुझ्ने गोर्खेको छोरो

Breaknlinks
Breaknlinks

आफू राम्ररी हिँड्न नसक्ने।

उकालो सिँढी उक्लनुपर्ने, यसैकारण उपन्यास'टिस्टादेखि सतलजसम्म'को जिरक्स-कपी जिरक्स दोकानमा जिरक्स गरेर ल्याइदे भनेर नाति शुभमलाई बिहान ११ बजेतिर अह्राए एक हप्ता अघि।

मसँग भएको उक्त उपन्यासको मूल तर अन्तिम कपी नातिनी जेनी सिनच्युरीलाई पठाइदिने भएर आफूसँग यस उपन्यासको जिरक्स कपी आफूसँग राख्नेभएकोले नै मैले नाति शुभमलाई अह्राउनुपरेको थियो। अह्राएको मेरो काम गर्न त्यसले मान्यो।

हाम्रो घरको माथि हाम्रै कम्पाउण्डमा घरभाडामा बस्ने एकजना गोर्खेको जिरक्स दोकान छ। जिरक्स दोकानमा ऊ नबसेर धेरैजसो उसको तन्नेरी छोरो बस्ने गर्छ। जिरक्स गर्ने काम पनि उसले नै गर्छ।

लकडाउनले गर्दा डेढ महिनादेखि जिरक्स दोकान बन्द थियो तर केही सातादेखि हाम्रो गाउँमा बिहानदेखि साँझ ३ बजेसम्म दुईपल्ट दिन बिराएर दोकान खोल्ने अनुमति प्रशासनले दिएको छ तर दोकानमा भीड गर्नुभएन।

साँझ नाति शुभमले जिरक्स गरिएको कपी मलाई ल्याएर दियो। मैले जिरक्स कपी सबै एकएक गरी हेरेँ। छापाइमा भद्रगोल। कतै छापिएको छैन। कतै पृष्ठको अंक क्रमअनुसार मिलेको छैन। यो देखेर शुभमसँग रिसाएजस्तो गरेँ,'चेक गरेर,राम्ररी हेरेर ल्याउनुपर्दैन। भोलि फेरि जिरक्स ठीक गरेर ल्याइदे!'

त्यसले भन्यो,'भोलि बन्द हुन्छ। जहिले खुल्छ, जिरक्स गरेर ल्याइदिन्छु।'

'जिरक्स गरेपछि पूरा चेक गरेर ल्याउनू।',त्यसलाई सम्झाएं,'तेरो जिरक्स गर्ने साथीलाई भन्नू राम्ररी, नछुट्ने गरी नम्बर मिलाएर जिरक्स गरिदिनु भनेर।'

'हुन्छ।', त्यसले भन्यो।

मैले शंका मान्दै भनेँ,'जिरक्स गर्ने तेराे साथीलाई नेपालीमा लेखिएको अंक पनि  पढ्न आउँदैन होला र नै पेजमा पनि गडबड गरिदियो।'

'अब गडबड हुँदैन । म त्यसलाई केयर गरेर जिरक्स गरिदिनु भन्छु।'

'ल .. हुन्छ', मैले भनेँ।

आज दुकान खोल्ने अनुमति पाएको बार। तर, मेरो चित्तले मानेन नाति शुभमलाई पठाउन। कारण म आफै नगएर सम्झाइनँ भने जिरक्स गर्ने गोर्खेको तन्नेरी छोरोले जिरक्स गर्नमा फेरि गडबडी गरिदिन्छ भन्ने शंकाले अनि  एउटा हातमा उपन्यास 'टिस्टादेखि सतलजसम्म'को उल्लिखित अन्तिम प्रति लिई र अर्को हातले लौरो टेक्दै पुगेँ दु:ख उठाउँदै जिरक्स दोकानमा।

जिरक्स दोकानमा गोर्खेको तन्नेरी छोरा नै रहेछ।

उसलाई मैले भनेँ, 'छापाइमा कतै ब्लेंक निस्केको छ। कतै पेज मिलेको छैन। फेरि जिरक्स गर्नुपर्ने भएको छ। गडबड नहोस् भनेर म आफै आएको।'

गोर्खेको छोरोले मलाई नढाँटी भन्यो, 'मलाई नेपाली पढ्न आउँदैन। कुन नम्बर कति हो थाहा नै भएन। शुभमले त नेपाली पढ्न जान्दछ। मलाई बताइदिए त गडबडी नै हुने थिएन।'

मैले भनेँ, 'त्यो पनि तन्नेरी। तिमी पनि तन्नेरी। तन्नेरी भएपछि इमान्दर भएर कामप्रति कसले ध्यान दिन्छ र? तिमीले भटाभट छाप्यौ। त्यसले नहेरी जिरक्स कपी बोकेर ल्यायो। अब म आएँ । अब लापरवाही काम चल्दैन।'

गोर्खेको छोरोले भन्यो, 'मलाई नेपाली पढ्न आउँदैन। नम्बर पनि बुझ्दिनँ। गडबड नहोस् भनेर अंकल म पेच वाइज पेन्सिलले अंग्रेजीमा नम्बर लेख्छु है।'

मैले भनेँ, 'जेसुकै गर तर गडबड भने नहोस्।'

गोर्खेको छोरोलाई उपन्यास 'टिस्टादेखि सतलजसम्म'को अन्तिम प्रति छाडेर आएको छु। अब गोर्खेको छोरोले के गर्ने हो-उपरवाला जाने!

आजका अधिकांश गोर्खेहरूमा अंग्रेजी शिक्षाले नोकरी दिन्छ। अंग्रेजीमा शिक्षा दिएर आफ्नो स्ट्याण्डर्ड बढ्छ। नेपाली भाषामा पढाए स्ट्याण्ड घट्छ भन्ने मानसिकता छ, यसैकारण आज वर्णित गोर्खेका छोराझैँ अरू गोर्खेहरूका छोराछोरीहरू पनि हाम्रो समाजमा छन्। तर, यो दोष यी छोराछोरीहरूको होइन।

दोष हो आडम्बरी स्ट्याण्डर्ड देखाउने आमाबाबुको। यो शिलोङको गोर्खे समाजको मात्र कुरा होइन। दार्जीलिङ, सिक्किम, असमतिरका गोर्खा समाजको कुरा पनि हो।

फेसबूकले नै प्रमाण दिन्छ कमेन्ट गर्नेहरूको अंग्रेजी लेखाइ। बाबु छ गोर्खे। छोरोले हाँक्छ अंग्रेजी। यसैकारण  लेख्न मन लाग्छ, 'गोर्खाको छोरा, यता न उताको। न गोर्खाको,न अंग्रेजको।'



गोर्खा कहाँबाट विश्व प्रसिद्ध हुन पुग्यो?

हिटलर, स्टालिन र मोदी– जाे चर्चाबाटै ओरालाे लागे

समयको खेलः जिरोदेखि हिरो र हिरोदेखि जिरो 

सामाजिक सञ्जाल प्रेमीहरूले एउटा इतिहास बताइदिनुहोस्

प्रकाशित मिति: : 2021-06-26 22:08:00

प्रतिकृया दिनुहोस्