प्रधानमन्त्रीको अहंकार र स्वेच्छाचारीका कारण संविधान संकटमा: देउवा

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण संविधान संकटमा परेको बताएका छन्।

बिहीबार सम्पादकसँगको अन्तक्रिर्यामा उनले प्रधानमन्त्री ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा परेको बताएका हुन्।

उनले भने, 'उहाँले असंवैधानिकरुपमा दुई–दुई पटक प्रतिनिधि सभाको विघटन गर्नुभएको छ। अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकाय लगायतका राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने, कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्व तयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन्।'

'राष्ट्रिय हितमा आँच पुग्ने किसिमका कार्यहरु भएका छन्। लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटतर्फ धकेल्ने कार्य भएको छ। यो चुनौती पार गरेर सहज संवैधानिक र राजनीतिक प्रक्रियामा अग्रसर हुन मुलुकमा नविन संघर्ष जारी छ', उनले भनेका छन्, यो संघर्ष र अभिभारा साझा अपनत्व र कर्तब्यको विषय हो। अतः यसतर्फ आजको संवाद, समीक्षा र छलफलले योगदान गर्ने अपेक्षा गरेका छौं।'

राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोबाट असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभाको विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न भएको बताएका छन्।

प्रतिनिधिसभाका बहुमत १४९ सदस्यहरुको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वान अनुसार आफूहरुले प्रधानमन्त्रीका लागि दावी पेश गरेको आवेदनलाई स्वेच्छाचारी किसिमले अस्वीकर गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको बताए। 

प्रकाशित मिति: : 2021-06-24 15:31:00

प्रतिकृया दिनुहोस्