'सधैँ ८ सयमा घर पुगिन्थ्यो अहिले ३ हजार भन्छ, धानमा हाल्ने मल किन्ने पैसा गाडी भाडामै सकिने भो'

शिलापत्र

काठमाडौँ

सुधिर भण्डारी

सामान्य अवस्थामा भीडभाड हुने नयाँ बसपार्क बुधबार दिउँसो करिब २ बजे सुनसान थियो । प्रतिक्षालयमा केही यात्रु गाडीको पर्खाइमा थिए । केही भने यातायात व्यवसायी तथा 'गाडी स्टाफ'सगँ भाडा घटाउन अनुरोध गरिरहेका थिए ।

बर्दियाका बैधी चौधरी त्यही भीडमा थिए । आकासे रङ्गको ज्याकेट र जिन्सको पाइन्ट लगाएका थिए चौधरीले पट्पटी फुटेका खुट्टामा कालो चप्पल लगाएका थिए ।

उनलाई साहुले दिउँसो मोटरसाइकलमा बसपार्क ल्याएर छाडिदिए । त्यसपछि उनी घर फर्कन गाडी खोज्दैछन् । ‘सधैँ ८ सयमा पुर्‍याइदिन्थ्यो अहिले ३ हजार भन्छ । सबैले मौकाको फाइदा उठाइरहेका छन् । जति लिए पनि घर त पुग्नै पर्‍यो,’ चौधरीले भने ।

अघिल्लो वर्षको लकडाउनमा घरै बसेका उनी ५ महिनाअघि साहुले बोलाएपछि काठमाडौं आएका हुन् । आफूले बनेपा आसपास घर बनाउने काम गर्ने गरेको बताउँछन् चौधरी । उनी अहिले निर्माण सामाग्री महंगियो भनेर काम रोकिएपछि घर जान लागेका रहेछन् ।

काम रोकिए पनि उनी दु:खी भने छैनन् । बरु सरकारले मुक्त कमैयालाई दिएको ५ कट्ठामा 'राधा ४ धान' रोप्न भने उत्सुक छन् । ‘साहुले अहिले ८ हजार दिनुभएको छ । धानको ब्याड तयार भइसकेको छ । कर्तनिर्या बजारबाट मल किनेर लैजानु छ । मल किन्ने पैसा गाडी भाडामै जाने भयो,’ उनले सुनाए ।

प्रकाशित मिति: : 2021-06-24 11:42:00

प्रतिकृया दिनुहोस्