आँप छिप्पिएको छ। तर, पाकेको छैन। आँपलाई आफैँ पाक्न निकै समय लाग्छ। तर त्यतिञ्जेलमा आँप कीरा लागेर कुहिन सक्छ। कुहिएर सिद्धिनुभन्दा पाकेर सिद्धिनु राम्रो हो। यस्तो आँपलाई बचाएर पकाउने केही उपाय छ ?
यसको उत्तर हाम्रो गाउँमा छ:
आँपलाई भुसको बोराभित्र हाल्ने, निसास्सिने गरी। यसो गर्दा कुहिँदैन। अनि बोटमा भन्दा धेरै छिट्टो पाक्छ पनि।
मलाई छिट्टो पाक्न मन लाग्यो। झापा छोड्न मन लाग्यो। यस्तो लाग्यो कि मलाई छिट्टै पकाउने भुसको बोराको नाम हो: काठमाडौं ।
पाक्न त म मेरो गाउँकै हाँगामा पनि पाक्थेँ होला। तर, पाक्नुअघि नै कीरा लागेर म कुहिएँ भने ?
मलाई कीराको डर लाग्यो।
कीराको डर खतरा हुन्छ।
डरको कीरा झन् खतरा हुन्छ।
मभित्र डरको कीरा तब सलबलाउन थाल्यो, जब गाउँमा बोर्डिङ स्कुल सुरु हुन थाले। डर बोर्डिङ स्कुलको थिएन। हल्ला थियो कि बोर्डिङ स्कुलमा एउटा बाघ पाइन्छ। अङ्ग्रेजी बोल्ने बाघ। डर त्यो बाघको थियो। अरु बाघ जङ्गलबाट गाउँ पस्छन्। त्यो बाघ शहरबाट गाउँ पसेको थियो। गाउँमा सरकारी स्कुलमा पढ्ने हामीहरूचाहिँ बाख्राका पाठाजस्ता थियौँ। हामी नेपालीमा म्याँ–म्याँ गरिरहेका थियौँ।
धेरैले 'यो बाघलाई पाल्यो भने आफ्ना सन्तानको भविष्य अङ्ग्रेजीजस्तै गरी संसारभरि पुग्छ' भन्ने रहर पत्याए। 'नत्र नेपालीजस्तो नेपालमै सकिन्छ' भन्ने डर पत्याए।
र, त्यो बाघलाई हरेक महिना मासु खुवाउने आँट गरे।
अङ्ग्रेजीको बाघ पाल्न धेरैले धान बेचे। गहुँ बेचे।
हुनेले औँला वा घाँटीको सुन बेचे।
नहुनेले आफ्नै शरीरको नुन बेचे।
तर, हरिप्रसाद पराजुली र लक्ष्मीदेवी पराजुली नामधारण गरेका मेरा बा आमाले त्यो बाघलाई हरेक महिना मासु खुवाउने आँट गरेनन्।