साँच्चै मान्छे कसरी मर्छ ?
घोप्टो पर्न नसकेर, एउटै समयमा दुईजना सिकिस्त भएर, नर्सको नजर नपरेर, हुँदाहुँदैको अक्सिजन नपाएर, पाएको अक्सिजन थेग्न नसकेर, बाँच्ने मन हुँदाहुँदै खोइ कसरी मर्छ मान्छे ?
यी कुनै पनि कारण मृत्युको कारण बन्नलायकका कारण होइनन् । तर, कोभिड १९ को संक्रमणले मृत्युका अकारणहरू कारण भइदिए । मृत्युदेखि कहिल्यै नडराएका राजु बस्नेतको आँखामा मृत्यु भयानक बनेर उभिएको थियो आइसीयूमा । भेन्टिलेटरमा । मृत्युकै काखमा भएको मानिस कसरी निदाउन सक्नू ?
राजु भन्छन्, ‘अर्को मान्छे मर्दै गरेको देख्दा निद्रा कसरी लाग्नू ? मलाई त अहिले पनि निद्रा लाग्दैन ।’
घोप्टो पर्न नसकेर मरेको दृश्य ! १०० लिटर प्रति मिनेटको दरमा आएको अक्सिजन थेग्न नसक्दा मरेको दृश्य ! आइसीयू र भेन्टिलेटरका यी तमाम मृत्युको ताण्डवयुक्त दृश्य देख्दा राजुलाई यस्तो लाग्थ्यो, ‘म जसरी पनि बाँच्नुपर्छ !’
नभन्दै एक महिने लामो आइसीयू र भेन्टिलेटरको बसाइपछि गएको २९ जेठमा राजु डिस्चार्ज भएका छन् ।
पानी झमझम परिरहेको छ ।