प्राय: शान्त रहने राउटे समुदायले आफ्नै धर्म, संस्कार, नियम र कानुनको साहारामा जंगलमा फिरन्ते जीवन बिताउने गरेको छ। यो समुदाय चार महिनाअघि दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेतको लेकबेसी हुँदै गुर्भाकोट–११ स्थित आँपसोतीमा आइपुगेको थियो।
त्यहीँ बसिरहेको अवस्थामा राउटे समुदायकै दुई युवतीलाई होटलमा होटल संचालकको संलग्नतामा केही युवाहरुले लगि यौन दुर्व्यवहार गर्दै खिचिएको अश्लील भिडियो बाहिरिएपछि संचार माध्यम र सामाजिक संञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया आइरहेका छन्।
विशेषगरी सुदूरपश्चिम प्रदेशको अछाम तथा कर्णालीको दैलेख, सुर्खेत, दाङ, सल्यान, रुकुम पश्चिम, जाजरकोट जिल्लाका जङ्गल क्षेत्रमा घुम्दै–बस्दै आइरहेका शान्त राउटे समुदायकै युवतीमाथि यौन दुर्व्यवहार भएपछि केही अशान्त बनाउने खालका भ्रामक प्रचारबाजी पनि भएका छन्।
भ्रम र यथार्थ
'राउटे समुदायको छुट्टै कानुन छ। बाह्य पुरुषसँग सम्बन्ध राख्ने युवतीलाई भालाले रोपेर मार्छन्। भेरीमा बगाउँछन्, केही समय अघि एक जना राउटे महिला अस्पतालमा सुत्केरी भएपछि भाला रोपी मारियो' आदि।
राउटे समुदायको आफ्नै कानुन रहेको स्वीकार्दै मानवशास्त्री टासी टेवा हरेक आदिवासी जनजाति समुदायका आफ्नै प्रथाजन्य कानुन हुने र उनीहरुले नै धेरै कुराको फैसला गरिरहने बताउँछन्। तर ती कानुनहरु समयाअनुकुल परिवर्तन पनि हुने उनको विश्लेषण छ।
'आजभन्दा सय वर्षअघिको कानुन र आजको कानुनमा धेरै अन्तर आइसकेको हुन्छ। पहिला जस्तो हुन्थ्यो आजपनि त्यस्तै छ भनेर हामीले बुझ्नु हुँदैन,' उनले भने, 'राउटे समुदायमा प्रचार गरिए जस्तो निर्मम कानुन हुन्छ भन्ने कुरा भ्रामक हो। यस्तो धारणा बन्नुमा राज्यको नियतले भूमिका खेल्छ।'
मानवशास्त्री टासीको विश्लेषणमा सही थप्दै अस्पतालमा सुत्केरी गराएपछि भाला रोपी मारिएको कुरा सत्य नभएको राउटे उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्काले बताइन्। 'कुन मितिमा कसलाई मारियो? हामीले लामो समयदेखि राउटे समुदायमा काम गर्दा यस्तो कहिल्यै देखेनौं,' उनले भनिन्, 'यदि राउटे महिला मारिएकै भएपनि उनलाई सुत्केरी गराउने स्वास्थ्यकर्मी त मारिएका होइन होलान। तिनी को हुन? तीनको परिचय त होला नी? राउटे समुदायको व्यवहार, आनीबानी, स्वभाव नबुझिकनै जे पायो त्यहि बोलिदिनाले तथ्य भन्दा बढी भ्रम फैलिएको छ।'
संचार माध्यममा राउटेका पूर्व मुखिया मैनबहादुर शाहीले भनिरहेका छन्, 'हामी छोरी, श्रीमतीलाई कुट्दैनौं। छोरीको जातलाई कुट्ने होइन, माया गर्नुपर्छ।'
संचार माध्यमले नै भ्रमको खेती गर्न थालेपछि फेसबुकमा हरि थापा आवेग पोख्दै लेख्छन्, 'केही मिडियामा राउटेहरुको बारेमा छेउटुप्पो नबुझेका विज्ञहरुको हवाला दिएर अन्टसन्ट समाचार प्रकाशित भइरहेका छन्, 'राउटेको आफ्नै कानून छ रे, राउटेहरुले नै ती युवतीलाई भाला रोपेर मार्छन् रे, पीडित युवतीको असुरक्षित, ज्यान जोखिममा' आदि इत्यादि। राउटे जस्तो शान्त र लोकतान्त्रिक परिपाटीमा जीवनयापन गर्ने समुदायलाई कसरी यस्ता आक्षेप लगाउन सक्छन्?'
राउटे र राज्य
प्रचार गरिएजस्तो राउटे समुदाय मात्र जंगली होइनन्। मनाव समुदायको इतिहास हेर्दा जंगली अवस्था पार गरेर नै आजको विकसित अवस्थामा आइपुगेको हो। आजभन्दा करिब तीन करोड वर्षअघि कपिमानव वा वानर रुखबाट जमिनमा पाइला टेकेदेखि नै मानव विकासको क्रम सुरु भएको मानिन्छ।
मान्छे घुमन्ते–फिरन्ते चरणबाट विस्तारै समूहमा बस्न थाल्यो। समूहमा बस्दाबस्दै नाइकेको खोजी गर्न थाल्यो। खेती र पशुपालन सीपसँगै निजी सम्पत्तिको विकास भयो। निजी सम्पत्तिको उत्पत्तिसँगै वर्गहरुको निर्माण भयो। वर्गहरको निर्माण सँगै राज्यको जटिल संरचनाको निर्माण हुन थाल्यो।(हेर्नुस् युनिभर्सिटी, मंसिर २०७१, रामचन्द्र श्रेष्ठ, मान्छेको कथा, पहिलो मान्छे को हो?)
हरेक मानव जाती जंगली अवस्थाबाट पार गरेर आधुनिकीकरण उन्मुख भइरहँदा लोपुन्मुख राउटे जातीको दैनिकी भने जंगलमै बितिरहेको छ।
तर हरेक आदिवासीहरूको भूमि, पानी, जंगल आदि प्राकृतिक स्रोतहरूमा अधिकार हुनुपर्ने आर्टीव नेपालका हितमान गुरुङको तर्क छ।
राउटे समुदायले मुखियालाई नेताको रुपमा चयन गरेपनि उनीहरुको छुट्टै राज्य होइन। हालको समयमा राज्य लोपुन्मुख जातीको अविभावक बन्नुपर्ने तर्क मानवशास्त्री टासीको छ।
'मानव अधिकारको नाममा होस् या अन्य अधिकारकर्मी पीडितको रोदन र केही मात्रामा पीडकलाई देखाएर न्याय नपाउने वातावरण बनाइरहेका छन्। केही अनलाइनहरुको प्रस्तुतिले पीडितलाई नै दोसी देखाउने जस्ता सामग्री प्रसारण गरिरहेका छन्,' उनले भने, 'प्रशासन, राजनीतिक संयन्त्र, गाउँपालिका, राज्यलाई प्रश्न नगर्ने तर न्यायपालिकालाई प्रश्न गर्ने र तथ्यका गइराइसम्म नपुग्ने गरि समाचार प्रकाशन र प्रसारण हुँदा हाम्रो विश्लेषणमा खोट देखिन्छ। सत्ताको गैर जिम्मेवारीपनलाई ध्यान दिन नसक्नु अर्काे कमजोरी हो।'
राउटेलाई जंगलमै रहन दिने हो?
लोपोन्मुख राउटे जात युवतीमाथि गरिएको यौनहिंसा र त्यसको भिडियो सार्वजनिक गर्ने कार्य नै मानव अधिकारको घोर उल्लंघन भएको लेखक सरिता तिवारी बताउँछिन्। यस घटनाको प्रहरी अनुसन्धान र हिंस्रक माथिको कानुनी कार्बाहीको प्रक्रिया सुरु भइसकेको छ। तर पनि उनीहरुलाई सामाजिकीकरण प्रक्रियामा ल्याउनुपर्ने उनको तर्क छ।
'एक त प्राकृतिक प्रकोपदेखि वन्यजन्तुसँगको डरले भरिएको सधैंको अस्थायी र असुरक्षित बसोबास, त्यसमाथि बाहिरी समुदायबाट हुन सक्ने यस्ता हिंसा त्यसमाथि समुदायभित्रैका यति कठोर कानून ! एकैछिन राउटे महिला भएर सोचौं त,' उनले भनिन्, 'लोपोन्मुख जातीय संस्कृति र उनीहरुको बाँच्ने शैली छनोट गर्ने मानव अधिकारको सम्मान गर्दा गर्दै पनि एउटा प्रश्न त उठ्दो रहेछ, उनीहरु उस्तै रहनु ठिक कि, बाँकी समाजसँग घुलमिल भएर अन्तर–सामाजिकीकरणको प्रक्रियामा आउनु ठिक?'
राउटे समुदायलाई सामाजिकीकरण प्रक्रियामा ल्याउन उनीहरुको आफ्नै शिक्षा पद्धति, सिकाई प्रक्रियाको अध्ययन गर्न सकिने र वर्षभरीको उनीहरुको कामको कार्यतालिका बनाउन सकिने मानवशास्त्री टासीको मत छ।
'तर राज्य संयन्त्र जालसाजी गर्ने खालको हुन्छ। उनीहरुका माग एक हुन्छन्। त्यसलाई बार्गेनिङ गरी गरी मिनिमाइज गर्न खोज्छ,' उनले थपे, 'नमिलेको यहि हो। यसमा राज्यको चरित्रले भूमिका खेल्छ। उनीहरुको कुरा सुन्ने र लागू गर्ने मामलामा संघ र प्रदेश सरकारको नियत, काम, कारबाहीमा खासै फरक छैन।'
सत्ताको विभिन्न विभेदकारी नीतिका साथै पक्कै पनि आदिवासी जनजाति समुदायहरुको ज्ञानलाई लत्याई जैविक विविधता संरक्षणको नाममा वषौैं देखि खोलिएको राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको भूमिकालाई पनि बिर्सन नहुने उनले थपे। 'सामाजिकरणको कुरा गर्दा जात व्यवस्था र बाहुनवादी दलाल पूजीवादको प्रभाव र त्यसलाई राज्यसत्ताले कसरी मलजल गरिरहेको छ, त्यसमा पनि पक्कै ध्यान दिनु पर्ने हुन्छ,' उनले भने।
राज्यले उनीहरुको परम्परागत प्रणालीलाई अध्ययन गरी शिक्षा दिने र आधुनिकीकरणलाई ध्यान नदिएर वितरणलाई ध्यान दिइरहेको छ। वितरणका साथसाथै शिक्षालाई पनि ध्यान दिनुपर्ने राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष खड्का बताउँछिन्।
तर सरकारले वितरणलाई मात्र मुख्य एजेन्डा बनाउँदा समस्या आएको उनको मत छ। उनले भनिन् 'केही समय अघि मुख्यमन्त्रीले राउटेलाई चामल दिने कुरा गर्नुभयो। अरु योजना बनाउनेतिर ध्यान जान सकेको छैन।'
राउटे समुदायमा प्रतिव्यक्ति मासिक पाँच हजार रूपैयाँ भत्ता आउँछ। संघीय सरकारमार्फत मासिक तीन हजार भत्ता बुझ्दै आएका उनीहरुलाई प्रदेश सरकारले थप दुई हजार रूपैयाँ दिने गरेको छ। आगामी साउनबाट उनीहरुको भत्ता बढेर मासिक ६ हजार हुँदैछ। यही बेला उनीहरुसँग सम्झौत गर्न सकिने खड्काले थपिन्, 'तर उनीहरुलाई सोझै पढन आउ भनेर पढ्न मान्दैनन्। यसका लागि लामो समय र दुरदर्शि योजनाको खाँचो छ,' उनले भनिन्, 'डँडेधुराका राउटेहरु पढेलेखेका छन्। उनीहरुलाई पनि माध्यम बनाउन सकिन्छ।'
डडेलधुरा जोगबुडा रामपानीका दानसिंह राउटेले बिए पास गरेका छन्। महेन्द्रनगर –९ का लालसिंह राउटेकी छोरी विष्णु राउटे नेपाल आर्मीमा भर्ती भएकी छन् भने पाँच जना राउटे नेपाल प्रहरीमा भर्ती भएका छन्। त्यस्तै एक जनाले कपडा सिउने तालिम लिएकी छन् भने एकजना भेटेरेनरी जेटिए पास गरेर पनि बेरोजगार छिन्।
यस्ता नजिरहरुलाई आधार बनाई कर्णाली क्षेत्रमा बसोबास गरिरहेका राउटेलाई पनि मूल प्रवाहमा ल्याउन सकिने खड्काको भनाइ छ।
सुर्खेतका पत्रकार विनाेद शाही आफूलाई संसारको सर्वश्रेष्ठ प्राणीको स्वघोषणा गर्नेहरुले नै राउटेलाई मान्छे नदेखेर जंगली देखिरहेको बताउँछन्। उनी भन्छन्, 'राउटे मान्छे हुन भन्नेसम्म हेक्का नभएको समाज ले के गर्छ? जे अहिले गरिरहेको छ।'
एनजीओ/आइएनजिओ र न्यू मिडियाले बिगारे
राउटे समुदाय एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने भनी परिचित छ। सुरुमा समुदायदेखि टाढाको जंगलमा बस्ने, काठका भाँडासँग अन्न साटनका लागि मात्र बस्तीसम्म पुग्ने, रूपैयाँ नछुने चलन भएपनि उनीहरूमा दुई दशकयता धेरै परिवर्तन आएको छ।
सशस्त्र द्वन्द्वको समयमा यो समुदायलाई घना जंगलबाट बाह्य समुदायको बस्ती नजिक ल्यायो। बाह्य समुदायको बस्ती नजिकै बस्न थालेदेखि उनीहरूको सम्पर्क बाह्य समुदायसँग पनि भयो।
उनीहरूको जीवनशैली परिवर्तनको नाममा एनजीओ/आइएनजीओहरुले उनीहरुको बानी बिगारे। जाँडलाई पुजाको रुपममा मात्र प्रयोग गर्ने उनीहरुलाई रक्सीको लत बसालिदसएपछि राम्रा भन्दा नराम्रा कुराको सिको गर्न थाले। हाल राउटे समुदायका दुई/चार जनाबाहेक सबैमा मदिराको लत छ।
पैसा छोएमा पाप लाग्छ भन्ने यो समुदाय अहिले पैसाका लागि हरकाेही सम्झौता गर्न तयार हुने समुदायसँग काम गर्दै आएका सामाजिक सेवा केन्द्र (सोसेक)का संस्थापक अध्यक्ष हिरासिंह थापाले भने।
एनजीओहरुले राउटे बस्तीमा पस्नलाई जाँड रक्सीकाे अत्यधिक प्रयाेग गरेकाे राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष खड्काकाे अर्काे अनुभव यस्ताे छ, 'भिडियो डकुमेन्ट्री बनाउन नाममा हाेस् या राउटेकाे उत्थानका लागि भनी वितरणका कार्यक्रम गर्ने विदेशी संस्था, उनीहरु सबैले सुरुमा जाँड रक्सी प्रयाेग गरेर उनीहरुकाे बानी बिगारेका हुन।'
पछिल्लो समय राउटे समुदायलाई न्यू मिडियाले पनि ठूलो प्रभाव पारेको देखिन्छ। राउटे समुदायसँग कुरा गर्न, उनीहरूसँग फोटो खिच्न, टिकटक बनाउनका लागि राउटे बस्तीमा मान्छेको भिड लाग्छ। उनीहरूले यतिकै फोटो खिच्न, युटुवकाे लागि भिडियो र टिकटक बनाउन नदिने भएकाे हुनाले पैसा दिने, मदिरा सेवन गराउने कारणले पनि विकृति निम्तिएको खड्काले थपिन्। त्यसैको परिणाम हाे, राउटे समुदायका युवतीमाथिको दुर्व्यवहार।