राउटे युवतीलाई दुर्व्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह

File photo
File photo

राष्ट्रिय मानव अधिकार आयोगले दुई राउटे युवतीको गोपनीयताको संरक्षण गर्दै घटनाका दोषीलाई तत्काल कारबाही गर्न सरकासँग आग्रह गरेको छ। 

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाले स्थानीय राउटे समुदायका युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले अनुगमन गरेको थियो।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा निजहरुको स्वास्थ्य परीक्षण गर्न र भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको हो। 

स्थानीय तीनजना युवाले राउटे समुदायका दुई युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौनजन्य कार्य गर्न बाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको जनाएको छ।

प्रलोभनमा पारी यौनहिंसामा लगाइएका उल्लेखित दुई युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाइएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-06 17:38:00

प्रतिकृया दिनुहोस्