कौशल काफ्ले
काठमाडौंको चाबहिल । शनिबार बिहान १० बजे । निषेधाज्ञा भएकाले औषधिबाहेकका पसलहरू बन्द थिए । सडकमा ‘पासवाला’ सवारी साधन फाट्टफुट्ट चलिरहेका थिए । ओसिलो दिन भएकाले निषेधाज्ञा अवज्ञा गरी हिँडडुल गर्ने मानिसहरूको चहलपहल पनि कमै देखिन्थ्यो ।
सुकेधारातिर जाँदा चक्रपथ सडककाे देव्रेतिर जुटको बोराले छोपेको सानो थुप्रो देखियो । निर्माण सामग्री हुनलाई वरिपरि त्यहाँ कुनै संरचना बनिरहेको देखिएन ।
त्यो थुप्रोतिर अघि बढ्दै जाँदा छेउकै मेडिकेयर हस्पिटलको बलेँसीबाट एक पुरुष खुरुरु कुदेर आइपुगे । अनि शंकालु नजरमा सोधे, ‘के थियो होला ?’ फेरि उनले तलदेखि माथि, दायाँबायाँ हेरे ।
‘त्यो बोराभित्र.....’ यति सुन्नासाथ उनले खुलाए, ‘किन्नुहुन्छ ?.. राम्रो छ । टिकाउ छ ।’ खासमा त्यो बोरामुनि सिलौटो, त्यसको बत्ता... यस्तै यस्तै ढुंगाका सामग्री रहेछन् । र, उनीचाहिँ पत्थरकट्टा । बिहान ७ देखि ९ बजेसम्म अत्यावश्यक सामग्रीका लागि किनमेल र आउजाउ सहज पारिएको मौका छोपेर उनी ढुंगाका ती सामग्री ल्याएर सडक किनारमा राख्दा रहेछन् हरेक दिन । अनि दिनभर उसैगरी लुकामारी शैलीमा व्यापार गर्दा रहेछन् ।