मंगलबारको बिहान मोबाइलको पर्दामा कुन्नि कुन बाटो गरेर हो एउटा शीर्षक देखिन्छ– केटीहरू किन रुख चढ्दैनन् ?
कवि नवराज पराजुलीद्वारा लिखित उक्त लेखको शीर्षकले नै मनमा प्रश्न जगाइदिन्छ– चढ्दैनन् र ?
प्रश्नसँगै मन स्मृतिको यान चढेर विगत दिनमा दौडिन थाल्छ ।
हेटौँडाको जन्मघरअगाडि उभिएको थियो, सरकारी स्कुल । त्यसको आँगनमा थिए दुईवटा बडेमानका रुख– वर र पीपलका । ती केवल रुख थिएनन् । गर्मीका ताता दिनमा शीतल छहारी थिए । छहारीमा केटाकेटीहरू जम्मा भएर गुच्चा खेलिरहेका हुन्थे । गुच्चा खेल्न पुगेपछि ती वरको रुखमा चढ्थे । टुप्पा–टुप्पामा पुगेर हाँगा हल्लाउँदै, लस्काउँदै सुतुतु ओर्लन्थे ।
तीमध्ये एक म पनि हुन्थेँ । साह्रै कम केटीहरूमध्येकी एक । काग केटाहरूको हुलमा बकुल्लासरी मिसिएकी ।
'यो भोटिनी कस्तो मात्तेकी छे । लाजसरम केही छैन । केटाहरूसँगै रुख चढ्छे । गुच्चा खेल्छे ।' ठूला मान्छेहरूले यस्तै टिप्पणी गर्थे । त्यही टिप्पणी सापटी मागेर केटा साथीहरू पनि सुगा बनिदिन्थे । अनि हुलबाट छुटेको बाँदरसरी एक्लै हुन्थेँ म ।
विस्तारै म बाँदर बन्न छोडेँ । रुखको आवश्यकता थिएन । रहर मात्र थियो । नचढे पनि पुग्थ्यो । तर, समय न हो । घडीसँगै घुमिदियो । त्यो समयले मलाई जन्मेको डेढ दशकपछि काठमाडौंको काँठमा हुत्याइदियो ।