‘दरबार हत्याकाण्ड’ को २० वर्ष, आजकै दिन राजा वीरेन्द्रको वंशनाश 

File Photo
File Photo

जेठ १९ गते। नेपाल र नेपालीहरूका लागि सबैभन्दा दुःखको दिन। आजकै दिन २० वर्षअघि नेपालका राज वीरेन्द्र र रानी ऐश्वर्यासहित राजपरिवारका ९ सदस्यको हत्या भएको थियो। 

यो दिनलाई अहिले पनि नेपालीहरूले बिर्सन सकेका छैनन्। दरबार हत्याकाण्डको रुपमा परिचित यो घटनाका कारण नेपाली राजनीतिको दशा र दिशा परिवर्तन भएको थियो। शुक्रबारको दिन विवाहको एउटा सानो मुद्धालाई लिएर राजकुमार दीपेन्द्रले आफ्नै बुवा र आमाको हत्या गरेका थिए।
 
महिनाको अन्तिम शुक्रबार परिवारका सबै सदस्य बसेर रात्री भोज गर्ने परम्पराअनुसार त्यो दिन परिवारका सबै सदस्य नारायणहिटी राजदरबारमा जम्मा भएका थिए। यो दिन नशामा झुल्लिएका दीपेन्द्रले अटोमेटिक राइफल बोकेर खाना खान जम्मा भएका राजपरिवारका ७ सदस्यलाई एउटै चिहान बनाएका थिए। 

घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, भाई निराजन तथा बहिनी श्रृतिको समेत हत्या भएको थियो। परिवारको सबै सदस्यको हत्या गरेपछि दीपेन्द्रले आफूलाई पनि गोली हानेर आत्महत्या गरेका थिए। 

राती भएको यो घटनामा नशामा चुर भएका दीपेन्द्रले पहिले परिवारका एक सदस्यसँग झगडा गरेका थिए। तर, उनको अवस्था विचार गर्दै त्यहाँ उपस्थित घरका अन्य सदस्यले थुमथुमाउँदै उनी सुत्ने कोठामा लगेका थिए। 

तर, केही समयपछि दीपेन्द्र आफूसँग भएको तीन वटा बन्दुक लिएर बाहिर आए र अन्धाधुन्ध गोली चलाउन थाले। यो घटनामा काका धीरेन्द्र शाहको पनि निधन भएको थियो। 

दरबार हत्याकाण्डको विषयमा भएको सरकारी छानवीनमा त्यहाँ उपस्थित सबैले दीपेन्द्रले गोली हानेको बयान दिएका थिए। 

घटना हुनुअघि दीपेन्द्र र रानी ऐश्वर्याबीच विवाहको विषयलाई लिएर विवाद भएको बताइएको थियो। दीपेन्द्र इंग्ल्याण्डको इटन कलेजमा अध्ययनरत रहँदा उनको भेट देब्यानी राणासँग भएको थियो। उनीहरूको त्यहीबाट प्रेम सुरु भएको थियो। दीपेन्द्र देब्यानीलाई बिहे गर्न चाहन्थे तर आमा ऐश्वर्याको रोजाई अर्के थियो। 

त्यसैले यही विवाद अन्ततः दरबार हत्याकाण्डको कारण बनेको धेरैको बुझाई छ।

प्रकाशित मिति: : 2021-06-02 05:22:00

प्रतिकृया दिनुहोस्