नयाँ प्रधानमन्त्री नियुक्तिका लागि सांसदहरूलाई राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएकी छन्। 

नयाँ प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति भण्डारीले एक दिनको मात्र समय दिएर ७ जेठ साँझ ५ बजेसम्म आधार पेश गर्न समय दिएकी छन्। सीधै चुनाव घोषणा गर्दा चुनावमा जान नचाहने शक्तिले विरोध गर्ने मौका पाउन सक्ने हुनाले औपचारिकताका लागि छोटो समय दिइएको हो ।

संविधानकाे धारा ७६(५) स्वविवेकीय अधिकारको धारा भएकाे प्रधानमन्त्रीनिकट एक कानून व्यवसायीले बताए । 'सीधै चुनावमा जाने कि भन्ने पनि थियो तर राष्ट्रपतिले एक दिनको समय दिएर बीचको बाटो राेज्नुभएको हो', उनले भने।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ।'

राष्ट्रपति कार्यालयको पत्र:

प्रकाशित मिति: : 2021-05-20 20:14:00

प्रतिकृया दिनुहोस्