रामबहादुर थापा ‘बादल’ बुधबार राष्ट्रियसभा उपचुनावको निर्वाचन स्थल– हेटौँडा प्रस्थान गर्दा उनी गृहमन्त्री थिए। गृहमन्त्रीको रवाफसाथ उनी हेटौँडामा रहँदा नै उनको मन्त्री पद गुम्न पुगेको छ।
सर्वोच्च अदालतले मन्त्रीबाट हट्ने निर्णय गर्दा बादल हेटौँडाको भुटनदेवी माविमा रहेको राष्ट्रियसभा उपनिर्वाचनको मतदान केन्द्रमै थिए। उनी गृहमन्त्री हटेको केही बेरपछि त्यहाँ मतदान सकियो। अनि मत गणनाको तयारी हुँदै थियो। एमालेको माधव नेपाल समूहले भोट नदिएको जानकारी लिएर उनी त्यहाँबाट फर्किएका थिए।
हेटौँडाबाट अपरान्ह करिब साढे ४ बजे बादल काठमाडौं हिँडेका छन्। त्यहाँबाट फर्किंदा उनी गृहमन्त्री त रहेनन् नै, फेरि गृहमन्त्री हुनसक्ने योग्यता हासिल गर्न चुनाव लडेको राष्ट्रियसभा निर्वाचनमा पनि पराजित भएका छन्।
सर्वोच्च अदालतले बिहीबार अपरान्ह गरेको फैसलाअनुसार उनको गृहमन्त्री पद खारेज भएको हो। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको एकल इजलाशले छ गृहमन्त्री थापासहित संघीय संसद्को सदस्य नरहेका सात जना मन्त्रीहरुको मत खारेज गरिदिएको थियो।
सातै जना मन्त्रीहरुले नेकपा विघटनपछि एमाले रोजेका कारण माओवादीकेन्द्रले सांसद् पदबाट हटाइदिएको थियो। उनीहरु सांसद् पद खारेज भए पनि एमालेमा रहन राजी भएका थिए। प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असहमतिका बाबजुद पनि सांसद् पद जोगाउन एमाले त्याग्न तयार नभएको माधव नेपाल पक्षधर माओवादीनिकट समूहले ‘क्रस भोटिङ’ का कारण उनी राष्ट्रियसभा सदस्यमा पराजीत भए। यो पराजयले बादलको तत्काल पुनः गृहमन्त्री बन्ने संभावनाको पनि अन्त्य भएको छ।