प्रधानमन्त्रीलाई कारवाही गर्न निर्वाचन आयोगलाई प्रचण्डको आग्रह

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई कारवाही गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेका छन्।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचारसंहिताको गम्भीर उलङ्घन भएको बताएका छन्।

प्रचण्डको सचिवालयले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कारवाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु।'

ओली एमालेको अध्यक्ष मात्र नभएर नेपाल सरकारको प्रधानमन्त्रीसमेत भएको भन्दै प्रचण्डले प्रमुखले नै स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन गराउनुको सट्टा कुनै उम्मेदवारको पक्षमा अपिल गर्नु स्वच्छ र निष्पक्ष निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको बताएका छन्।

'निर्वाचन आयोग, राजनैतिक पार्टीहरु, निर्वाचन पर्यवेक्षकहरु, नागरिक समाज, पत्रकार तथा आम जनसमुदायमा यस प्रकारको अलोकतान्त्रिक हर्कतप्रति चनाखो हुँदै लोकतान्त्रिक मूल्य मान्यताको रक्षाको निम्ति एकजुट हुन अपिल गर्दछु।' प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: : 2021-05-19 21:01:00

प्रतिकृया दिनुहोस्