राष्ट्रपतिका सल्लाहकारले नेपालको नोटमा नेपालकै नक्सा छाप्न हुन्न भन्नु निन्दनीयः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्ति निन्दनीय भएको बताएका छन्।

शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा उनले राष्ट्रपति संस्थामा सल्लाहकार भएको व्यक्तिले नेपाली नोटमा नेपालको नक्सा छाप्नु हुँदैन भन्नु राष्ट्रहित विपरीत रहेको बताए। 

‘नेपाली जनताले कर तिरेको पैसाले राष्ट्रपतिको विज्ञ सल्लाहकार भएर बसेर राष्ट्रहितका विपरीत नेपाली नोटमा नेपालको नक्सा छाप्न पाइँदैन भन्न पाइन्छ? पाइँदैन। यो निन्दनीय कुरो छ’, उनले भने। 

राष्ट्रपति संस्थामा बसेर देशबाहिरको बोलीमा लोली मिलाएर खुला रुपमा अन्तर्वार्ता दिने कत्रो हिम्मत भनेरसमेत उनले प्रश्न गरेका छन्। 

‘नेपालको १०० को नोट सिद्धियो रे। अनि १०० को नोट छाप्ने भएछ। नेपालले आफ्ना नोट छाप्ने हो। आफ्नो देशको सधैं राखिराखेको नक्सा त्यहाँ राख्ने हो। अर्को देशलाई किन टाउको दुख्नुपर्यो, उनले भने, ‘यहाँ राष्ट्रपतिका विज्ञ सल्लाहकार भनेको एउटा जागिरे यो नक्सा राख्न पाइन्छ भन्दै बोलीमा लोली मिलाएर दाबेदारी गर्छ। किन यस्तो? अन्तरर्वाता दिन्छ। खुला रुपमा। कत्रो हिम्मत नेपाललाई हेप्ने कुरामा?’ 

वैशाख २१ गते बसेको मन्त्रिपरिषदको बैठकले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको थियो । त्यसको भारतले विरोध गरेको छ। साथमा राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले पनि एक टेलिभिजन अन्तर्वाता दिँदै चुच्चे नक्सा छाप्न नहुने अभिव्यक्ति दिएका थिए। 

उनको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ। राष्ट्रपतिका सल्लाहकार नेपालको अभिव्यक्तिको नागरिक अगुवाहरूले समेत विरोध गरेका छन्। 

पूर्वमन्त्री एवं भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेल र पत्रकार, लेखक कनकमणि दीक्षितले गत बुधबार वक्तव्य निकालेर राष्ट्रपतिका सल्लाहकार नेपालको अभिव्यक्तिले संवैधानिक राष्ट्र प्रमुखको पनि अपमान भएको बताएका थिए।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा पनि नेपालको अभिव्यक्तिको विषयमा प्रश्न उठेको थियो। नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको अभिव्यक्तिमाथि प्रश्न उठाँदै भनेका थिए, ‘नेपालको नोटमा नेपालको नक्सा छाप्दा टाउको दुखाइ किन?’

प्रकाशित मिति: : 2024-05-11 15:09:00

प्रतिकृया दिनुहोस्