सीता नेपाली नेपालकै पहिलो दलित महिला मन्त्री

Breaknlinks
Breaknlinks

नेपालमा पहिलाे पटक द्वारिकादेवी ठकुरानी महिला मन्त्री बनेकी थिइन्। बुधबार कर्णाली प्रदेश सरकार पुनर्गठन भएसँगै सीता नेपाली नेपालकै इतिहासमा पहिलो पटक दलित समुदायबाट मन्त्री बन्न सफल भएकी छन्।

केही समय पहिला उनी आफैले भनेकी थिइन, 'मन्त्रालयकाे ढाेकासम्म पुगे पनि दलित महिलाले मन्त्री बन्ने अवसर पाएका छैनन्। तर यतिबेला इतिहास बन्न सक्छ।' 

उनले कर्णालीका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले विश्वासकाे मत लिने बेला गरेकाे संकेत आज हकिकतमा बदलिएको छ। 

नेकपा माओवादी कर्णाली प्रदेशकी प्रमुख सचेतक समेत रहेकी नपालीलाई बुधबार पुनर्गठन भएकाे मन्त्रीमण्डल जनस्रोत मन्त्रालयकाे जिम्मेवारी दिइएको छ।

उनीसँगै कर्णालीका मुख्यमन्त्री शाहीले बिन्दमान विष्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र गोपाल शर्मालाई आर्थिक तथा योजनामन्त्रीमा नियुक्त गरेका हुन्। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्म लबिङ गरेकी नेपालीलाई कर्णालीका मुख्यमन्त्री शाहीले भौतिक विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनी मन्त्री बने लगत्तै सामाजिक संजालमा नेपालको इतिहासमा दलित महिलाबाट सीता नेपाली पहिलो मन्त्री बनेको पाेष्ट भएका छन्। 

तत्कालिन नेकपा माओवादीबाट दश वर्षे जनयुद्धमा सामेल उनी सुर्खेत लेकबेसी नगरपालिका -४ की स्थायी बासिन्दा हुन। उनले राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेकी छिन् भने कानुनमा एलएलबी गरेकी छिन्। उनले राजनीति र वकालत दुबैमा लामो समयकाे अनुभव संगालेकी छिन्।

विद्यार्थी राजनीतिमा छँदा नै उनी विद्रोही स्वभावकी भनेर उनका सहकर्मीहरुले बताउँदै आएका छन्। यही स्वभावकै कारण उनी जनयुद्धमा लागेकि हुन। 

उनले माओवादी जनयुद्धमा होमिएकै बेला कमरेड जीवन्तसँग अन्तरजातीय विवाह गरेकी थिइन्।

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि उनले २०६४ सालको पहिलो संविधानसभा चुनावमा सुर्खेत क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन लडेकी थिइन्। तर त्यतिबेला पराजित भइन।

त्यसयता निरन्तर माओवादीको राजनीतिमा सक्रिय रहेकी उनी २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा समानुपातिकबाट सविधानसभा सदस्य भएकी थिइन। 

संविधानसभा सदस्य भएपछि उनले दलित महिलाकाे हक हितलाई संविधानमा उल्लेख गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकि थिइन।

संविधानसभा सदस्य रहेकै बेला उनी माओवादी केन्द्रको सचेतक समेत भइसकेकी   उनी देश संघीयतामा गएपछि प्रदेशको राजनीतिमा होमिइन्। 

कर्णाली प्रदेश सभा सदस्य रहेकी उनी २०७७ साल असोजमा कर्णाली प्रदेशमा माओवादी केन्द्रको प्रमुख सचेतक भइन्।

त्यतिबेला उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन आफ्नो ठाउँबाट भूमिका खेलेकी थिइन। दलित अधिकारका लागि लड्दै आएकी उनी अहिले नेपालकै इतिहासमा पहिलो दलित महिला मन्त्री बन्न सफल भएकी छिन्।

यसअघि संघीय सरकारमा दलित समूदायबाट थुप्रै मन्त्री बनेपनि दलित महिलालाई भने राज्यमन्त्री र सहायकमन्त्री स्तरकाे पदमा सिमित गराइएकाे थियाे।

हालकाे संघीय सरकारमा विमला विश्वकर्मा उद्योग राज्यमन्त्री भएपनि मन्त्रिपरिषद बैठकमा जान पाउँदिनन्। विमला विश्वकर्मा अघि पनि दलित महिला राज्यमन्त्री बनेका थिए। तर मन्त्री भने बन्न सकेका थिएनन्। 

त्यसैले इतिहास रच्ने माैका सीता नेपालीले नै पाइन र हाल अधिकारसम्पन्न दलित महिला मन्त्री बन्न सफल भएकि छन्।

प्रकाशित मिति: : 2021-05-13 07:05:00

प्रतिकृया दिनुहोस्