एमालेको नेपाल समूहका सांसद्हरू सिंहदरबारस्थित समितिको हलमा, स्थायी कमिटीको निर्णय पर्खंदै

एमालेको माधवकुमार नेपाल समूहका सांसद्हरु सामूहिक राजीनामा गर्न प्रतिनिधिसभाको शिक्षा समितिको हलमा जम्मा भएर बसेका छन्। अपरान्ह ३ बजेका लागि डाकिएका उनीहरु पार्टी स्थायी कमिटीको निर्णय कुरेर बसेका हुन्।

समितिको उक्त हलमा भेला भएका एक सांसद् बिएल नेपाली सेवालाई जानकारी दिए, ‘हामीलाई ३ बजेका लागि डाकिएको थियो र यहाँ आएका हौँ। स्थायी कमिटीले जे निर्णय गर्छ, त्यही अनुसार गर्ने भनेर भेला भएका हौँ।’

एमालेको समानान्तर गतिविधि सञ्चालन गरिरहेको सो पार्टी स्थायी कमिटीको बैठक जारी रहेको बताइएको छ। स्थायी कमिटी सदस्यहरु भने भर्चुअल बैठक गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीलाई पदबाट हटाउनका लागि अर्को समीकरण बन्न सक्ने अवस्था बन्नका लागि राजीनामा दिने तयारीमा रहेको उक्त समूह जसपाको कुनै पनि पक्षलाई नसघाउने निर्णयपछि राजीनामा गर्ने कि नगर्ने भन्ने द्विविधामा परेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2021-05-09 15:42:00

प्रतिकृया दिनुहोस्