एउटा भन्दछ यो हो पाजी
अर्को भन्दछ यो छ बिराजी
भन्दछ तेस्रो आत्माराम
पढोपढोजी राखो नाम
-पिंजराको सुगा
जिन्दगीको यात्राका घुम्ती र मोडहरूमा यो पंक्तिकार पटकपटक यो श्लोकसँग ठोक्किन पुग्छ। यो श्लोक उसँग ठोक्किन आइपुग्छ। अनि आफैँ चकित पर्छ, बिलखबन्द र जिल्ल पर्छ। सम्झिन्छ एउटा भनाइ- ‘क्या हो मैना?’
‘क्या हो! क्या हो !!’
‘हो, क्या हो क्या हो अथवा के होइन, के होइन!’ कसरी निधो गर्ने? कसरी कुनै कुरालाई मान्ने कुनैलाई नमान्ने? के आधारमा कुनै कुरालाई ठीक भन्ने कुनैलाई बेठीक?
अझ वृहत् मापका वा उच्च स्थानबाट गरिएका निर्णय र काममध्ये कतिपयले ठूलै विवाद खडा गरिदिन्छन्। यद्यपी; कतिपय भने विवादका निमित्त विवादमात्र भएको होइन भन्न नसकिने हुँदैनन्। सायद कतिपय यथार्थको यही नियति होला ! यसरी नै गुज्रिनुपर्ने होला इतिहासले।
पृथ्वीनारायण शाहलाई क्रुर, आततायी, साम्राज्यवादी आदि भनेको मनग्गे नै भेटिन्छ। सायद उनले नेपाल एकीकरण नगर्नुपर्थ्यो। त्यसमा बाधा पुर्याउनेलाई बाधा पुर्याउन दिइरहनुपर्थ्यो। अझ ‘मनासिब हजुर!’ भन्दै अभियान परित्याग गरेर बैरीहरूसामु त्वम् शरणम हुनुपर्थ्यो होला।
शुक्रराज शास्त्रीहरूलाई पनि कुहिना भएर पहरासँग जोरी नखोज्न हजारौँले सुझाव दिएका थिए होला। उनीहरूले पनि राणाहरूका शरणमा गएर स्वतन्त्रताको अभियान त्याग्नुपर्थ्यो होला।