‘विद्रोही’ वडाध्यक्ष !

नवीन अर्याल

विराटनगर

विराटनगर महानगरपालिकाको बैठकमा उनको तर्क सुन्न लायक हुन्छ।

जनताको प्रतिनिधि भएर मठमन्दिर र मस्जिदमा राज्यको पैसा लगानी गर्न हुँदैन भन्ने उनको मान्यता छ।

उनलाई धेरैले नास्तिक मान्छन्। विकाश निर्माण कार्यमा उनको ठूलो अभिरूची छ। विशेषतः स्वास्थ्य, स्कुल र खानेपानी निर्माणका लागि बैठकमा आवाज उठाइरहेका हुन्छन्।

राजनीतिक आस्थाको हिसाबले उनी कांग्रेसी हुन्। बैठकमा उनको तर्क सुनेर धेरैले उनलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको विरोधी मान्छन्। भीम पनि मोरङमा नेपाली कांग्रेसका जल्दोबल्दो नेता हुन्। तर, उनीहरूबीच राजनीतिक रूपमा कुनै मतभिन्नता छैन।

निश्चल अर्याल ‘भाइजी’, विराटनगर महानगरपालिका वडा नम्बर–८ का वडाअध्यक्ष हुन्। तीन वर्षअघि उनले वडाको विकास निर्माणमा आफूलाई समर्पित गर्छु भन्दा जिल्लाका तीन ठूला नेताले विरोध मात्र जनाएनन्, चुनाव हराउन पुरै नेतृत्व लाग्यो। तर, वडाका स्थानीय युवाहरूले आवाज बुलन्द बनाएपछि उनले टिकट मात्र पाएनन्, ९३ मतले चुनाव जित्न सफल भए।

अहिले उनी पूर्ण रूपमा वडाको विकासमा आफूलाई समर्पित गरिरहेका छन्। उनको भनाई छ– ‘रोड र नाला सबैले बनाउँछन्। तर, मेरो प्राथमिकता स्वास्थ्य, शिक्षा, खानेपानी र खेलकुदमा छ।’



उर्जावान सूर्यबहादुर !



वडाध्यक्ष बन्ने वित्तिकै उनले पहिलो काम नै आफू पढेको तथा ऐतिहासिक महत्व बोकेको महेन्द्र माध्यमिक विद्यालयको जीर्ण बनेको भवनलाई नयाँ स्वरुप दिए। यो कार्यमा उनलाई मेयर भीमले साथ दिए। उनी यसका लागि मेयरप्रति आभारी छन्। 

उनको वडामा पर्ने सय वर्ष पुरानो वस्ती अशोक चोक, विश्वकर्मा चोक र लभ टोलीमा अहिलेसम्म सरकारी खानेपानीको व्यवस्था भएको छैन। अझै पनि यहाँका बासिन्दा ट्युबेलको पानी पिउन विवश छन्। तर, उनी वडाध्यक्ष नियुक्त भएपछि उनले यी वस्तीमा सरकारी खानेपानीको व्यवस्था गर्ने अभियानको सुरुवात गरिसकेका छन्। आफ्नो पाँच वर्षे कार्यकालमा यो पुरा भइसक्ने उनको विश्वास छ। 

‘यहाँ भएको ११ कट्ठा ऐलानी जग्गा खाली गराएर ६ कट्ठामा खानेपानीको ओभरहेड ट्यान्की निर्माण गर्ने कार्यको सुरुवात भइसकेको छ। यसले ४६ सय परिवारलाई लाभान्वित गराउँछ’, वडाध्यक्ष भाइजी भन्छन्। 

नेपाली कांग्रेसको ‘बोनाफाइट’ कार्यकर्ता भएको हुनाले उनी नेपालमा खानेपानीको अवस्था २०१५ सालदेखि ज्यूँका त्यूँ रहेको बताउँछन्। त्यसैले यसतर्फ विशेष रूपमा आफ्नो अभिरुची बढेको उनको भनाई छ।

‘नेपालको पहिलो निर्वाचित अर्थमन्त्री सूवर्ण शमशेर राणाले २०१५ सालमा खानेपानीको अवस्था नाजुक रहेको बताउनु भएको थियो। उहाँले आफ्नो बजेट भाषणमा हरेक नेपालीको घरघरमा पिउने शुद्ध पानी पुर्याउने वाचा गर्नुभएको थियो। कांग्रेसको यही नारालाई बोकेर हिँडेको हुँ,’ उनी भन्छन्।

भाईजीको पुरै परिवार कांग्रेसी हो। नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई २०१७ सालमा पक्राउ गरि प्रजातन्त्रमाथि ‘कू’ भएपछि तत्कालिन राजा महेन्द्रको निर्णयविरूद्ध विराटनगरमा विरोध भएको थियो।



धरहरा, कोलकाताको ‘शहिद मिनार’ र भारतीय मानसिकता



यतिबेला भाईजीका ठूलो बुवा विश्वराज अर्याल नेपाली कांग्रेसको चारतारे झण्डा बोकेर अञ्चलाधीस कार्यालय पुगेका थिए। उनी यहीबाट पक्राउ परे।

यतिबेला भाईजीका बुवा नवराज अर्याल सुनसरीको कौवाखोज भन्सारमा कार्यरत थिए। उनले पनि राजा महेन्द्रको कदमको विरोध जनाउँदै जागिरबाट राजीनामा गरे। 

२०३६ सालमा जनमत संग्रह हुँदा उनी सानै थिए। तर, इरा बस्नेत (बद्रिनारायण बस्नेतको छोरी) ले विराटनगरमा बहुदलको पक्षमा निकालेको साना नानीहरूको जुलुसमा उनी पनि सहभागी भए। ‘मलाई झिनो सम्झना छ। मधुमारादेखि महेन्द्र चौकसम्म नेपाली कांग्रेसको सानो झण्डा बोकेर हिँडेको,’ उनी भन्छन्। 

२०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह गर्दा भाइजी ८ कक्षामा अध्ययनरत थिए। यतिबेला नेपाली कांग्रेस मोरङका पूर्वसभापति अमृत अर्यालले आफू पढ्दापढ्दै बहिस्कार गर्नुपर्छ भनेर लगेको अझै उनलाई याद छ। उनी २०५१ मा नेपाली कांग्रेसको क्रियाशील सदस्य भए।

उनी अहिले पनि आफूलाई वीपीको विचारधाराबाट प्रभावित भएको भन्न रूचाउँछन् र पार्टी समाजवादको व्याख्या गर्नुबाट चुकेको बताउँछन्।

‘हाम्रो चेतनाको स्तर नै बढेन। नेपाली कांग्रेसलाई अहिले पुनः वीपी जस्तो नेताको खाँचो छ। चीनमा गएर माओत्से तुङलाई सगरमाथा मेरो देशको अभिन्न अंग हो भन्नसक्ने क्षमताको नेता कांग्रेसमा भएन’, उनी भन्छन्।



सम्राटले के जान्दथे विसुँको महत्व 



उनी नेपाली कांग्रेसको भावी नेता शेखर कोइराला पार्टी अध्यक्ष बन्ने पनि दावी गर्छन। जिल्लामा हुने अनेक राजनीतिक तिकडमका बीच उनी आफ्नो अभियानमा अविचलित हिँडिरहेका छन्।

उनको अबको लक्ष्य छ– आफ्नो वडालाई आधुनिकस्तरको बनाउने। विराटनगरको पुरानो आर्दश र पोखरिया स्कुलको भीडलाई थेग्ने गरी महेन्द्र मावीलाई अंग्रेजी मिडियम र प्लस टुृको पढाई हुने स्कुलको रूपमा विकास गर्ने।

यस स्कुलमा पाँच महिनाअघि सिटीभिटीबाट मान्यताप्राप्त इलेक्ट्रिकल इन्जिनियरिङको ३ वर्षे कोर्ष पनि सुरु भइसकेको छ।यस्तै, वडामा आधुनिक स्वास्थ्य चौकीको निर्माण गर्ने तथा हाटखोलाको खाली मैदानलाई खेलकुद मैदानको रूपमा विकास गर्ने। यसका लागि मेयरबाट ५० लाख रुपैयाँ विनियोजन भइसकेको उनको भनाई थियो।

‘मेरो स्वभाव अलि विद्रोही छ। कुनै कुरा लुकाएर गर्न आउँदैन। त्यसैले सबैले मलाई विरोध मात्र गर्छ भन्छन्। म आफूलाई विरोधी होइन, विद्रोही भन्न रुचाउँछु,’ उनी भन्छन्। 

उनी व्यक्तिगतभन्दा पनि सिस्टमको कुरा गर्न रूचाउँछन्। त्यसैले कतिपय मुद्धामा उनी विरोधी जस्ता देखिन्छन्। तर, विकासको मुद्धामा उनी हातेमालो गरेर अगाडी बढ्ने युवाको रूपमा परिचित छन्। 

प्रकाशित मिति: : 2021-04-25 20:17:00

प्रतिकृया दिनुहोस्