नेपाल–अंग्रेज युद्व (सन् १८१४–१६) को हारपछि पूर्वमा टिस्टा र पश्चिममा कांकडासम्मको भू–भाग गुमाएको नेपालको पुरानो इतिहास थाहा नपाउने सायदै कोही होलाम्, हामी नेपालीहरू।
तर, त्यो युद्वमा नेपाललाई पराजित गर्ने र नेपालको भू–भाग पूर्वमा मेची र पश्चिममा महाकालीसम्म खुम्च्याउने बेलायती (युद्व हुँदा) कर्णेल डेभिड अक्टरलोनीको विषयमा धेरै कमलाई थाहा होला।
यो लेखमा उनै अक्टरलोनीको विषयमा चर्चा गर्न खोजिएको हो। त्यो पनि नेपालसँग जोडिएको एउटा रोचक प्रसंगलाई लिएर।
अक्टरलोनी ईस्ट इन्डिया कम्पनीमा जागिर खान ‘क्याडेट’ सिपाहीका रूपमा सन् १७७७ मा भारत प्रवेश गरेका थिए, आफ्नो सौतेनी बाबुको सिफारिसमा। उनको जन्म अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन शहरमा १२ फेब्रुअरी १७५८ मा भएको थियो।
‘मासाच्युसेट्स हिस्टोरिकल सोसाइटी’ का अनुसार अमेरिका बेलायतको उपनिवेश हुँदा अक्टरलोनीका हजुरबुवा स्कटल्याण्डबाट बोस्टन पुगेका हुन्। मावलीपट्टिका हजुरबुवाहरू भने वेल्सबाट अमेरिका पुगेका थिए। आमाको जन्म बोस्टनमै भएको थियो।
अक्टरलोनीका बुवा व्यापारको सिलसिलामा सन् १७६५ मा वेष्ट इन्डिज जाँदा दुर्भाग्यपूर्ण रूपमा सेन्ट भिन्सेन्टमा निधन भएको थियो। श्रीमानको अनुपस्थितिमा अमेरिकामा चरम अभाव व्यहोरेकी अक्टरलोनीकी बिधवा आमा तीन छोरा र एक छोरीलाई काखी च्यापेर बेलायत फर्किएकी थिइन। बेलायतमा उनले सर इसाक हेयार्ड नाम गरेका अर्का बेलायती सैनिकसँग बिबाह गरिन। उनीहरूबाट कुनै सन्तान भएन।
भारतमा व्यापार गर्ने बहानामा छिरेको इस्ट इन्डिया कम्पनीको बढ्दो प्रभावसँगै सेनामा भर्ती हुन १८ वर्षको उमेरमा भारतको कोलकाता प्रवेश गरेका थिए, अक्टरलोनी।
भारतमा उनी सर्वप्रथम सन् १७८२ को मैसुर युद्वमा सहभागी भए। त्यहाँ मैसुरका सेनाबाट पक्राउ परेपछि युद्वबन्दीको रूपमा दुई वर्ष जेल परे। १७८४ मा इस्ट इन्डिया कम्पनी र मैसुरका शाषकबीच शान्ति सन्धि भएपछि मात्र जेलबाट मुक्त भएका थिए।
निकै चलाक र कुरा मिलाउन खप्पिस मानिने अक्टरलोनीले भारतमा निकै छिटो बढुवा पाए। नेपालसँग युद्व हुनुअघि उनी सन् १८०३ को दोस्रो अंग्रेज–मराठा युद्वमा पनि सहभागी भइसकेका थिए।
कुसल योजनाकार तथा कुरा मिलाउन खप्पिस भएकै कारण सन् १८०५ मा उनलाई दिल्लीको रेसिडेन्स नियुक्त गरिएको थियो।
सन् १८१४ मा नेपालसँग पहिलो युद्व हुँदा अंग्रेजको ४ वटा कमाण्डमध्ये सतलज क्षेत्रको कमाण्ड गर्ने मौका पाएका थिए। नेपाल–अंग्रेज युद्वमा ईस्ट इन्डिया कम्पनीबाट खटिएको ४ कमाण्डमध्ये तीनमा अंग्रेज सेना पछाडि हट्नु पर्यो, नेपाली सेनाको बहादुरीका कारण। तर अक्टलोनीको कमाण्डमा रहेको ११ हजार अंग्रेज सेनासँग गोर्खाली सेनाको पराजय भयो।
पहिले ईस्ट इन्डिया कम्पनीको प्रस्ताव अस्विकार गरेको नेपालले १८१६ मा पुनः युद्व भएपछि भारतको सुगौलीमा सन्धि गर्नुपर्यो। यो युद्व अंग्रेजका लागि कति हदसम्म महत्वपूर्ण थियो भन्ने कुरा नेपाल–अंग्रेज युद्वमा सहभागी भएको १२ हजार गोर्खालीविरूद्ध ४६ हजार बेलायती सेना उत्रिनुले नै स्पष्ट पार्छ।
यसअघि सन् १७६७ को जुनमा कप्तान किनलिकको कमाण्डमा नेपालमा युद्व गर्न छिरेको २ हजार ४ सय अंग्रेज सेनालाई गोर्खाली सेनाले सिन्धुलीमै धुलो चटाइसकेका थिए। यसले भारतमा अंग्रेज सेनाको ‘इमेज’ मा ठूलो धक्का लागेको थियो।
सन् १७५७ को ‘पलासीको युद्व’ बाट भारतमा आफ्नो उपस्थिति जनाएको ईस्ट इन्डिया कम्पनीमा काम गर्ने कुनै पनि बेलायती सेनाले युद्व जितेबापत पाएको मेडल नै नेपाल–अंग्रेज युद्व थियो। सन् १८१४ मा नेपाललाई पहिलो पल्ट युद्वमा हराएबापत अक्टरलोनीलाई ‘नाइट कमाण्डर अफ दि बाथ’ बाट सम्मानित गरिएको थियो।
तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले अंग्रेजको प्रस्तावमाथि हस्ताक्षर गर्न करिब डेढ वर्ष आलटाल गर्दा मकवानपुर गढीमा पुनः आक्रमण भयो। यो युद्वमा फेरि नेपाली सेनाको पराजय भयो। र, पराजय पश्चात नेपाललाई अपमानपूर्वक सुगौली सन्धिमा हस्ताक्षर गराउन सफल अक्टरलोनीलाई बेलायती सरकारले पुनः ‘नाइट ग्राण्ड क्रस अफ दि अर्डर अफ दि बाथ’ बाट शुसोभित गर्यो।
नेपाली सेनालाई पराजित गरेलगत्तै सन् १८१५ को नोभेम्बरदेखि लागु हुने गरि अक्टरलोनीको बार्षिक भत्ता १ हजार पाउण्ड पुर्याइएको थियो। नेपालसँगको युद्वले भारतमा मात्र होइन, बेलायतमा पनि उनको छवी माथि उठेको विभिन्न घटना त्रमबाट स्पष्ट हुन्छ।
सन् १८१८ मा दिल्लीका मुगल सम्राट शाह आलमलाई मराठा प्रभावबाट बाहिर राख्न तथा तेस्रो मराठा युद्वमा यशवन्तराव होल्करको सेनाबाट दिल्लीलाई सुरक्षित राख्न सफल उनलाई दिल्लीको स्थायी रेजिडेन्ट मात्र नियुक्त गरिएन, मुगल सम्राटले ‘नासिर उद–दौला (राज्यको रक्षक)’ को पदवी नै दिए।
अंग्रेजसँग अपमानजनक सन्धि गरेपछि नेपाली प्रधानमन्त्री भीमसेन थापाले सन् १९३२ मा काठमाडौंमा ‘धरहरा’ निर्माण गर्न लगाए। जुन २०७२ सालको महाभूकम्पमा पूर्णरूपले क्षतिग्रस्त भयो। ‘भीमसेन स्तम्भ’ को उपनामले पनि चर्चित धरहरालाई अंग्रेजहरू त्यति बेला ‘भीमसेनको मुर्खता’ भनेर गिज्याउने गरेको ‘द स्टोरी अफ दार्जीलिङ’ का लेखक बसन्त बी लामा बताउँछन्।
उनले आफ्नो किताबमा एउटा रोचक प्रसंग उल्लेख गर्दै लेखेका छन्, ‘भीमसेन थापाले नेपालमा धरहराको निर्माण गरेपछि अक्टरलोनीलाई पनि नेपालसँगको जितको कीर्ति राख्ने इच्छा जाग्यो। र, उनले आफ्नै पैसा खर्च गरेर १ सय ६५ फिट अग्लो मिनार बनाउन लगाएका थिए। यो सन् १८४८ मा कोलकाता शहरको मुटुमा निर्माण गरिएको थियो।’
तर, केही भारतीय अखबारहरूले ‘अक्टरलोनी स्तम्भ’ सन् १८२५ बाट सुरु भएर १८२८ मा निर्माण सम्पन्न भएको बताएका छन्।
भारतको पुरात्तत्व विभागका अनुसार इजिप्टको कलालाई पछ्याइएको यो मिनारमा २ सय २३ वटा सिडी र २ बाल्कोनी रहेको छ। हाल यो मिनार कोलकाता मैदानमा पर्छ।
यसलाई पहिले ‘अक्टरलोनी स्मारक’ को रूपमा सबैले चिन्ने गर्थे। तर, भारत स्वतन्त्र भएर बंगालमा कम्युनिस्ट शाषन स्थापित भएपछि ९ अगस्ट १९६९ मा यो स्मारकको नाम परिवर्तन गरेर ‘शहिद स्मारक’ राखियो।
लेखक लामाले ठट्टा गर्दै भनेका छन्, ‘भारतको स्वतन्त्रतामा एकरति खुन नबगाएका, उल्टै भारतलाई रैति बनाउन कुनै कसर बाँकी नराखेका अक्टरलोनीको कीर्तिका लागि बनाएको स्मारकलाई ‘शहिद स्मारक’ मा परिवर्तित गर्दा भारतीय स्वतन्त्रता सैनानी कति लज्जीत भए होलान।’
दिल्लीमा नवावहरूको संगतका कारण अक्टरलोनी पछिल्लो समय आफूलाई पनि कुनै नवावभन्दा कम सोच्दैन्थे। उनको ठाटबाठ नै नवावी पाराको भइसकेको थियो। कानुनी र गैरकानुनी गरेर उनको ३० जना श्रीमति थिए। भारतका अन्य शाषक जस्तै उनी साँझ परेपछि हात्ति चढेर दिल्लीको लालकिल्ला घुम्न निस्किन्थे। उनको रिसल्ला चल्दा पछाडि ३० जना रानी र सुरक्षाकर्मीको लाइन हुन्थ्यो।
उनको पहिरन पनि नवावको जस्तो थियो। महलमा उनी हुक्का तान्थे।
उनले सन् १८५७ को ‘सिपाही बिद्रोह’ मा बेलायती सेनाविरूद्ध लडाई लडेकी मुबारक बेगमसँग बिवाह गरेका थिए। नेपालका श्री ३ प्रधानमन्त्री जंगबहादुर राणा बेलायती शाषकविरूद्ध भारतमा उठेको सबैभन्दा ठूलो बिद्रोह दबाउन बेलायतको पक्षमा लड्दा उनको श्रीमती बेलायतविरूद्ध लड्दै थिइन। जंगबहादुर आफ्नै कमाण्डमा गोर्खाली सेना बोकेर लखनउसम्म लड्न पुगेका थिए। बेलायती शाषकको जरा हल्लिसकेको यो बिद्रोहमा साथ दिएबापत बेलायतले सुगौली सन्धिमा नेपालबाट छिनेको भू–भागको सोधभर्नाको रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई दिएको थियो।