कोरोना नियन्त्रणमा बेहद् खेलाँची

सिङ्गै धर्ति आक्रान्त छ।

घातक जीवाणुयुक्त कोभिड-१९ नामक महामारी विश्वव्यापी रूपमा फैलिएको पनि लामो समय भइसक्यो। कोरोना भाइरसको सङ्क्रमणबाट हुने यो रोगबारे संसारमा अनभिज्ञ शायद् कोही छैन। यस व्याधिबाट संक्रमित करोडौँमध्ये विश्वभरि करिब ३१ लाख मानव जीवनले प्राण गुमाइसके।

नेपालका लगभग तीन लाख मानिसमा सल्किइसकेको उक्त जिवाणुले तीन हजार बढीको ज्यान लिएको सूची छ। संक्रमितको संख्या दिनानुदिन बढ्ने क्रममा छ। यसले के सङ्केत गरिरहेको छ भने आगामी दिनहरु निकै कठिन हुन सक्छन्। सङ्क्रामक रोगले आफ्नो कब्जा बढाउँदै गइरहेको छ। रोगको प्रकृति बदलिएर त्यसको सङ्क्रमण क्षमता अझ सघन बन्दै गएको छ। रोकथाम र उपचार जटिल हुँदै गएको स्थिति छ।



कोरोनाबाट बच्न गर्नुपर्ने कर्तव्यलाई वास्ता गरेनौँ भने आगामी दिनमा थप जोखिम हुन्छ: डा. शेरबहादुर पुन (भिडियो)



हाल नयाँ 'भेरियन्ट' सहित फैलिइरहेको भनिएको कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका निम्ति सरकारी प्रयास अपर्याप्त देखिन्छ। बाहिरी मुलुकबाट मानिस बेरोकटोक आइरहेका छन्। भारतबाट हवाई मार्गद्वारा मात्रै दिनैपिच्छे हजारौं भारतीय नागरिक नेपाल प्रवेश गरिरहेका छन्। महामारी नियन्त्रण बाहिर रहेको भारतजस्ता मुलुकबाट आउनेहरुलाई रोक्न कुनै कदम चालिएको छैन।

परिणामस्वरुप देशमा दैनिक सङ्क्रमितको सङ्ख्या दुई हजार पाँच सयबाट उकालो लाग्दैछ। तत्काल सावधानी र नियन्त्रणका उचित उपाय नअपनाएमा स्थिति भयावह हुने खतरा टड्कारो छ तर विवाह, मृत्यु संस्कारजस्ता विशेष अवस्थामा पनि २५ जनाभन्दा बढी भेला नहुन आदेश दिने सरकार स्वयम्‍ले सभा, उद्घाटनजस्ता कार्यक्रम आयोजना गर्दै भीडभाड जम्मा गर्दै  हिँड्नु लज्जास्पद छ। अज्ञानताले वा जेसुकै बहानाले जसरी गरे-गराईए पनि अहिलेको परिस्थितिमा यस्तो कार्य अशोभनीय हुन्छ। आपत्तिजनक हुन्छ।

दीर्घ रोगी, वृद्धवृद्धाहरुमा बढी सकृय रहेको कोरोना भाइरस संक्रमण अहिले वयस्क र बालबालिकामा पनि फैलिन थाल्नु सिंगो विश्वका लागि ठूलो चिन्ताको विषय बनेको छ। अझ हाम्रोजस्तो आर्थिक अवस्था बलियो नभएको मुलुकका लागि यो धेरै चुनौतीपूर्ण छ। व्यापक रूपमा फैलिएको खण्डमा उपचार र नियन्त्रण गर्न हामीजस्तो न्यून स्रोतसाधन भएकाहरुलाई पक्कै कठिन हुन्छ। तसर्थ हाम्रालागि होशियारीसाथ पूर्वसावधानीका उपाय अपनाउनु नै सबभन्दा उत्तम उपचार हो। तर, हाटबजार, विद्यालय, अस्पताल,  सार्वजनिक सवारीसाधन जस्ता ठाउँबाट सरुवा रोग फैलिन नदिन सुरक्षाका बाध्यकारी नियम लागू हुन सकेको छैन।



कोरोना–केन्द्र बने राजधानीका विद्यालय, विश्वनिकेतन र पद्मोदय स्कुलमा पनि कोरोनाका बिरामी (भिडियोसहित)



सरकारले आफ्ना नागरिकको औषधोपचारको व्यवस्था मिलाउन नसक्नु, रोकथामका विधिहरु सिकाउनु वा सुरक्षा नियम लागू एवम् नियमन गर्न तत्परता नदेखाउनु दु:खद् र निन्दनीय हो। खुला सिमाना वा खुकुलो नाका/विमानस्थल नीतिका कारण स्वदेश भित्रिरहेका मानिस र सामाग्री चुनौती बनिरहेको छ। महामारीको बेलामा स्वास्थ्य सुरक्षाका हिसाबले कुनै पनि जोखिमबाट जनतालाई सुरक्षित राख्नु राज्यको दायित्व हो।

कुनै पनि बेला महामारीले उग्र रूप लिन पुगेमा त्यसलाई सम्हाल्नेबारे कुनै ठोस तयारी छैन। आयात तथा ढुवानी अवरुद्ध हुने स्थिति आउँदा आवश्यक पर्ने खाद्यान्न र औषधिमुलोको जोहो भएको छैन। आपतकालीन अवस्थामा खाद्यान्न तथा औषधिजस्ता अत्यावश्यक वस्तुको उचित व्यवस्थापन, वितरणका निम्ति भौगोलिक र जनघनत्व दुवैको आधारमा प्रभावकारी संयन्त्र चाहिन्छ। 
कुनै पनि कारणले कुनै पनि दिन त्यस्तो परिस्थितिको सामना गर्नुपर्ने भएमा कुन स्थानमा कुन युनिटबाट कसरी आपूर्ति वा सेवा प्राप्त गर्न सकिन्छ भनेर हरेक नागरिक जानकार हुनु जरुरी हुन्छ। आफ्ना नागरिकमा खाद्यान्न संकट, स्वास्थ्योपचारमा कठिनाई नहोस् भन्नाका खातिर यस्तो संयन्त्र स्थायी वा अस्थायी दुवै हुन सक्छन्।

संभावित खाद्य अभावको स्थितिलाई व्यवस्थापन गर्न हरेक वडामा कम्तिमा एउटा भण्डार स्थापना गरी खाद्य पदार्थ सञ्चित गर्नुपर्छ। आम मानिस घरबाहिर निस्कन नहुने अवस्थामा उनिहरुको आवश्यताका चिजवस्तुहरु मगाउन जुनसुकैबेला सम्पर्क गर्न सक्ने हट डेस्क खडा गर्नुपर्दछ। त्यहाँ माग भएका सरसामान सर्वसुलभ मूल्यमा जनताको घरसम्म झट्टै पुर्या इदिने टोली तत्पर राख्नुपर्छ। वित्तीय संस्थाहरु खुल्न नसक्ने अवस्थाका लागि वैकल्पिक उपाय बनाइदिनुपर्छ।



काठमाडौँ कोरोनाको उच्च जोखिममा, नाकामा कोरोना परिक्षण हुँदैन (भिडियाे)



दैनिक मजदुरीबाट गुजारा गर्नेहरुका निम्ति आम्दानी ठप्प हुनगएमा उनीहरुका लागि राहतको व्यवस्था मिलाउनु जरूरी छ। यसअघिको बन्दाबन्दीको बखत बिरामीलाई अस्पताल लैजान र ल्याउन एम्बुलेन्सको अभाव भएको थियो। त्यतो समस्या सुल्झाउनका निम्ति उपयुक्त विकल्पहरु तयारी हालतमा राखिनु पर्छ। सडक सुबिधा नभएका वा दुर्गम ठाउँहरुमा सुहाउँदो व्यवस्था मिलाइनुपर्छ।

यी सबै चाँजोपाँजो मिलाएर आफ्नो संयन्त्र निर्माण गरेपछि त्यसबारे जनतालाई सुचित गर्नु र सुलभ सेवा प्रवाह गर्नु सरकारको काम हो।तर, हाम्रो सरकार र जनताको सेवाका निमित्त भनेर खोलिएका राजनीतिक दलहरु यति बेला निजी स्वार्थको राजनीति गर्नमै व्यस्त छन्। सत्ताधारी नै विभिन्न बहानामा आफैं भीड जम्मा गर्न उद्धत छ। यस्ता गैरजिम्मेवार व्यवहारले हद नाँघ्दै छ। यसले महामारीप्रति र जनस्वास्थ्य सुरक्षाप्रति सरकार गम्भीर नरहेको प्रष्ट्याउँछ।

कोरोना जस्तो महामारी हाँसोमजाकको विषय होइन, हुनुहुँदैन। अब पनि यसरी नै खेलाँची गरिरहने हो र बेलैमा आत्मतयारीमा नजुट्ने हो भने कुनै पनि बेला विपत्तिको कहालीलाग्दो खाडलमा नफसिएला भन्न सकिन्न।

तसर्थ हरेक सचेत नागरिकले राज्यलाई निन्द्राबाट ब्युँझाउन र सर्वसाधारणको सुस्वास्थ्यका निम्ति यथासक्य भूमिका खेल्न बियाँलो गर्न हुन्न।

प्रकाशित मिति: : 2021-04-25 14:42:00

प्रतिकृया दिनुहोस्