नेपालमा पनि कोरोनाको नयाँ प्रजाति भनिएको ‘भेरियन्ट’ को संक्रमण फेला परेको छ।
यो सँगै कोरोना महामारीको दोश्रो लहर सुरु भएको छ। शैक्षिक संस्था बन्द गर्ने/नगर्ने भन्ने बारेमा बहस सुरु भएको छ। कोरोना संक्रमण फैलिएका कारण केही विद्यालय बन्द भइसकेका छन्। कोरोना संक्रमित बिरामी दिनदिनै बढिरहेका छन्। यसले समाजमा संत्राश फैलिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउन नगर्ने मनःस्थितिमा रहेको बताएका छन्। तर पनि, पुनः लकडाउन गर्ने कि नगर्ने भन्ने विषयमा सरकार द्विविधाग्रस्त देखिएको छ। कोरोनाको जोखिम बढेसँगै जनसाधारणमा मानसिक समस्यासमेत देखिन थालेको छ। ‘डबल म्युटेशन’ संक्रमण देखिएपछि यो महामारी नियन्त्रणको लागि सरकार, चिकित्सा क्षेत्र र आम नागरिकले के–कस्तो भूमिका खेल्नुपर्छ त ? यस विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनसँग बिएल नेपाली सेवाका लागि कमलप्रभात बिकले गरेको कुराकानी :
नेपालमा फेरि कोरोना संक्रमितको संख्या बढेको छ, फेरि कोरोना संक्रमणको जोखिम बढेको हो ?
अहिले कोराना संक्रमितको संख्या जुन दरले बढ्दो क्रममा छ, त्यसले हामी कोरानाको अर्काे लहरको संघारमा पुगेको देखिन्छ। हामीले कोरोनाबाट बच्न गर्नुपर्ने कर्तव्यहरुलाई वास्ता गरेनौँ भने आगामी दिनमा थप जोखिम हुने देखिन्छ।
कोरोनाको नयाँ प्रजाति (भेरियन्ट लगायतका) ले सर्वसाधारणमा त्राश फैलिरहेको पाइन्छ, नयाँ प्रजातिको भाइरस कस्तो हो ? यो अझै जोखिमपूर्ण हो ? के हो वास्ताविकता ?
यी सबै प्राकृतिक कुरा हुन्। सामान्यतया भाइसरमा ‘म्युटेशन’हरु भइरहन्छ तर त्यसले मानव समुदायलाई असर पार्न थाल्यो भने खतरा हुन्छ। त्यसपछि हामी चाहिँँ विश्लेषण तथा अनुसन्धान गर्न सुरु गर्छाै। देखिरहेको कोरोना भाइरसभन्दा अलि कमजोर खालको रहेछ भने हामीले खोज गर्दैनौँ, त्यो आउने–जाने भइरहन्छ।
अहिले चाहिँ दक्षिण अफ्रिका, युके, ब्राजिल तथा भारतमा देखिएको ‘डबल म्युटेशन’ भएका कोरोना भइरस चासोको विषय बने।
‘डबल म्युटेशन’ बाहेक अरु तीन वटाको आ–आफ्नै विशेषता छन्, जस्तै: छिटो फैलिनसक्ने भयो। शरीरको ‘इम्युनिटी सिस्टम’ छल्नसक्ने भयो। प्रयोगमा आएको खोपलाई पनि चुनौती दिने भएको हुनाले यिनीहरु विशेष चर्चामा छन् चिन्ताको विषय पनि हो।
नयाँ भाइरसले मानिसलाई के गर्न सक्छ भन्ने खालको पूर्ण जानकारी छैन्। तर ‘म्युटेशन’ भएको र भारतमा तीव्र रुपमा बढ्दै जाँदा यसको पनि केही भूमिका त छ। शंका भएको हुनाले तीव्र गतिमा फैलन सक्ने, ‘इम्युनिटी सिस्टम’लाई छल्न सक्ने खालको कोरोना भाइरस होला भनेर अनुमान गर्न सकिन्छ। तर, पूर्ण अनुसन्धान भएर आउँन बाँकी छ। केही हप्तामा यसबारे पनि थाहा होला।
बालबालिकामा कोरोना संक्रमणको दर बढिरहेको छ। यसको कारण के हो ?
यो चाहिँ कोरोना भाइरसले आफूमा परिवर्तन ल्यायो। यसले सहज रुपमा बालबालिकामा संक्रमण गर्नसक्ने भएको देखिन्छ। योभन्दा अगाडि संयुक्त अधिराज्य (यूके) मा पनि बालबालिका कोरोना लागेर ठूलो मात्रामा अस्पताल भर्ना भए भन्ने सुनिएको थियो। अनुसन्धानबाट हेर्दा अघिल्लो नोभल कोरोना भाइरसको भन्दा ‘भेरियन्ट’ एकदमै घातक छैन तर संक्रमण बढाउँछ। त्यसैले अस्पतालमा संक्रमितको संख्या पनि बढ्ने भयो, परिवारमा फैलिने संभावना बढेर जान्छ।
दीर्घरोगी, ज्येष्ठ नागरिकहरुमा बढी समस्या हुन्छ। बालबालिकाको सम्बन्ध हजुरबा, हजुरआमासँग हुन्छ। त्यो सम्बन्धले झन् उहाँहरु थप जोखिममा भएको देखिन्छ। यद्यपि उहाँहरु बाहिर नगए पनि संक्रमित हुने संभावना हुन्छ। त्यो चाहिँ हामीहरुका लागि ठूलो जोखिम हो। नेपालमा पनि सबैलाई थाहा छ– ‘भेरियन्ट’ फैलिएको हो। मैले केही महिना अगाडि भनेको थिएँ, 'भेरियन्ट' तीन महिना अगाडि नेपालमा भित्रिए पनि के प्रभाव पर्दैछ भन्ने थाहा थिएन। अहिले त यो युके ‘भरियन्ट’ रहेछ भन्ने खुलेको छ। त्यो ‘र्यान्डम्ली’ बढिरहेको गरेको अवस्था हो। पुष्टि भएका भन्दा धेरै मानिस संक्रमित भएको अनुमान लगाउन सकिन्छ।
कोरोना संक्रमण बढिरहेको अवस्थामा शिक्षण संस्थाहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ?
जहाँ मानिसको भिडभाड हुन्छ, त्यहाँ कोरोना भाइरस फैलिने संभावना हुन्छ। त्यो मध्ये विद्यालय पनि हो। स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न सकिन्छ तर बालबालिकाहरु खेल्न रुचाउँछन्। त्यो समयमा संक्रमण बढ्नसक्ने देखिन्छ। संक्रमित विद्यार्थीले परिवारमा पनि कोरोना फैलाउन सक्छन्। परिवार नै संक्रमित हुन पुग्यो भने समुदायमा पनि फैलिने संभावना हुन्छ। त्यस्तै, कलेज पढ्नेहरुले सुने भने पनि डराउलान् तर कलेज सकिएपछि साथीहरुसँगै बसेर खाजा खाँदा तथा घर फर्किदा संक्रमण फैलिन सक्छ। यसरी विद्यालय जुन अहिले हिसाबले चलिरहेका छन्, त्यो पक्कै पनि जोखिमपूर्ण छ।
कोरोना महामारीलाई नियन्त्रण गर्न सरकारले कस्तो कदम चाल्नुपर्छ त?
सबै कुरा उही हो, नौलो कदम चाल्नुपर्ने त होइन। परीक्षण बढाउने, ‘कन्ट्र्याक ट्रेसिङ गर्ने’ संक्रमितलाई ‘आइसोलेशन’ व्यवस्थापन गर्ने, अस्पतालको अवस्था सुधार्नु पर्ने हुन्छ। नीतिगत रुपमा जाँदा जुन ‘भेरियन्ट’ पत्ता लगाउन नयाँ प्रविधिको व्यवस्था गर्नुपर्ने हुन्छ, त्यसले गर्दा भविष्यमा अन्य रोगसँग लड्न पनि सहयोग गर्छ।
विगतमा प्रयोग गरिएका कुराहरु अहिले लागू हुने हुन् तर इतिहासमा गरेका गल्ती दोहो¥याउने भने भएन्। जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्याे।
आमनागरिकले अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड अहिले कस्तो अवस्थामा छ ?
बल हाम्रो ‘कोर्ट’ मा छ। नियन्त्रण गर्नुपर्ने हाम्रो हातले हो। चौरासी व्यञ्जन अगाडि हुँदा पनि खाइएन भने त्यसको महत्व रहँदैन।विकसित देशका शिक्षित मानिसले पनि सरकारले भनेको नियम पालन गरेको पाइँदैन। हामीले आफ्नो कर्तव्य पालना गर्नुपर्ने कुुराले ठूलो महत्व राख्छ तर हामीले पालना गरेका छैनौँ।
अहिलेदेखि नै जनस्वाथ्यका मापदण्ड पालना गरेको खण्डमा भविष्यमा लकडाउन गर्नुपर्ने अवस्था नआउन सक्छ तर बेवास्ता गर्दै गर्याैँ भने चाहिँ थप विविध समस्याहरु आउन सक्छन्। त्यस कारण अहिलेदेखि नै नागरिकले विशेष ध्यान दिन जरुरी छ। यसले एकैचोटी भार पर्दैन, भार पारेको अवस्थमा सबै कुरामा समस्या उत्पन्न हुन्छ। त्यसपछि जनशक्तिको अभाव हुने अवस्था आयो भने बचाउनसक्नेलाई पनि बचाउन नसकिने हुनसक्छ, सेवा नपाएर।
कोरोना भाइरसले सर्वसाधारणमा मानसिक समस्या पनि देखिन थालेको छ। यसलाई कसरी व्यवस्थापन गर्ने ?
कोरोनाको कारण धेरैमा मानसिक समस्या देखिएका छन्। लकडाउनको अवधिमा आत्महत्याका घटना पनि धेरै भए तर यसलाई हामीले कतै सम्बोधन गर्न बिर्सिएको हो कि भन्ने लागेको छ। यो झन ठूलो समस्या हो। त्यसकारण मानसिक समस्या हटाउने खालका योजना पनि अगाडि सार्न जरुरी छ। तर धेरै त्रसित हुन भन्नु हुँदैन, जनस्वास्थ्यका मापदण्ड अपनायाै भने, त्यो अवस्थासम्म पुगिदैन्। सबैले सुरक्षाका विधि अपनाउन सकेको अवस्थामा हामी तनावको अवस्थामा पुगिने छैन्।